शारदाको जर्खु र खैरावाङ लिफ्ट खानेपानीको काम तीव्र



नन्दराम जैशी । सुर्खेत ।

सल्यानको शारदा नगरपालिकाका अधिकांश बस्तीमा वर्षौँदेखि पानीका लागि संघर्ष गर्नुपर्ने बाध्यता छ । अधिकांश बस्तीका महिलाहरू बिहान उज्यालो नहुँदै गाग्री बोकेर मुहानतिर लाग्छन्, अनी घण्टौँ लाइन बसेर एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता छ । गर्मीयाममा झन् चर्किने खानेपानी अभाव यहाँका नागरिकका लागि सामान्य जीवनशैलीजस्तै बनिसकेको थियो । तर अहिले शारदा नगरपालिकामा पानीको कथा बदल्ने प्रयास भइरहेको छ ।

दुर्गम भौगोलिक अवस्थाबीच लिफ्ट प्रविधिमार्फत पानी घर–घर पु¥याउने महत्वाकांक्षी योजना तीव्र गतिमा निर्माण भइरहेका छन् । यी आयोजना हुन्, जर्खु र खैरावाङ लिफ्ट खानेपानी आयोजना । यी आयोजना सम्पन्न भएपछि नगरका झण्डै १७ हजार नागरिकले पहिलो पटक नियमित, सुरक्षित र दिगो खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । शारदा नगरपालिकाको भौगोलिक बनावट नै खानेपानी व्यवस्थापनको सबैभन्दा ठूलो चुनौती रहेको नगरप्रमुख प्रकाश भण्डारीले बताए ।

उनका अनुसार निर्वाचित भएदेखि नै सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ ठूला र साना लिफ्ट खानेपानी आयोजना अघि बढाइएको हो । आगामी एक वर्षभित्र नगरका सबै नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनले बताए । ‘अधिकांश बस्ती नदी र मुहानभन्दा धेरै माथि रहेका कारण परम्परागत गुरुत्वाकर्षण प्रणालीबाट पानी पु¥याउन सम्भव छैन । यही कारण नगरले लिफ्ट प्रविधिलाई दीर्घकालीन समाधानका रूपमा रोजेको हो,’ उनले भने, ‘संघीय खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत कार्यान्वयन भइरहेको जर्खु लिफ्टिङ खानेपानी आयोजना अहिले नगरकै सबैभन्दा ठूलो पूर्वाधार परियोजनामध्ये एक हो ।’

करिब ४२ करोड रूपैयाँँ लागतको यो आयोजनाले नगरका वडा नम्बर ४, ५, ६, ८, ९ र १० सहित सात वडाका दुई हजार ६८५ घरधुरीका १० हजार ७४० नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने नगरपालिकाले जनाएको छ । हालसम्म आयोजनाको ३५ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको आयोजना कार्यान्वयन इकाईका परियोजना व्यवस्थापक दीपक महर्जनले बताए । उनका अनुसार वडा नम्बर १० स्थित जर्खु मुहानबाट पाँच चरणमा लिफ्ट प्रविधिको प्रयोग गरी पानी सिद्धपार्कमा निर्माणाधीन चार लाख लिटर क्षमताको मुख्य ट्याङ्कीमा पु¥याइनेछ ।

त्यहाँबाट वितरण प्रणालीमार्फत प्रत्येक घरधुरीसम्म पानी पुग्नेछ । मुहानदेखि मुख्य ट्याङ्कीसम्म ५.५ किलोमिटर उच्च गुणस्तरको डीआई पाइप बिछ्याइँदैछ । त्यही मार्गमा पाँच स्थानमा दुई–दुई लाख लिटर क्षमताका मध्यवर्ती ट्याङ्की निर्माण भइरहेका छन् । घर–घर पानी पु¥याउन ९९ किलोमिटर पाइप सञ्जाल विस्तार गरिने योजनामध्ये ४२ किलोमिटर पाइप बिछ्याइसकिएको महर्जनले बताए । आयोजनाले ११ केभी विद्युत् प्रयोग गरी प्रतिक्षण ११ लिटर पानी लिफ्ट गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

