सुर्खेतमा अनधिकृत बिक्रेताद्वारा ग्यासको कृत्रिम अभावः आयल निगम



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हिजोआज खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताले अभूतपूर्व सास्ती खेपिरहेका छन् । मध्यरातिदेखि नै खाली सिलिन्डर बोकेर लाइनमा बस्नुपर्ने अवस्था बनेको हो । कतिपयले दुई–तीन दिनसम्म पालो कुर्दा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन् । तर यस्तो अवस्थाबीच नेपाल आयल निगमले भने सुर्खेतमा ग्यासको वास्तविक अभाव नभई अनधिकृत बिक्रेता र भण्डारणकर्ताले कृत्रिम अभाव सिर्जना गरेको दाबी गरेको छ ।

उपभोक्ताले भोगिरहेको कठिनाइ र निगमको दाबीबीचको विरोधाभासले ग्यास वितरण प्रणाली, बजार अनुगमन र नियमन संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको हो । वीरेन्द्रनगरका विभिन्न ग्यास डिलरमा राति २ बजेदेखि नै उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । पालो सुरक्षित गर्न रातभर सिलिन्डर राख्नसमेत अतिरिक्त रकम तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । दैनिक उपभोगको अत्यावश्यक वस्तुका लागि नागरिकले यस्तो कष्ट भोग्नुपर्नु राज्यको आपूर्ति व्यवस्थापनमाथि आलोचना भइरहेको छ ।

वीरेन्द्रनगर–९ की भविका चौधरी चार दिनसम्म लाइन बसेपछि बल्ल ग्यास पाउन सफल भएको बताउँछिन् । ग्यास अभावका कारण केही दिन चाउचाउ, बिस्कुट र चिउरामा गुजारा चलाउनुपरेको अनुभव सुनाउँदै उनले ग्यास पाउँदा ठूलो युद्ध जितेजस्तै महसुस भएको सुुनाइन् । उनी मात्र होइनन्, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक र सामाजिक पहुँच कमजोर भएका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । वैकल्पिक इन्धन प्रयोग गर्ने सुविधा नहुँदा सहरी क्षेत्रका अधिकांश परिवार प्रत्यक्ष मारमा परेका छन् ।

स्थानीय तीर्थबहादुर थापाका अनुसार बिहान ५ बजेदेखि लाइन बसे पनि साँझसम्म ग्यास पाउने निश्चितता छैन । खाली सिलिन्डर सुरक्षित राख्न प्रतिव्यक्ति २० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । दिनभर लाइन बस्दा पनि ग्यास पाइन्छ भन्ने ग्यारेन्टी नभएको उपभोक्ताको गुुनासो छ । तर नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरे भने बजारमा देखिएको दृश्यलाई वास्तविक अभाव मान्न तयार छैनन् । उनका अनुसार साउन १ देखि १० गतेसम्म मात्र वीरेन्द्रनगर क्षेत्रमा १७ हजार एलपी ग्यास सिलिन्डर वितरण गरिएको छ, जबकि सामान्य अवस्थामा एक महिनामा करिब २६ हजार सिलिन्डर खपत हुने गरेको थियो ।

घिमिरेका अनुसार १० दिनमै अस्वाभाविक रूपमा ठूलो परिमाणमा ग्यास वितरण हुनु बजारमा मागभन्दा बढी संकलन र भण्डारण भएको संकेत हो । उनले केही अनधिकृत बिक्रेता तथा व्यक्तिले विभिन्न स्रोतबाट ग्यास संकलन गरेर कृत्रिम अभाव सिर्जना गरेको आशंका व्यक्त गरे । उनले भने, ‘बजारमा ग्यास अभाव छैन, अभाव गराइएको हो । यस विषयमा सञ्चारमाध्यम, स्थानीय प्रशासन र सम्बन्धित निकायले संयुक्त रूपमा अनुसन्धान गर्न आवश्यक छ ।’

एकातिर निगमको दाबी र अर्कोतिर ग्यासका लागि उपभोक्ता लाइन बस्नुुपर्ने बाध्यताबीच तालमेल खाएको छैन । वितरण प्रणाली कहाँ कमजोर भयो ? अनधिकृत कारोबार भइरहेको भए नियामक निकायले समयमै नियन्त्रण किन गर्न सकेनन् ? भन्दै उपभोक्ता आक्रोशित बनेका छन् । कालीकोटबाट सुर्खेत बसाइँ सरेका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास खोज्दा पनि खाली हात फर्कनुपरेको बाध्यता सुुनाए । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी तथा अन्य संवेदनशील समूहलाई प्राथमिकतामा राखेर वितरण गर्ने व्यवस्था प्रभावकारी नभएको उनको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले प्रहरीको निगरानीमा ग्यास वितरण भइरहेको जानकारी दिँदै वास्तविक अवस्था अध्ययन भइरहेको बताए । कृत्रिम अभाव भएको हो वा आपूर्ति व्यवस्थापनमै समस्या छ भन्ने विषयमा प्रशासनले छानबिन गरिरहेको उनले जानकारी दिए ।
सुर्खेतमा देखिएको ग्यास संकटले आपूर्ति व्यवस्थापनमा मात्रै प्रश्न उठेको छैन, बजारमा कालोबजारी, अनधिकृत भण्डारण र नियमनको प्रभावकारितामाथि पनि गम्भीर बहस सुरु गराएको हो । छानबिनले यदि कृत्रिम अभाव पुष्टि गर्छ भने दोषीमाथि कडा कारबाही र वितरण प्रणालीलाई पारदर्शी तथा व्यवस्थित बनाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने सुुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का बताउँछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार