सुनसरीमा हालै भएको घटनाबारे सरकार र सत्ताधारी दल रास्वपाले सक्रियता बढाएका छन् । तीनदेखि जारी प्रदर्शन र असहज परिस्थिति नियन्त्रणमा लिएर शान्ति कायम गर्न सरकार र रास्वाले सक्रियता बढाएका हुन् । बुधबार विहान रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए भने साँझ सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले विस्तृत विफ्रिङ लिदैँ शान्ति–सुरक्षा कायम राख्न निर्देशन दिए ।
काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरीलगायतका जिल्लामा विकसित घटनालाई लिएर शान्ति र सद्भावको लागि सामूहिक अपिल जारी गरेका छन् । बैठकमा सहभागी राजनीतिक दलहरुले ७ बुँदे अपिल निकालेका हुन् । ९ दलका शीर्ष नेताले हस्ताक्षर गरेकको संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गरिएको छ ।
पछिल्लो समय उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ । दलहरुले भनेका छन्, ‘सदियौँदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरुमा हार्दिक अपिल गर्दछौँ’ आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति सबै सचेत हुनु जरुरी रहेको देशवासीको नाममा अपिल गरिएको हो ।
पछिल्ला घटनाक्रमहरुमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना र श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरु आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पु¥याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिइएको छ । स्थानीयस्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन पनि आग्रह गरिएको छ ।
संवेदनशील समयमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ साथै सञ्चारमाध्यमहरूलाई संयमित र तथ्यपरक सूचना सम्प्रेषणका लागि आग्रह गरिएको छ । नागरिकको जीउधनको रक्षा गर्नु राज्यको दायित्व भएकोले संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।
सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।
गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन् ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पु¥याउन खोज्ने तत्वहरुमाथि कडा निगरानी राख्न निर्देशन दिए । प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्