यस्तै जर्खु आयोजनाले नसमेटिएका वडा नम्बर १, ११ र १२ का नागरिकका लागि अर्को ठूलो योजना पनि अघि बढेको छ । २५ करोड ४३ लाख रूपैयाँँ लागतको खैरावाङ सामुदायिक खानेपानी आयोजना गत वैशाखदेखि निर्माणाधीन छ । आगामी २०८४ भदौसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । वडा नम्बर १ स्थित शारदा नदी किनारमा बोरिङ गरी करिब साढे पाँच किलोमिटर पाइपमार्फत मुख्य ट्याङ्कीमा पानी पु¥याइनेछ । त्यसपछि ५२ किलोमिटर वितरण सञ्जालमार्फत एक हजार १९९ घरधुरीका ६ हजार ५३८ नागरिकलाई नियमित खानेपानी सेवा उपलब्ध गराउने तयारी छ ।

तीन तहको साझेदारी, विश्व बैंकको साथ

यी आयोजना संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको लागत साझेदारीमा निर्माण भइरहेका नमुना परियोजनाका रूपमा पनि हेरिएका छन् । जर्खु आयोजनामा ८० प्रतिशत संघीय सरकार, १३ प्रतिशत कर्णाली प्रदेश सरकार र सात प्रतिशत शारदा नगरपालिकाको लागत साझेदारी रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ मा खानेपानी तथा सरसफाइ क्षेत्रमा मात्रै ४५ करोड ७२ लाख ५० हजार रूपैयाँँ विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले पनि जर्खु तथा भेरी लिफ्ट खानेपानी आयोजनाका लागि ३० करोड रूपैयाँँ बजेट व्यवस्था गरेको छ । यी आयोजना विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कार्यान्वयन भइरहेका छन् । आर्थिक वर्ष २०७८–०७९ देखि सुरु भएको यो कार्यक्रम कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहमा लागू छ । यसको कूल लागत एक सय मिलियन अमेरिकी डलर रहेको छ, जसमध्ये ८० मिलियन अमेरिकी डलर विश्व बैंकको सहुलियतपूर्ण ऋणका रूपमा लगानी भइरहेको छ ।

खानेपानी आयोजनाले नागरिकको स्वास्थ्य, शिक्षा, समय व्यवस्थापन, सरसफाइ र आर्थिक उत्पादनशीलतासँग प्रत्यक्ष सम्बन्ध राख्ने नगरपालिकाले जनाएको छ । विशेषगरी महिलाले दैनिक पानी बोक्न खर्च गर्ने समय बच्नेछ । विद्यालय जाने बालबालिकाले पानी ल्याउनुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् भने सुरक्षित खानेपानी उपलब्ध हुँदा पानीजन्य रोगसमेत घट्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख भण्डारीका अनुसार पछिल्ला चार वर्षमा शारदा नगरपालिकामा खानेपानी क्षेत्रमा मात्रै एक अर्ब रूपैयाँँभन्दा बढी लगानी भइसकेको वा निर्माणाधीन अवस्थामा रहेको छ । सीमित स्रोत–साधनका बीच पनि शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलाई प्राथमिकतामा राखेर लगानी बढाइएको बताउँदै अबको एक वर्षभित्र नगरका सबै नागरिकलाई स्वच्छ तथा दिगो खानेपानी सेवाको पहुँचमा पु¥याउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘यदी निर्माण कार्य निर्धारित समयमै सम्पन्न भयो भने, वर्षौँदेखि गाग्री बोकेर पानी खोज्दै हिँड्न बाध्य शारदावासीका लागि यो पूर्वाधार निर्माणको उपलब्धि हुनेछैन, जीवनशैली परिवर्तन गर्ने ऐतिहासिक मोड पनि सावित हुनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार