कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित टेलिकम रोड क्षेत्रमा सडक विस्तारका क्रममा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । कोहलपुर नगर विकास समितिको वार्षिक कार्यक्रमअनुसार त्यहाँ हाल सडक र नाली विस्तारको काम भइरहेको छ । नाली निर्माण र सडक कालोपत्रेका क्रममा सडक हिलाम्मे हुँदा दैनिक पैदल तथा सवारीमा आवतजावत गर्ने नागरिकहरूलाई सास्ती भएको हो ।
उक्त सडक कोहलपुर नगर विकास समितिमार्फत ठेक्कामार्फत सडक विस्तार भइरहेको छ । कोहलपुर–नेपालगन्ज सडकखण्डको बायाँतर्फ हाइवे हुँदै बागेश्वरी यातायात प्रालिको कार्यालयसम्म नाली विस्तार र सडक कालोपत्रे भइरहेको छ । निर्माण कम्पनी खुसी विल्डर्सका उमेश शाहीका अनुसार उक्त क्षेत्रमा २३१ मिटर सडक कालोपत्रे हुने चरणमा छ । उनले कालोपत्रे गर्नका लागि सडक खनेर काम गर्दा मंगलबार परेका पानीका कारण माटो हिलाम्मे हुँदा हिँडडुल गर्न केही असहज भएको बताए ।
उक्त समस्या लामो समय नरहने र आफूले निर्धारित समयभन्दा छिटो काम सम्पन्न गर्नका लागि दैनिक दु्रत गतिमा काम गरिरहेको शाहीले मिसन टुडेलाई बताए । ‘त्यहाँ केही विद्युत्का पोलहरू व्यवस्थापन गर्नुपर्ने थियो । कार्यालयसँग समन्वय गरेर हटाइएको छ । पोल हाल्न केही समय ढिलो हुँदा ठ्याक्कै पानी परिदियो । नत्र यस्तो समस्या आउने थिएन । तर हामीले कामी दु्रत गतिमा निर्धारित समयमै सक्ने गरेर गरिरहेका छौँ,’ उनले भने ।
कोहलपुर नगर विकास समिति र कम्पनीले ठेक्का प्रक्रियामार्फत नगर विकास क्षेत्रका शवदाह गृह क्षेत्र, विद्युत् रोड, एनटीभी रोड र रेडक्रस रोडमा कालोपत्रेको काम गरिरहेको उनको भनाइ छ । उक्त योजनाका लागि नगर विकास समिति र कम्पनीबीच २०८२ चैतमा सम्झौता भएको थियो । सम्झौताअनुसार हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । सबै क्षेत्र गरेर कूल २४ सय मिटर सडक क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।
सोहीअनुसार हालसम्म शवदाह गृह जाने बाटोमा ६ सय मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको उनले बताए । यस्तै, एनटीभी रोड क्षेत्रमा ५८० मिटर, रेडक्रस क्षेत्रमा १२० मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । नगर विकास समितिसँगको सहकार्यमा आफूहरूले छिटो काम गरिरहेको उनले दाबी गरे । सम्झौताअनुसार २०८३ असार ३० गतेभित्र सम्पूर्ण काम सकिसक्नुपर्ने हुन्छ । शाहीले आफूले असार २५ गतेभित्र सम्पूर्ण काम सक्ने गरेर काम गरिरहेको दाबी गरेका छन् ।
कोहलपुर वडा नम्बर ११ की वडाअध्यक्ष कल्पना शर्माले नगर विकास क्षेत्रमा नगर विकास समितिद्वारा सडक विस्तार तथा कालोपत्रेको काम भइरहेको बताइन् । उनका अनुसार टेलिकम रोडमा अहिले सोही योजनाअनुसार कालोपत्रेको काम भइरहेको छ । सडक विस्तारका क्रममा बाटो खनेका कारण केही असहज भएको हुन सक्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्