काठमाडौँ ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका भट्ट कैलालीका बासिन्दा हुन्।
डा. भट्टले स्कट मार्केटमा विद्यावारिधि गरेका छन्। उनले नेपाल सरकारको रुग्ण उद्योग पुनर्स्थापना समितिको सदस्य भएर पनि काम गरिसकेका छन्।
बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिश गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो। समितिले गत वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए।
तीमध्येबाट सिफारिस समितिले भट्टसहित डा. नवराज अधिकारी, विनयदेव आचार्य तथा मुकुन्द कुमार क्षेत्रीको नाम संक्षिप्त सूचीमा राखेको थियो। यीमध्येबाट मन्त्रिपरिषद्मा ३ जनाको नाम गएको थियो। जसबाट भट्टलाई सरकारले अध्यक्ष नियुक्त गरेको हो।









प्रतिक्रिया दिनुहोस्