ओली–प्रचण्ड फेरि स्वर्ग–नर्क सँगै जान खोज्दै



भीम रावत

प्रदेश सरकारमा नेपाली काँग्रेस र एमालेको सत्ता गठबन्धन सङ्कटमा परेपछि ओली र प्रचण्ड नजिकिएका छन् । वाम गठबन्धन भत्किएको २४ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड फेरि नजिकिएका छन् । यसअघि यी दुई नेताबीच पटक–पटक सहकार्य भए पनि सफल हुन सकेको छैन । कुनै समय सत्ता सहकार्यमा रहेका बेला ओलीले प्रचण्डलाई अब त हामी सत्तामा मात्र सँगै हुने होइन, ‘स्वर्ग गए पनि सँगै नर्क गए पनि सँगै जाने हो’ भन्ने गरेका थिए । तर ओलीले प्रचण्डलाई यस्तो भनेको २४ घण्टा नबित्दै ओली प्रचण्डसँगको सत्ता सहकार्य तोडेर काँगे्रसका तत्कालीन सभापति देउवासँगै सत्ता सहकार्यको लागि हस्ताक्षर गरेका थिए । यसअघि पनि यी दुई नेताबीच पटक–पटक सहकार्य भए पनि सफल हुन सकेको थिएन । यहाँसम्म कि, दुवै नेताको पहलमा एमाले र माओवादीबीच एकता गरी नेकपा गठन गरे पनि त्यो एकता लामो समय टिक्न सकेन । ०७९ को संसदीय निर्वाचनपछि पनि एमाले र माओवादीबीच दुई पटक सत्ता सहकार्य भयो, यद्यपि त्यो पनि लामो समय टिक्न सकेन । फेरि वाम गठबन्धन बनाउनेदेखि सत्ता सहकार्य गर्ने विषयमा ओली र प्रचण्डबीच गत हप्ता पटक पटक छलफल भएर प्रदेश सरकारमा नेकपा र एमालेले सत्ता गठबन्धन गर्ने सहमति गरेका छन् । अघिल्लो हप्ता पार्टीको कार्यक्रममा जनकपुर जान लागेका प्रचण्डले ओलीसँग भेटेर प्रदेशमा सर्वदलीय सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए । पछिल्लो समयमा केन्द्रीय सत्ता कम्तीमा पनि ५ वर्षसम्मका लागि गुमाएका यी नेताहरु केही समयका लागि भए पनि प्रदेश सरकारमा मिलीजुली सत्ता भोग गर्न लालचा देखाइरहेका छन् । गत हप्ता दक्षिण एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन श्रीलंका पुगेका प्रचण्ड स्वदेश फर्किएसँगै सर्वदलीय गठबन्धन बनाउन पहल गर्न लागेका र ओलीसँग त्यो प्रस्ताव राखेका थिए । ओलीले काँगे्रसका सभापति गगन थापाले नै एमालेसँगको सहकार्य तोडेकाले काँगे्रसबाहेकको सरकार बनाउने, त्यसमा पनि नेकपा र एमालेको सहकार्यमा सरकार बनाउने कुरामा बढी ध्यान दिँदै आएका थिए ।

ओलीसँग भेटवार्ता गरेपछि प्रचण्डले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउँदै आएका थिए । पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिबीच सहकार्यको वातावरण बनेको प्रचण्डले बताउनुले उनी पनि सत्ताको लागि ओलीसँग सहकार्य गर्न तयार भएका हुन् कि भन्ने आशंका धेरैले गरेकै थिए । नेपालमा विगतदेखि नै कम्युनिष्टहरुको एकता र सहकार्य मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिष्ट शक्तिहरू बनाउनेभन्दा पनि आ–आप्नो शक्ति सञ्चय गरेर अरुलाई कसरी घात गर्न सकिन्छ भन्ने मनोगत चिन्तनबाट निर्देशित हुँदै आएको देखिन्छ । नेपालमा वामपन्थीहरुको सहकार्य वर्गीय नभई अवर्गीय र सत्ता स्वार्थमा केन्द्रित भएका धेरै उदाहरण छन् । यो अहिलेको पनि त्यस्तै नै हो । यति बेला एमालेलाई प्रदेशमा नेपाली काँग्रेस र एमालेको सत्ता गठबन्धन सङ्कटमा परेको समय भएकाले प्रचण्डलाई सम्झिनु बाध्यता हो भने २४ महिनादेखि संघ र प्रदेश सत्ताबाट बिमुख हुन पुगेको नेकपाका लागि थोरै भए पनि सत्ताको मुख मिठ्याइँ पाउने लोभ जागेकोले यिनीहरुबीच सहकार्यको कुरा उठेको हो ।ओली र प्रचण्डबीचको सम्बन्ध विगतमा पनि त्यति राम्रो भएको पाइएको छैन । प्रचण्ड र ओलीको सम्बन्ध विगतमा सत्ताको लागि ‘पे्रममा’ तथा पद र प्रतिष्ठाका लागि ‘घृणामा’ रुपान्तरण हुँदै आएको देखिएको छ । उनीहरुबीचको यस्तै सम्बन्धकै कारण नेपालमा वामपन्थी आन्दोलन उत्कर्षमा पुगेर पनि फेरि विचलनतर्फ अगाडि बढेको अवस्थामा पुगेको मुख्यतयाः यी दुई नेताकै कारणले हो । त्यसैले प्रचण्ड र ओली मिलेर फेरि बलियो कम्युनिस्ट पार्टी निर्माण हुनेमा कुरामा कसैको पनि विश्वास छ जस्तो लाग्दैन । २०६२–६३ सालको जनआन्दोलनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र स्थापना भएको १८ वर्षमा प्रभावशाली वामपन्थी दल रहेका एमाले र नेकपा (साविक माओवादी केन्द्र)ले आलोपालो सरकार बनाए । सशस्त्र जनयुद्धको विरासतबाट उदाएको माओवादी २०६४ सालको संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको थियो । झापा आन्दोलनको रापतापबाट राष्ट्रिय राजनीतिमा स्थापित भएको एमाले २०५१ सालमै अल्पमत कै भए पनि ९ महिना आफ्नो एकल सरकार चलायो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा स्थानीय सत्तामा वर्चस्व कायम गरेको थियो भने २०७४ देखि २०७९ सालको निर्वाचनसम्म शक्तिशाली पार्टी बन्यो । २०७४ सालको निर्वाचनमा यी दुई वामपन्थी गठबन्धनले मधेश प्रदेशबाहेक ६ प्रदेशमा दुईतिहाइ बहुमत र संघमा समेत झण्डै दुईतिहाइ अर्थात् १७४ सिट जितेर सत्ता कब्जा गरेकै हुन ।

२०७५ साल जेठ ४ गते एमाले र साविक माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । तर ओली–प्रचण्डबीच सत्ता र शक्ति संघर्षका कारण पार्टी एकता नै विघटनको अवस्थामा पुग्यो र बिघटन पनि भयो । ओली–प्रचण्ड सत्ता भत्कियो । स्वयम एमाले पार्टीसमेत विभाजन भयो । माधव नेपालहरु एमालेबाट अलग भए । पछिल्लो पटक काँगे्रससँगको गठबन्धन गरेर सरकारको नेतृत्व लिएका ओली सत्ताको खेलमा केन्द्रित हुँदा समाजमा बढ्दै गएको असन्तुष्टिको भुमरी गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलनमा विष्फोट भयो । प्रचण्ड र ओली मिलेर २०७४ सालको निर्वाचनपश्चात् बनेको सत्ता राम्रोसँग चलाउन सकेका भए न नेकपा विघटन हुन्थ्यो, न त २०८२ भदौ २३ र २४ गते नै आउन पाउँथ्यो । २०८१ साल असार ३१ गते आफैँ सहभागी भएको प्रचण्ड नेतृत्वको गठबन्धन सरकार भत्काएर ओलीले विपक्षी काँग्रेससँग सहकार्य गरी सरकार बनाए । दुईतिहाइ सरकारको नेतृत्व गरेका ओलीको कार्यशैली, विपक्षी दलहरूविरुद्ध चरम दमन गर्ने प्रवृत्ति, राजनीतिक प्रतिशोध, कुशासन र बेथितिलाई मलजल गर्ने खालको गतिविधिका कारण जेनजी विद्रोह गर्दै युवाहरु सडकमा ओर्लिएका थिए । मुख्यतयाः ओलीको कुशासन कै कारण उनको सत्ता मात्र ढलेन कि नेपालमा वाम आन्दोलन नै संकटमा पुग्यो । अब पनि ओली–प्रचण्डको नेतृत्वमा पार लाग्छ भन्ने सोच्नु अझै उधोगतितिरको यात्रा मात्रै हो । जेनजी विद्रोहपश्चात् एमालेले नेतृत्व गरेको संसद् र ओलीले नेतृत्व गरेको काँगे्रस–एमाले दुइतिहाइको सत्ता गठबन्धन विघटन भयो । त्यसपछि फागुन २१ मा सम्पन्न भएको संघीय निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व नतिजा प्राप्त गर्दा वामपन्थी दलहरू जम्मा ४२ सिटमा खुम्चिए । समग्रमा वामपन्थीले जम्मा २१.५० प्रतिशत मत प्राप्त गरे । वामपन्थीले पाएको यो मत २०४८ सालयताकै सबैभन्दा कम र लज्जास्पद मत हो । दुईतिहाइ नजिक मतसहित रास्वपाले शक्तिशाली सरकार बनाउँदा देशको हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका वामपन्थी शक्तिहरू अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । वामपन्थी शक्तिमात्र होइन, २००७ साल, २०४६ साल, २०६२–६३ सालको आन्दोलनको नेतृत्व गरेको काँग्रेस पनि इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।

जेनजी आन्दोलनपछि एमाले र नेकपा दुवै पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, पार्टी रुपान्तरणको आवाज जोडतोडले उठेका बेला ओली र प्रचण्ड दुवैले आ–आप्नो पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता नै देखेनन् । उनीहरुकै नेतृत्वमा निर्वाचनमा जाँदा वामपन्थी जनमत इतिहासमै सबैभन्दा लज्जास्पद रुपमा प्रकट भयो । अहिले फेरि ओली–प्रचण्डकै नेतृत्वमा वामपन्थी आन्दोलन अगाडि बढ्न सक्छ भनेर सोच्नु नै इतिहासबाट पाठ नसिक्नु र समयअनुसार रुपान्तरणको गतिलाई बुझ्न नसक्नु हो ।
अब ओली, प्रचण्ड र माधव नेपालले जस्ता पुराना नेताहरुको नेतृत्वमा नेपालको वामपन्थी आन्दोलन पुनर्गठन हुने र अगाडि बढ्न सक्ने कुनै सम्भावना देखिँदैन । निर्वाचनमा लज्जास्पद पराजय व्यहोर्दा पनि नेताहरू पदमै झुन्डिरहनु भनेको उनीहरुमा सामन्ती मानसिकता र जडगत मनोभावना कायमै रहेको देखिन्छ । नैतिकता भनेको कुनै पनि नेताले आफैँ देखाउनु पर्ने विषय हो । तर यहाँ त कार्यकर्ताहरूले अब त अति भो नैतिकता देखाऊ भन्दा पनि पदबाट हट्न तयार नहुने नेताहरुले आजको परिवर्तको नेतृत्व गर्न सक्छन् भन्नु नै मुर्खता हो । आ–आप्नो पार्टीभित्र आफूलाई अप्ठ्यारो परेको बेला ओली र प्रचण्डले प्रयोग गरेको ‘वामपन्थीबीच सहकार्य’को अस्त्र अब प्रभावकारी हुने र सबैलाई आकर्षण गर्न सक्ने अस्त्र हुनेवाला छैन । २०७९ सालमा तीन तहकै निर्वाचनमा काँग्रेससँग चुनावी तालमेल गरेका प्रचण्डले निर्वाचनपछि पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष प्रस्ताव गरेका थिए । अघिल्लो निर्वाचनमा देउवा नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धनले १३५ सिट जितेको थियो । काँग्रेस ८८ सिटसहित पहिलो दल भएको थियो । निर्वाचनपछि तेस्रो दलमा खुम्चिए पनि शक्ति सन्तुलनमा ३२ सिटसहित निर्णायक शक्ति बनेका प्रचण्ड सत्ताको नेतृत्व गर्न पाउनेमा ढुक्क देखिन्थे । शक्ति सन्तुलनको हिसाबले संसदीय अंकगणित प्रधानमन्त्री बन्न प्रतिकूल देखिएपछि पहिलो चरणमा प्रधानमन्त्री बन्न प्रचण्ड हतारिएका थिए । प्रधानमन्त्री बन्न चाहेका प्रचण्डलाई राम्रोसँग नोटिस गरेका ओलीले विष्णु पौडेल, शंकर पोखरेललाई पालैपालो देउवा र प्रचण्डसँग संवाद गर्न पठाउने गरेका थिए ।

एकातिर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिने र अर्कोतिर प्रचण्डलाई ढुक्क रहन ओलीले विश्वास दिलाएका थिए । पुस १० गते ठूलो दलको हैसियतले आफू प्रधानमन्त्री बन्न लागेको भन्दै देउवाले सहयोग गर्न राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गरी बालुवाटारबाट सिधै ओली भेट्न बालकोट पुगेका थिए । बालकोटमा एमाले, रास्वपा, राप्रपा, जसपा नेपाल, जनमत पार्टी, नाउपालगायत दलहरूको समर्थन लिएर प्रचण्ड प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । यो डिजाइन ओलीले प्रचण्डलाई आफ्नो बसमा पार्न र देउवालाई आफ्नो ल्याकत कति छ भनेर देखाउनलाई गरेका थिए । तर प्रचण्ड पनि माहिर खेलाडी नै थिए । उनले पनि ओलीलेजस्तै आफ्नो फाइदा हुने जता देखिन्छ त्यतै लाग्न कुनै आइतबार कुर्नु नपर्ने नेता हुन । प्रधानमन्त्री भएको दुई महिनामै प्रचण्डले ओलीलाई धोका दिएर राष्ट्रपतिको निर्वाचनमा काँगे्रसलाई सघाउन पुगे । उनी फेरि काँग्रेसलाई गठबन्धनमा ल्याए । काँग्रेससँग ११ महिना सत्ता सहकार्य गरेका प्रचण्डले २०८० फागुन २१ गते पुनः काँगे्रससँगको सम्बन्ध तोडेर फेरि एमालेसँग सहकार्य गर्न पुगे । माओवादी केन्द्रले चुनावमा जितेको ३२ सिटलाई म्याजिक नम्बर भएको जिकिर गर्दै प्रचण्डले काँग्रेस र एमालेलाई पालैपालो फनफनी घुमाउन थालेपछि सशंकित भएका ओली र देउवा एक ठाउँमा उभिएका थिए । त्यतिबेला ओलीले १६ महिनाअघि भएको अपमानजनक सत्ता बहिर्गमनको बदला प्रचण्डसँग लिएका थिए । तर पछिल्लो पटक काँगे्रससँगको सत्ता गठबन्धनको नेतृत्व गरेकै समयमा ओलीको राजनीतिक जीवनमा सबैभन्दा बढी पीडादायिक क्षण आयो । देशको प्रधानमन्त्री आफ्नै ज्यान जोगाउन सेनाको सहयोगमा सेनाको हेलिकप्टरमा चढेर सैनिक ब्यारेकभित्र लुक्नु प¥यो । ओलीको लागि त्यो पीडाबोध र राजनीतिक उधोगति उनको जीवनमा सबैभन्दा नकारात्मक भए पनि ओलीको सकारात्मक पक्ष भनेको उनले अझै पनि राजनीतिक रुपमा हार मानेका छैनन् । मुख्यतः ओलीकै कारण नेपालमा वामपन्थीहरुप्रति नै नकारात्मक धारणा बनिरहेको बेला ओली र प्रचण्डको संवाद र सहकार्यले वाम एकताको नयाँ ढोका खुल्ने विश्वस्त आधार भने भेटिएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार