कर्णालीमा अन्तिम दिनमै डेढ अर्बभन्दा बढी भुक्तानी



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२–०८३ को अन्तिम दिन मात्रै डेढ अर्ब बढी रकम भुक्तानी गर्दै वर्षभरीको खर्च विवरण टुंग्याएको छ । आर्थिक वर्षको अन्तिम समयमा गरिएको तीव्र भुक्तानीले प्रदेश सरकारको बजेट कार्यान्वयनको पुरानै प्रवृत्तिलाई पुनः उजागर गरेको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार, आर्थिक वर्षको अन्तिम दिन मात्रै एक अर्ब ५८ करोड २२ लाख ८८ हजार रूपैयाँँ भुक्तानी गरिएको हो ।

यो रकम असार २५ गते सम्मको भुक्तानी हो । लेखा अधिकृत ललित थापाका अनुसार प्रदेश सरकारले १८ अर्ब ९८ करोड ८९ लाख २० हजार रूपैयाँँ खर्च गरिसकेको छ । त्यसपछि अन्तिम दिनमा गरिएको भुक्तानीसँगै कूल खर्च २० अर्ब ५७ करोड १२ लाख आठ हजार रूपैयाँँ पुगेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रूपैयाँँको बजेट ल्याएको थियो । वर्षभरिमा कूल बजेटको ६१.९७ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।

सरकारले कूल खर्चको करिब २५ प्रतिशत रकम असार महिनाको पहिलो २५ दिनमै खर्च गरेको हो । जसले बजेट कार्यान्वयन अन्तिम समयमा केन्द्रित हुने प्रवृत्तिलाई पुनः पुष्टि गरेको छ ।खर्चको विवरणअनुसार चालूतर्फको बजेट कार्यान्वयन अपेक्षाकृत राम्रो देखिएको छ । सरकारले चालूतर्फ ७३.४८ प्रतिशत बजेट खर्च गरेको छ, भने पूँजीगत अर्थात् विकासतर्फको बजेट कार्यान्वयन ५५.७४ प्रतिशतमा सीमित भएको छ ।

प्रदेश सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड ९३ लाख रूपैयाँँ बजेट विनियोजन गरेको थियो । तर त्यसमध्ये ११ अर्ब १३ करोड ९३ लाख रूपैयाँँ मात्रै खर्च हुन सकेको छ । बाँकी ८ अर्ब ८४ करोड ५० लाख रूपैयाँँ बराबरको विकास बजेट खर्च हुन नसकी फ्रिज भएको छ । विकास बजेटको ठूलो हिस्सा खर्च हुन नसक्नु र अन्तिम समयमा ठूलो रकम भुक्तानी गर्नुलाई वित्तिय अनुसाशनसँग जोडिएको छ ।

असारको अन्त्यतिर खर्चको चाप बढ्नुले कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको प्रभावकारिता, योजना व्यवस्थापन र विकास आयोजनाको कार्यान्वयन क्षमतामाथि पनि प्रश्न उठेको छ । आर्थिक अनुशासन, समयमै योजना सम्पन्न गर्ने क्षमता र खर्चको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता यस वर्षको खर्च विवरणले पनि स्पष्ट देखाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार