कोहलपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’, तीन सय जनाले रोजगारी पाउने



कोहलपुर । डिल्ली शाही

बाँकेको कोहलपुर नगरपालिकाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरेको छ । एक कार्यक्रमका आइतबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को नगर प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । चालु आर्थिक बर्षमा नगरपालिकाले तीन सय जना बेरोजगारहरुलाई एक महिना बराबरको रोजगारी दिनेछ । नगर प्रमुख रावतले कुँचो र हँसिया नगर रोजगार संयोजक भद्र बहादुर थापालाई हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

संघिय सरकारकोे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरिएको हो । पहिलो चरणमा कोहलपुर नगरपालिकाका ५८ जना बेरोजगारले एक महिनाका लागी सडक सरसफाई गर्ने रोजगारी पाएका छन् । नगर रोजगार संयोजक थापाका अनुसार रोजगारी पाउनेमा ५२ जना महिला र ६ जना पुरुष रहेका छन् । चालु आर्थिक बर्षमा नगरपालिका भित्रका तीन सय बेरोजगारहरुलाई एक महिना बराबरको रोजगारी सिर्जना गरिने छ ।

गत चैत्र महिनामा नगरपालिकाले आह्वान गरेको आवेदनमा ५ हजार २५ जना बेरोजगारले आफ्नो नाम दर्ता गराएका थिए । संयोजक थापाका अनुसार सबैभन्दा बढी वडा नम्बर १२ मा ९ सय ७० र सबैभन्दा कम वडा नम्बर ४ मा १ सय २० जनाले आवेदन दर्ता गराएका छन् । बेरोजगारलाई कम्तिमा पनि ९० दिन बराबरको रोजगार दिने कार्यक्रमको लक्ष्य अनुरुप शुरु गरिएको कार्यक्रममा यहाँका बेरोजगार युवायुवतीले उत्साहका साथ सहभागिता जनाएको उनले बताए । ‘एकल महिला, विपन्न वर्ग, सिमान्कृत समुदायका बेरोजगार पहिलो प्राथमिकतामा छन्’ संयोजक थापाले भने, ‘कामदार छनोट गर्दा व्यक्तिको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका आधारमा छनोट गरिएको छ ।’

दैनिक आठ घण्टा काम गर्ने कामदारले मर्मत र सरसफाई गर्ने उनले जानकारी दिए । नगर प्रमुख रावतले आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । स्थानीय स्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न यो कार्यक्रमले मद्दत पु¥याउने उनले दाबी गरे । ‘कोही कसैले विदेश जानैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुन्छ’ उनले भने, ‘आफ्नै क्षेत्रको विकासमा सबैको भुमिका जरुरी छ ।’ बेरोजगार भएर दैनिकी पनि चलाउन समस्या भएका बेरोजगार युवाले भने रोजगारीको अवसर पाएपछि खुसी देखिएका छन् ।

कोहलपुर नगरपालिका १२ चप्परगौडीमा बस्ने २८ वर्षिया लक्ष्मी कुमारी शाहीले पहिलो पटक राज्य बाट रोजगारी पाएको भन्दै खुसी व्यक्त गरिन् । ‘महिनामा खर्च १५/२० हजारसम्म हुन्छ, घर परिवार धान्न निकै मुस्किल छ ’ शाहीले भनिन्, ‘अब ३० दिन रोजगारी पाउदा केही सहज हुन्छ की भन्ने आशा लागेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २० गते सोमबार