अधिवक्ता बसन्त गौतम
क्यालेन्डरको पाना पल्टाउँदै जब भाद्र कृष्ण औंसीको यो पवित्र तिथि आउँछ, तब डिजिटल संसारमा श्रद्धा र भावनाका अलिक अनौठा बाढीहरू देखिन थाल्छन् । भर्चुअल वालहरूमा बुवाका तस्बिरहरूको ओइरो लाग्छ, रंगीचंगी क्याप्सनहरू लेखिन्छन् र ढोग्दै गरेका इमोटिकनहरू छ्यापछ्याप्ती हुन्छन् । सामाजिक सञ्जालका भित्ताहरू एकदिनका लागि बुवामय बन्छन् । तर, के साँच्चै वर्षमा ३६४ दिन आफ्ना आफ्ना व्यस्ततामा हराएका सन्तानले त्यसरी स्क्रिनमा पोख्ने श्रद्धाले मात्र बुवाप्रतिको ऋणी मन हल्का हुन्छ र ? डिजिटल पिक्सलरूपी शब्द र तस्बिरहरूले मात्र जिउँदो देवता भनिने पिताको मुहारमा वर्षभरिको मुस्कान भर्न सक्छन् र ? कुशे औंसी वा बुबाको मुख हेर्ने दिनको अर्थ कुनै महँगो मिठाईको बट्टा, बजारबाट किनेर ल्याइएको फलफूलको डाला वा फेसबुकको भित्तामा पोखिने लामो स्टाटसमा मात्र सीमित छैन । यो त वर्षौँसम्म आफ्ना सपनाहरूलाई आफ्ना जुत्ताका तलुवासँगै कुल्चिएर सन्तानको भविष्यको बाटो गोडमेल गर्ने ती निस्वार्थी कर्मयोगी प्रतिको मौन नमन हो । खासमा यस पर्वको सार्थकता त तब मात्र चुलिन्छ, जब बुवाको जीर्ण बन्दै गएको जिन्दगीमा उनी एक्लो महसुस गर्दा नजिकै गएर बस्ने दुई घडीको समय हुन्छ । उनी पँधेरोको पाटीमा वा आँगनको मझेरीमा थकाइ मार्दै गर्दा चियाको कप थाप्दिने स्नेह हुन्छ, र उनी बोल्न खोज्दा छेउमा बसेर आँखाका भाषा पढिदिने धैर्य हुन्छ । एक दिनको देखावटी तडकभडक र डिजिटल औपचारिकताले बुवाको खाउलाउला र लगाउलाको धोको मेट्न सक्दैन । जसरी उनीहरूले हामीलाई तुलुतुलु हेर्दै आफ्ना हरेक खुसी गलाए, त्यसरी नै उनीहरूको अधबैँसे र वृद्धावस्थाका लरबराएका पाखुरालाई सहारा दिने जिम्मेवारी पनि हाम्रै हो । बुवाको मुख हेर्ने दिन त केवल एउटा बिम्ब हो— वर्षको ३६५ दिन नै उहाँको मुहारमा खुसीका रेखाहरू कोर्ने र उहाँको भावनाको कदर गर्ने संकल्पको दिन । जब सन्तानले आफ्नो कर्तव्यलाई फेसबुकका भित्ताबाट झिकेर जिन्दगीको यथार्थ कर्ममा उतार्न सक्छन्, तब मात्र कुशे औंसीको पूजा साँच्चै अर्थमा सफल हुन्छ, र तब मात्र ‘बुवा’ शब्दले आफ्नो पूर्ण पवित्रता प्राप्त गर्छ ।
फेसबुकका भर्चुअल कोलाजहरूमा मुसुमुसु हाँसिरहेका तस्बिरहरू, डिजिटल फूलहरूका गुच्छा र प्रविधिले रङ्गाएका श्रद्धाका शब्दहरूले मात्र न त बुवाको चाउरिएको अनुहारको खाडल पुर्न सक्छन्, न त मनभित्र लुकेको उनको एक्लोपनलाई नै मेट्न सक्छन् । वर्षको एक दिन देखावटी भावुकताका लहरहरूमा बग्नु र सामाजिक सञ्जालको भित्तामा बुवाको तस्बिर सजाएर महान बन्न खोज्नु क्षणिक आत्मसन्तुष्टि त होला, तर यो कहिल्यै पनि सन्तानको धर्म र कर्तव्यको पूर्णता हुन सक्दैन । साँचो अर्थमा बुवाप्रतिको प्रेम त तब प्रस्फुटित हुन्छ, जब हामी फेसबुकको स्क्रिनबाट हटेर आफ्ना बुवाको नजिकै बस्छौँ । उहाँका थकित हातहरूलाई आफ्ना हत्केलामा थामेर, उहाँको काँपेको स्वरमा लुकेका पुराना कथाहरू सुनेर, र उहाँको जीर्ण बन्दै गएको जिन्दगीमा आफ्नो साथको न्यानो ओत दिएर मुहारमा ल्याइने त्यो साँचो मुस्कान नै वास्तविक पूजा हो । कुशे औंसी वा बुबाको मुख हेर्ने दिन कुनै एउटा क्यालेन्डरको मितिमा सीमित उत्सव मात्र होइन । यो त वर्षका तीन सय पैसट्ठी वटै दिन बुवाको मनलाई खुसी राख्ने, उहाँका भावनाहरूको कदर गर्ने र जिउँदो देवता भनिने पिताप्रतिको अटल निष्ठालाई कर्ममा उतार्ने एउटा पवित्र संकल्प हो । जसले हामीलाई यो संसार देखायो, उहाँको बुढेसकालको हर पललाई शीतल छहारी दिनु नै सन्तानको परम धर्म हो । जब हामी सामाजिक सञ्जालको भर्चुअल चमकधमकभन्दा माथि उठेर बुवाको जीवनमा सन्तुष्टिको उज्यालो भर्न सक्छौँ, तब मात्र हरेक दिन ‘बुवाको मुख हेर्ने दिन’ बन्छ, र तब मात्र जीवनमा बुवा हुनुको अर्थ र यस पर्वको सार्थकता पूर्ण हुन्छ । हाम्रो सांस्कृतिक र सनातन धार्मिक परम्परामा कुशे औंसी अर्थात् गोकर्णे औंसी बुवाप्रति गहिरो श्रद्धा, सम्मान, कृतज्ञता र समर्पण प्रकट गर्ने सबै भन्दा पवित्र दिन हो । वर्षभरि आफ्ना सन्तानको सुख, शान्ति र उज्ज्वल भविष्यका लागि अथक पसिना बगाउने बुवाको मुख हेर्ने यस विशेष दिनमा जीवित बुवालाई विशेष आदरभाव र उपहार प्रदान गरिन्छ भने भौतिक रूपमा नभएकाहरूले पवित्र नदी, तीर्थस्थल वा घरमै तर्पण, पिण्डदान र श्रद्धाञ्जली अर्पण गरी बुवाको स्मृतिको पूजा गर्छन् । कुशे औंसीको ऐतिहासिक तथा धार्मिक महत्व जति गहिरो छ, त्यत्तिकै गहिरो सामाजिक र सांस्कृतिक सन्देश पनि यसले बोकेको छ । शास्त्रहरूमा मातालाई पहिलो देवता मानिए झैँ पितालाई आचार्य, संस्कार प्रदायक र जीवनको मार्गदर्शकको रूपमा उच्च स्थान दिइएको छ ।
तर, समयको चक्र र आधुनिकताको आँधीसँगै हाम्रो समाजको मौलिक मूल्यमान्यता र पुस्तान्तरणको धारमा आएको तीव्र फेरबदलले आज गम्भीर चिन्ता र प्रश्नहरू उब्जाएको छ । एक समय थियो जब बुवापुस्ता र हजुरबुवापुस्तालाई परिवारको अटल खम्बा, सर्वोच्च आदर्श र अनुशीलनको प्रतीक मानिन्थ्यो । बुवाको आदेशलाई शिरोधार्य गर्ने, उहाँहरूको मार्गदर्शनमा जीवनका कठिन बाटाहरू तय गर्ने, धार्मिक आचरण, सदाचार, नैतिकता र अनुशासनलाई आफ्नो जीवनको मूलमन्त्र बनाउने संस्कार हाम्रो समाजको विशिष्ट पहिन थियो । सन्तानहरू आफ्ना बुवाको न्यानो छत्रछायाँमा सुरक्षित, मर्यादित र अनुशासित महसुस गर्दथे । बुवाको एक वचनलाई नियम मान्ने त्यो युगमा परिवार भित्रको आदर र सद्भावको सुवास बेग्लै थियो । दुर्भाग्यवश, आजको नवयुवा पुस्तामा बुवा आमाप्रतिको आदरभाव, सेवाभाव र सम्मानको ग्राफ तीव्र रूपमा खस्किँदै गएको अनुभव हुन थालेको छ । बुवाआमाले जीवनभर भोगेका तीतामीठा अनुभव र पसिनाको मूल्यबाट दिएका अर्तिउपदेश र मार्गदर्शनलाई आजको आधुनिक भनिने जेनेरेसनले ‘बाइयात्,’ आउटडेटेड वा काम नलाग्ने कुरा भन्दै बेवास्ता गर्ने प्रवृत्ति मौलाउँदैछ । कतिपय सन्दर्भमा त आमाबुवाप्रतिको नाता केवल उनीहरूले छोराछोरीका लागि पुरा गर्नुपर्ने दायित्व र आर्थिक पाटोको स्वार्थमा मात्र सीमित हुन पुगेको हो कि भन्ने पीडादायी आभास हुन थालेको छ । आफ्ना आधुनिक साथीभाइका अगाडि आफ्ना बुवाआमालाई ‘समय अनुसार आफूलाई परिवर्तन गर्न नसकेका, अशिक्षित वा संस्कारहीन’ पात्रको रूपमा प्रस्तुत गर्ने, यहाँसम्म कि कार्यालय, कार्यस्थल वा समाजमा बुवालाई आफ्नो अभिभावक भनी चिनारी गराउन समेत हिचकिचाउने जस्ता विकृत मानसिकता नयाँ पुस्तामा देखिन थालेको छ । यो पुस्तान्तरणको खस्किँदो स्तरले हाम्रो मौलिक सभ्यता, पारिवारिक मूल्य र मानवीय संवेदनालाई गहिरो आघात पु¥याएको छ । यस सन्दर्भमा, युवा पुस्ताले यो बिर्सनु हुँदैन कि बुवाआमा केवल घरका पुराना सदस्य मात्र होइनन्, उनीहरू जीवनका अनगिन्ती चुनौती पार गर्दै खारिएका ज्ञान, त्याग र अनुभवका विश्वविद्यालय हुन् । आजका युवाहरूले आफ्ना आमाबुवाको लामो जीवनसंघर्ष, उहाँहरूको अमूल्य अनुभव र दूरगामी विचारको भरपुर सदुपयोग गर्न सिक्नुपर्छ । प्रविधिको विकास र आधुनिकताले मान्छेलाई जति नै अगाडि पु¥याए पनि, जीवनका वास्तविक पाठ र संकटका बेला साथ दिने अदृश्य शक्ति भनेको बुवाआमाको आशीर्वाद र उहाँहरूले सिकाएको संस्कार नै हो ।
बुवाआमालाई बोझ ठानेर वा उहाँहरूको पहिचान लुकाएर कहिल्यै पनि प्रगति गर्न सकिँदैन । उहाँहरूका अनुभव र विचारको कदर गर्नु नै आजको पुस्ताको पहिलो र अनिवार्य कर्तव्य हुनुपर्छ । यही पुस्तान्तरणको यथार्थ र बुवाप्रतिको अथाह प्रेमलाई जब म मेरो आफ्नै जीवनका पानाहरूसँग जोडेर हेर्छु, तब मेरा स्वर्गवासी पिताजी कृष्ण प्रसाद गौतमको पवित्र स्मृति मभित्र अझ बढी जीवन्त भएर आउँछ । डोटी, गुल्मी, पाल्पा लगायतका विभिन्न दुर्गम जिल्लाहरूमा पुगेर झण्डै चार दशकसम्म निष्ठापूर्वक शिक्षण पेशामा समर्पित भई हजारौँ विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउनु भएका मेरा बुवा, साधारण किसान परिवारमा जन्मिएर पनि असाधारण सादगी र उच्च विचारको जीवन बिताउनु भएको एक कर्मयोगी हुनुहुन्थ्यो । पाँच दाजुभाइमध्ये कान्छो भाइ र चार दिदीबहिनीका प्यारा दाईभाइ कृष्ण प्रसाद गौतमले आफ्नो मध्यमवर्गीय परिवारको सीमितताका बाबजुद ९ जना सन्तान र उनीहरूको लालनपालन तथा शिक्षा दीक्षालाई आफ्नो जीवनको एकमात्र सर्वस्व ठान्नुभयो ।हामीलाई हुर्काउन र पढाउन बुवाले गर्नुभएको संघर्ष शब्दमा वर्णन गर्नै सकिन्न । गाईभैसीको गोठदेखि खेतीबारीको काम, टाढाको खेत र त्यसपछि शिक्षण पेशा—यी सबैको समिश्रण मिलाएर घरव्यवहार चलाउन उहाँलाई कति कठिन भयो होला ! त्यसमाथि, पटकपटक अस्वस्थ भई लडिरहने हाम्री आमा थान कुमारी गौतम र बुवा शिक्षण पेशाको सिलसिलामा घरबाहिर रहनुपर्दाको अवस्थामा घरव्यवहार सम्हाल्न आमालाई कति गाह्रो भयो होला भन्ने अनुमान मात्र गर्न सकिन्छ । एउटा मात्र जागिर र पहाडी कृषि पेशामा निर्भर रहेर पनि हामी नौ जना दाजुभाइ–दिदीबहिनीको लालनपालन, खानपान र पढाइ लेखाइमा कुनै कमी हुन दिनुभएन । छोराछोरीले उच्च शिक्षा हासिल गरेर समाजमा प्रतिष्ठित पेशा अँगालून् भन्ने उहाँको तीव्र चाहना थियो । उहाँले आफ्नो परिवारको मात्र होइन, समग्र गौतम परिवार, मावली र ससुराली पक्षका लागि समेत आवश्यक सरसल्लाह र अभिभावकत्व प्रदान गर्नु हुन्थ्यो ।
जतिनै अप्ठेरो र चुनौती आए पनि कहिल्यै नआत्तिने, घरपरिवार, खेतीपाती र शिक्षण पेशाको दायित्व सँगसँगै धार्मिक कार्यमा पनि उत्तिकै सक्रिय रहने बुवाको बानी थियो । धार्मिक अनुष्ठान र सत्कर्ममा आफूसँगै डोहो¥याएर हिँडाउने उहाँको बानीकै कारण आज म भित्र पनि नजानिदो पाराले धर्म, संस्कार र सद्मार्गमा हिँड्ने प्रेरणा प्राप्त भएको छ । जीवनभर उहाँले हामी छोराछोरीलाई कहिल्यै नराम्रो शब्द बोल्नुभएन । उहाँले रिसको आवेगमा एक थप्पडसम्म लगाएको अनुभव मैले कहिले पनि गर्न परेन । सहनशीलता, कर्तव्यनिष्ठा, सत्यवादिता र अभिभावकीय दायित्व निर्वाह गर्ने अनुपम गुणका खानी हुनुहुन्थ्यो उहाँ । तर, विडम्बना ! उच्च रक्तचाप र प्रोस्टेटको समस्याका कारण हामीले अपेक्षा गरेभन्दा धेरै पहिले, ७७ वर्षको उमेरमै हामीले उहाँलाई गुमाउनु पर्यो । कुशे औंसीको घाम उदाउँदा घरको आँगन र मनको डिल दुवैतिर शून्य, उदास र एक्ला छन् । जसरी औंसीको रातमा जूनबिनाको आकाश निस्सार लाग्छ, त्यसैगरी आज बुवा तपाईँको भौतिक शरीरविना यो संसार पूर्ण रूपमा रित्तिएको महसुस भइरहेको छ । चाडपर्वहरू आउँछन्, खुसीका रङ्गहरू छरिन खोज्छन्, तर मेरो निधारमा आशीर्वादको टीका लगाइदिने र टाउकोमा स्नेहको हात राख्ने त्यो न्यानो मायालु छहारी अब इतिहासको पानामा सीमित भएको छ । बुवा, तपाईँको महान् व्यक्तित्व, धार्मिक संस्कार र सत्यवादी जीवन हाम्रा लागि सधैँ मार्गदर्शक रहनेछ । तपाईँ केवल एक साधारण बुवा हुनुहुन्थेन, नौ सन्तानलाई आफ्नो जीवनको सर्वस्व मानेर, सबैलाई कहिल्यै दायाँबायाँ नभई उत्तिकै अथाह माया र स्नेह दिन सक्ने विशाल हृदयका धनी हुनुहुन्थ्यो । आफ्ना सबै इच्छा, आकांक्षा र सुखहरूको बलिदानी दिएर, आफूले अनगिन्ती दुःखकष्ट र अभाव सहेर पनि हामी छोराछोरीको मुहारमा खुसी ल्याउन हरदम चिन्तित रहने एक परम परिश्रमी र कर्मयोगी अभिभावक हुनुहुन्थ्यो । जीवनभर निष्ठा, कर्तव्य र सिद्धान्तबाट कहिल्यै विचलित नभई सधैँ सत्यको मार्गमा अडिग रहने उच्च कोटीको सत्यवादी व्यक्तित्वको रूपमा तपाईँको छवि सधैँ उच्च रह्यो । कुशे औंसीको अर्थात् बुवाको मुख हेर्ने यस विशेष दिनमा, तपाईँ हामीमाझ भौतिक रूपमा नरहे पनि तपाईँले देखाउनुभएको बाटो, तपाईँको संस्कार र तपाईँको अमूल्य शिक्षा सधैँ हाम्रो साथमा छ । उहाँका बहुगुणी स्वभावहरू पूर्ण रूपमा त मैले आत्मसात गर्न सकेको छैन, तैपनि उहाँले देखाउनुभएको सत्य र सद्मार्ग पछ्याउने अथक प्रयासमा छु । कसैलाई नपिर्ने, सबैको भलो चाहने र सकारात्मक सोचका धनी मेरा पिताजीको जीवनबाट प्रेरणा लिँदै, आजको पुस्तालाई पनि म यही अनुरोध गर्न चाहन्छौँ—बुवाआमालाई बोझ वा आउटडेटेड नठानौँ, उहाँहरूको जीवनको अमूल्य अनुभव र संघर्षलाई सम्मान गरौँ । उहाँहरूको विचार र मार्गदर्शनलाई आफ्नो जीवनको पथप्रदर्शक बनाऔँ । कुशे औंसीको यस पवित्र अवसरमा समस्त बुवाहरूप्रति हार्दिक नमन अर्पण गर्दै, म मेरा स्वर्गवासी पिताजी कृष्ण प्रसाद गौतमको चरणमा कोटी–कोटी नमन गर्दछु । बुवा, तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई तपाईँको स्नेहिल र आशीर्वादित दृष्टि सधैँ प्राप्त भइरहनेछ । तपाईँ जस्तै कर्तव्यनिष्ठ, सहनशील र सद्मार्गमा हिँड्ने एक आदर्श अभिभावक बन्ने क्षमता मलाई प्राप्त होस्, र आजका युवाहरूले पनि बुवाआमाको मर्म बुझेर उहाँहरूको आदर गर्ने सुबुद्धि पाऊन्, यही मेरा प्यारा पिताजीको पवित्र चरणमा मेरो हार्दिक प्रार्थना छ ।
(लेखक गौतम सामाजिक न्यायको पक्षमा निरन्तर वकालत गर्दछन्।)








प्रतिक्रिया दिनुहोस्