राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय स्थापना



कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय कोहलपुर बाँकेको समन्वयमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको मंगलबार एक कार्यक्रमकाबीच सेवा औपचारिक रूपमा सञ्चालन गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलेले कार्यालयको औपचारिक रूपमा उद्घाटन गरेका थिए । कार्यालय सञ्चालनको पहिलो दिन नै राप्ती सोनारी गाउँपालिका–९ निवासी रोशनकुमार वलीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष पौडेलले अब राप्ती सोनारी गाउँपालिकाका नागरिकहरूले जग्गा दर्ता, नामसारी, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्न सकिने बताए । उनका अनुसार यसबाट सेवाग्राहीको समय, खर्च र सास्तीमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ ।

‘भूमि प्रशासन कार्यालय सञ्चालनमा आएको छ ।  यो राप्ती सोनारी र यहाँका स्थानीय नागरिकका लागि ठूलो उपलब्धि हो । अब भूमिसम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज रूपमा उपलब्ध हुनेछन्,’ अध्यक्ष पौडेलले भने । भूमि प्रशासन कार्यालयको स्थापना राप्ती सोनारीवासीका लागि ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।

अब नागरिकले सामान्य भूमिसम्बन्धी सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले बताइन् । स्थानीय तहमै सहज, छिटोछरितो र पारदर्शी सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित कार्यालय स्थापना भएको उनले बताइन् ।

उक्त कार्यक्रममा सहभागीहरूले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु नागरिकमैत्री शासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, भूमि प्रशासन कार्यालय कोहलपुरका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार