कर्णाली विकास बैंकका बचतकर्ताको धैर्यता टुट्दै



वीरेन्द्र जैसी । नेपालगन्ज ।

दाङको भालुवाङकी सारदा केसी दुईजना छोरीहरु नबिउँझिँदै उनीहरुलाई एक्लै घरमा छोडेर मंगलबार नेपालगन्ज आइन् । श्रीमान्ले विदेशमा दुःख गरी कमाएर पठाएको पैसा जम्मा गरेको कर्णाली विकास बैंकका सञ्चालक तथा कर्मचारीहरु मिलेर बचत हिनामिना गरिदिएपछि उनको तनावको दिन सुरु भयो । बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर आफ्नो नियन्त्रणमा लिएको १८ महिना बितिसक्दा पनि बचत पनि फिर्ता पाउन नसकेको भन्दै अधैर्य भएका करिब ४० जना बचतकर्ताहरुसहित उनी नेपालगन्ज आएर कर्णाली विकास बैंकको केन्द्रीय कार्यलयअघि धर्ना बसिन् ।

उनी यसरी नेपालगन्ज आएर धर्ना बसेको चारपटक भइसकेको छ । ‘हामी आफ्नै पैसा पाउन पनि भिख मागेजस्तो पटक पटक आएर धर्ना बस्नुपरेको छ र खाली हात फर्कनुपरेको छ । झुटा आश्वासन मात्रै दिने गरिएको छ । हाम्रो पैसा खाने अपराधीहरु खुलेआम बाहिरै छन्,’ केसीले भनिन्, ‘अब हामी चुप लागेर बस्दैनौँ । यथाशीघ्र हाम्रो बचत फिर्ता भएन भने हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

बैंकको बचत रकम हिनामिना भएर बैंक टाट पल्टिएपछि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै २०८१ पुस ११ गतेदेखि वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा बैंकको बचत फिर्ताको व्यवस्था गर्न तथा बैंक सन्चालनको मोडेल खोज्न तीन सदस्यीय समिति खटाएको थियो । उक्त समितिले सुरुका केही महिना साना बचतकर्तालाई २५ हजारसम्म बचत फिर्ता ग¥यो । तर पछि बैंकको ऋण फिर्ता तथा सम्पत्ति व्यवस्थापन सोचेअनुरुप हुन नसकेको भन्दै लामो समयदेखि बचत फिर्ता बन्द गरिएको छ ।

जसले दैनिक जीवन सञ्चालनका लागि बैंकमा रहेको बचतमै निर्भर बचतकर्ताहरु सबैभन्दा बढी प्रभावित भएका छन् । समय बित्दै जाँदा ठूला तथा संस्थागत बचतकर्ताहरु पनि अधैर्य हुन थालेका छन् । दाङको भालुवाङकै दुर्गा रोकाले कतिपय बचतकर्ताहरुले बचत फिर्ता पाउन नसक्दा उपचार गर्न नपाएर ज्यान गइसकेको आफूहरुकहाँ जानकारी आएको बताए । उनले बचतकर्ताहरुमा आर्थिक तनावले मानसिक समस्या चरम सीमामा रहेकोले जति ढिलाइ भयो त्यति गम्भीर समस्या निम्तदै जाने बताए । समस्याका विषयमा राष्ट्र बैंक र सरकारले गम्भीरतापूर्वक कदम नचालेको उनको भनाइ छ ।

‘पहिले ऋण फिर्ता गराएर रकम जम्मा भएपछि फिर्ता दिन्छौँ भने त्यसपछि सेयर दिन्छौँ भने, त्यसपछि धितोपत्र बोर्डमा नेतृत्व चयनमा ढिलाइ भयो भने, अहिले आएर दोस्रो विकल्पमा छलफल भइरहेको छ भनिरहेका छन् । १८ महिना पर्खिँदा पनि कुनै निकास निकाल्न नसक्दा हाम्रो धैर्यताको बाँध टुटिसकेको छ,’ रोेकाले भने ।दाङकै डिल्लिराज सुवेदी पनि अहिलेसम्म परिवारलाई बचत फिर्ता हुन्छ भनेर फकाउँदै आए पनि अब भने कुनै उपाय नरहेको बताउँछन् ।

‘हामी परिवारलाई सम्झाउनै नसक्ने स्थितिमा छौँ । घरको जग हालेर बैंकमा गरेको बचतबाट घर ठड्याउँला भन्ने सपना बुनेको परिवारलाई १८ महिनासम्म पनि बचत फिर्ता नपाउँदा कसरी सम्झाउने । बैंकको ढिलाइकै कारण मानसिक तनाव उच्च छ ।’ सुवेदीले भने । यसबीचमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेरै आफूहरुको समस्याबारे अवगत गराएकोमा उनले पनि हालसम्म कुनै निकास दिन नसकेको पीडित बचतकर्ताहरु बताउँछन् ।

सञ्चालक तथा कर्मचारी मिलेर बचत हिनामिना गरेपछि समस्यामा परेको र हाल नेपाल राष्ट्र बैंकले सञ्चालन गरिरहेको कर्णाली विकास बैंकका बचतकर्ताहरु अधैर्य हुन थालेका हुन् । दुःख गरेर बैंकमा जम्मा गरेको रकम फिर्ता नपाउँदा जीवन कष्टकर भइरहेको र राष्ट्र बैंकले पनि लामो समय हुँदासम्म पनि कुनै निकास दिन नसकेपछि बचतकर्ताहरु आत्तिएर पटक पटक बैंक घेराउ गर्न पुगेका छन् । बैंक घेर्न आएकाहरुमा वृद्धवृद्धहरुमेत थिए ।

उनीहरुले छोराछोरीले दिएको र आफ्नो जीवनभर गरेको कमाइको बचत बिरामी पर्दा पनि प्रयोग गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरे । बैंकको व्यवस्थापनको नेतृत्व गरिरहेका राष्ट्र बैंकका उपनिर्देशक टीकाराम खतिवडा गुनासो सुन्ने भन्दै आएपछि बचतकर्ताहरुले यथाशीघ्र उचित निर्णमा पुग्न र जनतालाई राहत दिन आग्रह गरेका थिए । खतिवडाले आफू नेतृत्वको टोलीले लामो अध्ययन, छलफल तथा मिहिनेतपछि बैंक पनि रहने र बचतकर्ताहरु पनि सेयरधनी बन्ने गरी निकास दिने प्रस्ताव अघि सारेको तर उक्त विकल्पले काम नगरेको बताए ।

अब दोस्रो विकल्प स्वरुप नयाँ लगानीकर्ता खोज्ने र पुराना अभियोग नलागेका सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने गरी तयारी अघि बढाइएको उनले बताए । यसका लागि अझै कम्तीमा पाँचदेखि छ महिना लाग्ने उनको भनाइ छ । ‘करिब तीन महिनापछि हामी नयाँ लगानीकर्ता आह्वानको सूचना जारी गर्न सक्छौँ ।’ खतिवडाले भने ।
कम्तीमा पछिल्लो ६ महिनायता बचतकर्ताहरुले बैंकबाट बचत फिर्ता पाएका छैनन् । अहिले पनि साउन ११ गतेसम्म बचत फिर्ता गर्न नसकिने सूचना बैंकबाट जारी भएको छ । बचत फिर्ता नपाउँदा र बैंकको निकास पनि ननिस्कँदा बचतकर्ताहरु आत्तिएका छन् ।

अहिले बैंकमा निक्षेप फिर्ता गर्ने तरलता नहुँदा बचतकर्ताहरुलाई बचत फिर्ता दिन नसकिएको खतिवडा बताउँछन् । बैंक घोटाला प्रकरणमा सवा तीन अर्ब रुपैयाँ बिगो दाबी गर्दै गत साउन १४ गते १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर गरिएको मुद्दा विचाराधीन छ । बचतकर्ताहरुले अदालतले पनि मुद्दाको सुनु्वाइलाई प्राथमिकता दिएर शीघ्र निकास दिनुपर्ने बताएका छन् ।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर गरिएको मुद्दामा हालसम्म पनि सुनुवाइ सुरु हुन सकेको छैन । गत वर्ष साउन १४ गते सवा तीन अर्ब रुपैयाँ बिगो दाबी गर्दै एक सय नौ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । अहिलेसम्म सबै प्रतिवादीहरु हाजिर नभैसकेकोले सुनुवाइ सुरु नभएको अदालतले जनाएको छ । अहिलेसम्म करिब ३५ जना मात्रै प्रतिवादीहरु हाजिर भएका छन् । मुद्दाको सुनुवाइका लागि सबै प्रतिवादीहरु हाजिर हुनुपर्छ । हाजिर नभए पनि उनीहरुको नाममा म्याद तामेली भइसकेपछि मात्रै सुनुवाइ अघि बढ्छ ।

बैंकलाई समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकको टोलीले सम्हालेको २०८१ पुस ११ गतेयता ४७ करोड ९४ लाख बचत भने फिर्ता गरिएको बैंकले जानकारी दिएको छ । बैंकमा चार अर्ब ३० करोड बचत रहेको थियो । बैंकको सबै सम्पत्ति बिक्री गर्दा पनि निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकिने अवस्था छ । किनकी बैंकमा चार अर्ब ३० करोड निक्षेप रहे पनि बैंकको सबै सम्पत्ति भने तीन अर्ब ६५ करोड बराबरको मात्रै छ । त्यसैमाथि मुद्दाको सुनुवाइमा पनि ढिलाइ हुँदा, धेरैजसो प्रतिवादी पनि ऋणी रहेको र कर्जा असुली पनि हुन नसकेको राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन टिमले बताउँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार