वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा देशभर कम्युनिष्ट एकताको विषयले चर्चा पाएको छ । स्मृति दिवसका अवसमा आयोजना भएका सभा सम्मलेन तथा गोष्ठीहरुमा अब कम्युनिष्ट एकता जरुरी भएकोमा जोड दिइएको छ । पुष्पलालको स्मृति दिवसका अवसरमा नेपालगन्जमा नागरिक सरोकार मञ्चले एक विचार गोष्ठीको आयोजना ग¥यो ।
पुष्पलालले नेपाली राजनीतिमा दिएको विचार र चिन्तनलाई सांकेतिक रुपमा सभाध्यक्ष मानेको भनिएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कम्युनिष्ट घटकहरुको एकता जरुरी भएको धारणा राखे । कार्यक्रममा बोल्ने वक्ताहरुको एउटै कुरामा जोड थियो, अब कम्युनिष्ट घटकहरु नमिलिकन अहिले सत्ता चलाइरहेको शक्तिसँग लड्न सम्भव छैन । कार्यक्रममा बोलेका एमालेका नेता देवराज भार, कर्णाली प्रदेशका पूर्वप्रमुख तथा कम्युनिष्ट नेता तिलक परियार, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पहिलो संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदी, एमालेका नेता बाबुराम गौतम समेतले अहिले कम्युनिष्ट शक्तिहरु एक भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
उनीहरुले पुष्पलालले काँग्रेस कम्युनिष्ट एक भएर मात्रै लडाइँ सम्भव रहेको भन्दै गरेको सहकार्यले नै २०४६ सालको आन्दोलन सफल भएको स्मरण गर्दै कम्युनिष्टहरु नै एक हुनु जरुरी भइसकेको बताए । श्रेष्ठको स्मृति दिवसकै अवसरमा श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा आयोजित कार्यक्रममा पनि कम्युनिष्ट दलहरुको एकताकै चर्चा भयो । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले पनि उतिबेला वाम–लोकतान्त्रिक गठबन्धन हुनुपर्छ भन्दा पुष्पलाललाई गद्दार भनिएको भए पनि कालान्तरमा उनको दृष्टिकोण सत्य साबित भएको भन्दै अहिले वामशक्तिको एकताको आवश्यकतामा जोड दिए ।
यसरी कम्युनिष्ट एकताको कुरा तल्लो तहका नेताहरुले मात्रै गरेका छैनन्, दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरुले पनि सोही कुरामा जोड दिएका छन् । पुष्पलाल स्मृति दिवसकै अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक, प्रगतिवादी, वामपन्थी दलहरू एकताबद्ध हुन जरुरी रहेको बताए । यद्यपि उनले त्यो एकताका पार्टी एकताको रुपमा मात्रै नभई सहकार्यको रुपमा पनि हुनसक्ने प्रस्ताव राखेका छन् ।
ओलीले भने, ‘सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔँ भनेको होइन । पार्टी आफ्ना आफ्ना भए पनि हुन्छ । काममा मिलौँ न । सहकार्य गरौँ न । समान उद्देश्यका लागि समान काममा त जुटौँ ।’ यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताए । पुष्पलालको स्मृति दिवसकै अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा आफूले एकताका लागि प्रयास गरिरहेको दाबी गर्दै भने, ‘कम्युनिष्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिएको छ ।’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि अहिलेको कम्युनिष्ट पार्टीलाई पुनर्गठन, रुपान्तरण र एकतावद्ध बनाउनु जरुरी भएको बताएका छन् । उनले परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र जनताको उपलब्धिको रक्षा गर्दै सबैभन्दा पहिले सही क्रान्तिकारी कार्यदिशाका आधारमा एकता आवश्यक रहेको बताएका हुन् । खनालले पुष्पलालको स्मृति दिवसमा सन्देश जारी गर्दै भनेका छन्, ‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’
यस्तै नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि रूपान्तरित र पुनर्गठित वामपन्थी शक्तिहरूले एउटै केन्द्र बनाउने दिशातिर अगाडि बढ्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘अहिले भने हामीले सहकार्य र कार्यगत एकताको प्रक्रिया अगाडि बढाऔँ । सबै पार्टीहरूले आ–आफ्नो रूपान्तरण र पुनर्गठनको प्रक्रिया अगाडि बढाऔँ । आ–आफ्नो पार्टी र रूपान्तरणको प्रक्रिया, पुनर्गठनको प्रक्रिया अगाडि बढाएपछि अहिलेको संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा देशभक्त, लोकतन्त्र पक्षधर र वामपन्थी शक्तिहरूको सहकार्य र कार्यगत एकताको प्रक्रिया अगाडि बढाऔँ ।’
हुन त कम्युनिष्ट नेताहरुले एकताको कुरा गर्नु कुनै नौलो कुरा होइन । उनीहरुले जहिले पनि एकताको कुरा गरे पनि अनेक नाममा विभक्त भएर टुक्रिने गरेका छन् । कम्युनिष्टहरु टुट्ने जोडिने क्रमको पछिल्लो ऐतिहासिक महत्वको कडीका रुपमा निर्वाचन २०७४ को केही समयअघि दुई ठूला दलहरु एमाले र तत्कालीन माओवादी पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी नबनाएका होइनन् । उक्त एकतापछि उक्त दलले भारी बहुमतसहितको सरकार बनाउने अवसर पनि पाएको थियो ।
तर, एकता टिकाउन नसक्दा बीच अवधिमै पार्टी फुटेर भताभुंग भयो । नेताहरुले एकले अर्कालाई सत्तोसराप गरे । उक्त एकता टुट्नुको असर कालान्तरमा देशले नै भोग्नुप¥यो । अहिले उनीहरुले एकताको कुरा गर्नुका पछाडि गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र फागुनमा भएको निर्वाचनको परिणाम मुख्य कारण रहेको छ । २०७४ सालमा दुई दल एक हुँदा तलका कार्यकर्ता तहमा छलफल नै नभई दुई नेताहरुको लहडमा एकता भएकोले लामो समय नटिकेको विश्लेषण हुँदै आएको छ ।
यसपटक कम्युनिष्ट एकताको चर्चा तल्लो तहबाटै सुरु भएकोले २०७४ को भन्दा फरक परिस्थिति रहेको बुझाइ नेताहरुको छ । नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्नेहरुले पनि पछिल्लो निर्वाचनमा कम्युनिष्टहरु संसद्मा ७५ प्रतिशत प्रतिनिधित्वबाट खुम्चिएर १५ प्रतिशतमा झरेको दृष्टान्त दिँदै एकता आवश्यक भएको तर्क गरे । एमालेका नेता तथा लुम्बिनी प्रदेशका मन्त्री रत्न खत्रीले भने, ‘हामी अहिले किन यसरी रक्षात्मक अवस्थामा पुग्नुप¥यो भन्ने कुराको समीक्षा गर्दै एकताबद्ध हुन जरुरी छ । जनताका मुद्दालाई केन्द्रमा राखेर एकतामा जानु आवश्यक छ ।’
यसरी हेर्दा चुनावबाट निकै ठूलो जनमत खस्किएको देखिएपछि रन्थनिएका कम्युनिष्ट घटकहरु विशेषगरी एमाले र नेकपा आउँदो चुनावसम्म एक भएर जाने सम्भावना प्रवल देखिएको नेता कार्यकर्ताहरु बताउँछन् । दुई नेताहरु ओली र प्रचण्डबीच प्रदेश सरकारहरुमा नयाँ समीकरण बनाउने विषयमा भइरहेको छलफलले पनि त्यही संकेत गरिरहेको छ । दश वर्षे सशस्त्र द्वन्द्वको जगमा भएको दोस्रो जनान्दोलनपश्चात् २०६४ को निर्वाचनमा नेपालका कम्युनिष्ट भनेर चिनाउन चाहने दलहरुले ६० प्रतिशत बढी सिट जितेका थिए ।
उक्त निर्वाचनको परिणाम नेपालको कम्युनिष्ट दल स्थापना भएको साढे ७ दशकमा कम्युनिष्ट घटकहरुले पाएको सबैभन्दा बढी सिट थियो । तर, उक्त निर्वाचन भएको दुई दशक नबित्दै २०८२ फागुन २१ मा भएको निर्वाचनमा कम्युनिष्ट विचारधारका दलहरुको सिट १५ प्रतिशतमा खुम्चिएको छ ।
२०१५ सालमा भर्खरै राजनीतिक चेतना आउँदै गरेको समयमा कम्युनिष्ट दलहरुले पाएको चार प्रतिशत सिटलाई छोड्ने हो भने कम्युनिष्ट दलहरु यतिखेर इतिहासकै सबैभन्दा कमजोर मताधारको स्थितिमा छन् ।
प्रदेश सरकारबाट सहकार्य सुरु गर्ने तयारीमा एमाले र नेकपा
नेपाली काँग्रेस प्रदेश सरकारहरुमा एमालेसँगको समीकरणबाट बाहिरिन थालेपछि नयाँ सरकारहरु बनाउनका लागि अहिले प्रदेशमा प्रतिनिधित्व गर्ने दुई ठूला कम्युनिष्ट दलहरु एमाले र माओवादीबीच सहकार्यको पहल भइरहेको छ । उक्त पहल प्रदेश सरकारमा तत्काल नयाँ सरकार बनाउनेदेखि आसन्न स्थानीय र प्रदेशसभामा पनि सहकार्य गर्नेतर्फ लक्षित रहेको सूचनाहरु बाहिरिइरहेका छन् ।
हालसम्म दुवै दलले सहकार्यको विषय औपचारिक रुपमा स्वीकार नगरेपनि एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच यस विषयमा छलफल नै भइसकेको छ । मंगलबार राति ओलीलाई भेट्न नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्लै गुण्डु पुगेका थिए । यद्यपि एमोभित्र आन्तरिक समस्याहरु रहेको र ओलीको निर्णयमा सरासर सहमति दिने गरेका नेताहरु नै अहिले ओलीको विरुद्धमा रहेकाले ऊक्त विषय कसरी अघि बढ्छ अझै टुंगो लागिनसकेको नेताहरु बताउँछन्।
वृहत् सहकार्य नभए पनि प्रदेश सरकारमा सहकार्य हुने सम्भावना भने अधिक देखिन्छ । किनभने काँग्रेस एमालेमा अलग्गिएमा सरकार बनाउन कि त काँग्रेस र नेकपा मिल्नुपर्छ भने कि एमाले र नेकपा मिल्नुपर्छ । अहिले नयाँ समीकरणका लागि अनौपचारिक छलफल एमाले र नेकपाबीच नै अघि बढेको र तल्लो तहमा पनि कम्युनिष्ट एकताको राय बनिरहेको बेला उनीहरुबीच नै समीकरण बन्ने सम्भावना प्रवल छ ।
नेकपाले प्रदेश सरकारमा प्रगतिशील शक्तिबीच एकता, सहकार्य र समीकरणजस्ता विषयमा आवश्यक पहल गर्न वर्षमान पुन र प्रमेश हमाल रहेको एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको रिपोर्टिङपछि नै प्रचण्ड ओलीसँग कुरा गर्न गएका बताइएको छ । कार्यदलका सदस्य प्रमेश हमाल लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षममा भएका शक्तिहरू एक ठाउँमा मिलेर जाने सल्लाह भएको बताउँछन् । प्रचण्ड र ओलीबीच प्रदेश सरकार बनाउने विषयमा मात्रै नभैई आगामी चैतमा हुने स्थानीय तह निर्वाचनदेखि अर्को वर्ष हुने प्रदेशसभा निर्वाचनसम्म तालमेल गरेर जाने विषयमा छलफल भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्