जुवा खालबाट कर्मचारी र शिक्षकसहित १५ जना पक्राउ



बाँके ।

जुवा खालबाट प्रहरीले नगरपालिकाका कर्मचारी र शिक्षकसहित १५ जनालाई नगदसहित पक्राउ गरेको छ । बर्दियाको मधुवन नगरपालिकाबाट प्रहरीले जुवाखालमा छापा मारेर कर्मचारी, शिक्षकसहित १५ जनालाई पक्राउ गरेको हो ।

मधुवन नगरपालिका स्वास्थ्य शाखामा कार्यरत ५० वर्षीय गोविन्दराज गिरी, नेपाल राष्ट्रिय नमुना माविका शिक्षक ३० वर्षीय रामेश्वर चौधरीलगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मधुवन–४ माचड चोकमा रहेको सोमई थारुको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले छापा मारेको थियो ।

अन्य पक्राउ पर्नेमा मधुवनकै जगत चौधरी, राजेन्द्र चौधरी, सोमई थारु, खेमलाल रिमाल, भोजराज ओली, होमबहादुर चौधरी, वंशीराम चौधरी, प्रदेशी थारु, सुदीप चौधरी, लाहानु चौधरी, पवन रेग्मी, किरण बुढा मगर र नन्दकुमार थापा छन् ।

सबैजनालाई जुवाखालबाट रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट नगद ५७ हजार दुई सय ९० रुपैयाँ केही थान ताससमेत बरामद भएको थियो ।

इलाका प्रहरी कार्यालय ढोढरीका ईन्चार्ज प्रहरी निरीक्षक महेन्द्र बुढाथापाले पक्राउ परेकालाई जुवासम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

‘जुवातासका कारण समाजमा विकृति बढेको धेरै गुनासो आएपछि निगरानी बढाएका थियौं,’ उनले भने, ‘सोही क्रममा गोप्य सूचनाको आधारमा छापा मार्दा १५ जना जुवाखालबाट पक्राउ परेका हुन् ।’

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार