महंगीको मारमा नागरिकः चामलदेखि चिनीसम्मको मूल्य वृद्धि



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जस्थित एक किराना पसलमा वैशाख ३१ गतेको मूल्यसूचीमा मसिनो चामलको ९० रुपैयाँ प्रतिकेजी मूल्य रहेको थियो । सोही किराना पसलको साउन १८ गतेको मूल्यसूचीमा मसिनो चामलको मूल्य एक सय १० रुपैयाँ प्रतिकेजी पुगिसकेको उल्लेख छ । यसरी नेपालगन्जको बजारमा करिब साढे २ महिनामा चामलको मूल्यमा प्रतिकेजी कम्तीमा २० रुपैयाँ वृद्धि भएको छ । गत वर्षसम्म ८० रुपैयाँ प्रतिकेजी आसपासमा बिक्री भइरहेको मसिना चामलको मूल्य एक वर्षमा ३० रुपैयाँले वृद्धि भएको छ ।

अझ बजारमा पसलपिच्छे फरक मूल्य लिइरहेका उपभोक्ताहरुले बताइरहेका छन् । दैलेख घर भई छोराछोरीलाई पढाउनका लागि नेपालगन्ज वडा नम्बर ४ मा बस्दै आएकी कृष्णा आचार्यले अघिल्लो महिनामा दुई हजार रुपैयाँमा किनेको २५ केजीको बोरा चामलाई एक महिनापछि किन्न जाँदा दुई हजार चार सय रुपैयाँ परेको बताइन् । श्रीमान्ले गर्ने मजदुरीबाट गुजारा गर्दै आएकी उनले एकै महिनामा ह्वात्तै मूल्य बढेपछि आफूजस्ता विपन्न वर्गलाई मार परेको बताइन् ।

चामलको मूल्य मात्रै नभई पछिल्ला करिब तीन महिनामा चिनीको मूल्य पनि बढेको छ । वैशाखमा ९५ रुपैयाँ प्रतिकेजी रहेको चिनी अहिले एक सय १० रुपैयाँ पुगिसकेको छ । यसैगरी, सूर्यमुखी तेलको मूल्य पनि पछिल्ला केही महिनामा कम्तीमा १० रुपैयाँले वृद्धि भएको छ । यसैगरी केही दालको मूल्यमा पनि गत वर्षको तुलनामा भारी वृद्धि भएको छ । गत वर्ष असोजमा एक सय ६० रुपैयाँ प्रतिकेजी रहेको मास दालको मूल्य अहिले दुई सय २० रुपैयाँ पुगेको छ । गत वर्षसम्म एक सय ८० रुपैयाँ आसपास रहको मुङ दाल अहिले दुई सय ४० रुपैयाँ मूल्य रहेको छ ।

यसरी प्रमुख खाद्यान्न चामल र भान्सामा अत्यावश्यक चिनी तथा तेलको मूल्य बढेपछि उपभोक्ताहरुले महंगीको महसुस गर्ने क्रम बढेको छ । कृष्णाले भनिन्, ‘अलि अलि त मूल्य बढ्नु स्वभाविकै होला । तर, चामलजस्तो चिजमा एक्कासि मूल्य बढेपछि धेरै महंगी भएको जस्तो लाग्दो रहेछ । फेरि तेल, दाल पनि महंगो भएको छ । मूल्य बढेको बढ्यै छ, कमाइको भने ठेगान छैन ।’ नागरिकहरुले महंगी बढेको महसुस गर्नुमा खाद्यान्नको मूल्य बढ्नु मात्रै कारण छैन ।

उपभोक्ताहरुले सँगै इन्धनको मूल्यवृद्धि र अभाव पनि झेलिरहेका छन् । यसले उनीहरुमा बजारप्रति नकारात्मक धारणा बन्दै गएको देखिन्छ । आयल निगमले इरान अमेरिका युद्धपछि सबै उपभोक्तालाई पु¥याउन नसकिने भनेर आधा सिलिण्डर ग्यास मात्रै दिने निर्णय ग¥यो । दुई हप्तायता पुनः भरी सिलिण्डर ग्यास वितरण थालिएपछि बजारमा ग्यासको अभाव सिर्जना भएको छ । उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा लागेका दृश्यहरु देशैभरीबाट देखिन थालेका छन् ।

पैसा हुने उपभोक्ताहरुले ग्यास अभाव हुने डरले कोराना महामारीयता अतिरिक्त सिलिण्डर राखेर ग्यास जम्मा गर्न थालेका र अहिले भरी सिलिण्डर ग्यास पाइएको बेला भएका सबै सिलिण्डर साट्न थालेपछि अत्यावश्यक परेका उपभोक्ताले ग्यास पाउन नसकेका बिक्रेताहरु बताउँछन् । तर, यसमा आयल निगमले स्पष्ट मापदण्ड बनाउन नसक्नु नै पटक पटक ग्यास अभाव हुनुको कारण रहेको एक ग्यास बिक्रेताले बताए ।

‘बजारमा सिलिण्डर कति गएका छन् र कोसँग छन् भन्ने कुरा आयल निगमलाई थाहा छैन । अहिलेसम्म उपभोक्ता पहिचानको कुनै निश्चित व्यवस्था छैन । यस्तो वितरण प्रणालीमा सेवा रुपले दिन सक्ने अवस्था नै छैन,’ ती बिक्रेताले भने । यसैगरी अहिले पनि पेट्रोलियम पदार्थको मूल्य बढिरहेकै छ । इरान अमेरिका युद्धले मूल्य बढेर डिलेर दुई सय २५ र पेट्रोल दुई सय १७ रुपैयाँ प्रतिटिरसम्म पुगेको थियो । मध्यअसारमा घटाइएको मूल्य पुनः बढाइएको छ । आइतबार रातिदेखि देशभर लागू मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ ।

यसरी चौतर्फी मूल्य बढिरहेका बेला उपभोक्ताहरु मूल्यवृद्धिको महसुस गर्ने क्रम बढेको छ । त्यसैमाथि बिजुलीमा लगाइएको करले पनि नागरिकहरु वर्तमान सरकारसँग बिच्किएका देखिएको छ । सरकारले चालू आर्थिक वर्षबाट मात्रै ५० युनिटभन्दा बढीको बिजुली खपतमा भ्याट लिने भने पनि असारको बिजुली खपतमा भ्याट लिइरहेको छ । यसबारेमा सामाजिक सञ्जालमा अहिले चर्काे आलोचना भइरहेको छ ।

टीकापुर निवासी एक कृषक मानबहादुर केसीले त आफ्नो असार महिनाको २४ युनिटको खपतमा पनि भ्याट लिएको भन्दै आक्रोश पोखेका छन् । उनले मूल्य तिर्नुपरेको पिरभन्दा बढी नियमभन्दा बाहिर गएर असुली भइरहेको विषयले चित्त दुःखेको बताएका छन् । केसीकोजस्तै गुनासो गर्ने विद्युत् उपभोक्ताहरुको संख्या बढिरहेको छ । राजस्व विभागले असारको खपतमा भ्याट नलाग्ने भनेपछि विद्युत् प्राधिकरणले असुल गरिरहेको उपभोक्ताहरुको भनाइ छ । यसरी विभिन्न वस्तुमा बढेको मूल्य र थपिएको करको भारले नागरिकहरुमा वर्तमान सरकारप्रति असन्तुष्टि बढ्दै गएको देखिएको छ ।  यस विषयमा संसद्मा पनि सांसदहरुको आवाज उठाएका छन् । राष्ट्रियसभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाका सांसदले गराए महंगीबारे ध्यानाकर्षण 

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले बजारमा महँगी बढेको र अभाव पनि सिर्जना भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न पनि सरकारसँग माग गरेका छन् । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताए ।

उनले भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटे पनि नेपालमा नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको उनले आरोप पनि लगाए । अहिले विभिन्न जिल्लामा एलपी ग्यास अभावका कारण स्थानीय नागरिक र होटल व्यवसायी समस्यामा परेको भन्दै प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरे । ‘जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धिले आकाश छोएको छ भने अर्कोतिर चर्को मूल्यका बाबजुद सामानहरु बजारमा सहज रुपमा नागरिकले प्राप्त गर्न सकिरहेका छैनन् । छिमेकी देश भारतमा एलपी ग्यास सिलिन्डरको मूल्य पटक पटक घट्दासमेत नेपालमा भने एलपी ग्यासमा घाटा भएको भन्दै नेपाल आयल निगमले ग्यासको मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन्,’ रोकायाले भने ।

उनले पर्याप्त रुपमा ग्यास सिलिण्डर प्राप्त नहुँदा नागरिकहरुले सास्ती व्यहोरिरहेका उल्लेख गर्दै ग्यासको अभाव हुँदा नागरिक र होटल व्यवसायीहरु पीडित भएका बताए । राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूललगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सिर्जना भएको बताइन् । ग्यासको मूल्य यथावत रहेको भनिए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले नागरिकका अत्यावश्यक आवश्यकताप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

‘हाम्रा चाडपर्वहरुको आगमन सँगसँगै नेपाली नागरिकहरुको भान्सा र चुल्होमा महंगीको चापले ठूलो असर पार्न थालेको छ । साँझबिहानको छाक पनि धौ धौ हुँदैछ, गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि भएको छ, जसका कारण सबै प्रकारका खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी, फलफूलहरुको मूल्य पनि वृद्धि भएको छ,’ सापकोटाले भनिन् । ग्यासको मूल्य यथावत भनिए तापनि नागरिकले सहज रुपमा नपाइरहेको र सरकारले नागरिकका अत्यावश्यक दैनिकीप्रति चासो नदेखाएको भन्दै चाडबाडको उनले मुखमा विकल्प खोजेर भए पनि नागरिकको नैसर्गिक अधिकारप्रति सरकारको गम्भीर ध्यान केन्द्रित हुनुपर्नेमा ध्यानाकर्षण गराइन् ।

अर्का राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले पनि बजारमा एलपी ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताए । उनले खाद्यवस्तुमा विषादी र अखाद्य पदार्थको मिसावटका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन गुणस्तर विभागको क्षमता र जनशक्ति विस्तार गर्न सरकारसँग माग गरे । ‘तरकारी, फलफूल, दुग्धजन्य लगायतका खाद्य पदार्थहरुमा वस्तुमा विषादीजन्य र अखाद्य वस्तु मिसावटबाट नसर्ने रोगको वृद्धि भई दिनानुदिन जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । बढ्दो महंगी नियन्त्रण, बजार भाउ घटाउन र गुणस्तर विभागको क्षमता र जनशक्ति बढाएर बजार अनुगमनलाई अनिवार्य र प्रभावकारी बनाउन म सरकारसँग माग गर्दछु,’ अधिकारीले भने ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार