नेपालगनज (बाँके) ।
बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका कानुनी विवादमा परेका बालकहरू (बालबिज्याइँकर्ता)लाई कानुनी साक्षरता र योग प्रशिक्षण प्रदान गरिएको छ । सुधारगृहको आयोजनामा बिहीबार उनीहरूलाई मानसिक स्वास्थ्य सुदृढीकरण र कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले योग, ध्यान, प्राणायाम तथा कानुनी साक्षरता प्रदान गरिनुका साथै सुधारात्मक न्याय प्रणालीलाई व्यवहारमै प्रभावकारी बनाउने प्रयासस्वरुप उक्त कार्यक्रम गरिएको सुधारगृहले जनाएको छ ।
एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक तथा अधिवक्ता वसन्त गौतमले सहजीकरणमा गरेको उक्त कार्यक्रममा बालन्याय प्रणाली, बालबिज्याइँकर्ताको कानुनी अधिकार, अदालती प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र बालन्यायका सिद्धान्तबारे अभिमुखीकरण गरिएको थियो । त्यसअघि कानुनी विवादमा परेका बालकहरूलाई योग, ध्यान र प्राणायामका विभिन्न अभ्यास गराइएको थियो ।
सहभागी कानुनी विवादमा परेका बालबिज्याँकर्ताहरूले पहिलो पटक सामूहिक रूपमा योग र ध्यान गर्न पाउँदा उत्साहित भएको बताएका थिए । उनीहरूले गीत तथा कविता प्रस्तुत गर्दै आफ्ना भावनासमेत अभिव्यक्त गरेका थिए । सुधारगृहका अनुसार यस्ता गतिविधिले बालबालिकाको मानसिक तनाव कम गर्न, आत्मविश्वास बढाउन र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कानुनी साक्षरता सत्रमा उनीहरूले बालन्याय प्रणालीसँग सम्बन्धित विभिन्न जिज्ञासा र सुझाव पनि राखेका थिए । उनीहरूले उमेर मिल्दो वा आपसी सहमतिमा भएका शारीरिक सम्बन्धलाई विश्वव्यापी अभ्यासअनुसार फरक दृष्टिकोणबाट हेर्नुपर्ने, सामान्य गल्तीमा सुधारमुखी सजायको व्यवस्था हुनुपर्ने, डाइभर्सन, सजाय स्थगन, सजाय छुट र प्यारोलजस्ता कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरेका अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
उनका अनुसार उनीहरूले आफ्ना मुद्दाको सुनुवाइका क्रममा अदालतमा उपस्थित हुन पाउनुपर्ने तथा सुधारगृहमा यस्ता ज्ञानमूलक र मानसिक स्वास्थ्य प्रवर्धन गर्ने कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने मागसमेत गरेका थिए । सुधारगृहका प्रमुख किशोर शर्माले योग, ध्यान र प्राणायामले कानुनी विवादमा परेका बालकहरूलाई सकारात्मक ऊर्जा, अनुशासन र आत्मविश्वास वृद्धि गर्न सहयोग पुगेको बताउँदै सुधारगृहलाई बालमैत्री र सुधारात्मक केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
अधिवक्ता गौतमले देशभरका बाल सुधारगृहमा देखिने तनाव, झडप र तोडफोडजस्ता समस्यालाई न्यूनीकरण गर्न योग, ध्यान, खेलकुद र कानुनी साक्षरता प्रभावकारी माध्यम बन्नसक्ने बताए । बालबिज्याइँकर्तालाई केवल नियन्त्रणमा राखेर मात्र सुधार सम्भव नहुने भन्दै उनीहरूलाई आत्मचिन्तन, सकारात्मक सोच र जिम्मेवार जीवनतर्फ उन्मुख गराउन यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।
सुधारगृह प्रशासनका अनुसार हाल १२० जनाको क्षमता रहेको जयेन्दु बाल सुधारगृहमा २१ प्रकारका कसुरका १७९ जना बालक आश्रित छन् । तीमध्ये ८० जना १८ वर्षभन्दा माथिका र ९९ जना १८ वर्षमुनिका छन् । ८५ जनाको अदालतबाट फैसला भइसकेको छ भने ९४ जना पुर्पक्षमा रहेका छन् । सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी ७४ मुद्दामा ७६ जना बालक रहेका छन् । त्यसपछि कर्तव्य ज्यान, लागूऔषध, सामूहिक जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी, डाँका, सवारी ज्यानलगायत गम्भीर प्रकृतिका मुद्दामा बालकहरू कानुनी प्रक्रियामा छन् ।
जेनजी आन्दोलनका क्रममा यहाँबाट भागेका ११५ जनामध्ये ४७ जना बालबिज्याइँकर्ता अझै फरार रहेका छन् । जयेन्दु बाल सुधारगृहले योग, ध्यान र कानुनी साक्षरतालाई सुधारात्मक न्यायको माध्यमका रूपमा अघि बढाएको यो अभ्यास अन्य बाल सुधारगृहका लागि पनि अनुकरणीय बन्नसक्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्