25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नवजात शिशु मृत्युको प्रमुख कारण सङ्क्रमण, ४० प्रतिशत गर्भवती अझै घरमै सुत्केरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७२  

child mortality
काठमाडौँ– सरकारले नवजात शिशुको मृत्युदर रोक्न विभिन्न कार्यक्रम ल्याए पनि मृत्युदरमा कमी आएको छैन ।

विभिन्न कारणमध्ये नवजात शिशुको मृत्युको मुख्य कारण भने सङ्क्रमण देखिएको छ । बाल स्वास्थ्य महाशाखा एकीकृत व्यवस्थापन तथा नवजात शिशु शाखाका प्रमुख चूडामणि भण्डारी अझै पनि स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने महिलाको सङ्ख्या बढी भएकाले सङ्क्रमणको बढी प्रभाव देखिएको बताउछन् ।
उनले भने— अहिले पनि ५०/६० प्रतिशत मात्र गर्भवतीहरु अस्पतालमा सुत्केरी हुन्छन्, बाँकी ४० प्रतिशत गर्भवती अझै पनि घरमै सुत्केरी हुने भएकाले सङ्क्रमणबाट हुने नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन ।’’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक दुई घन्टामा करिब तीन जना नवजात शिशुको मृत्यु हुने गरेको छ छ । वर्षमा १३ हजार नवजात शिशुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका नवजात शिशु विभागका प्रमुख डा कल्पना उपाध्याय सुवेदीका अनुसार नेपालमा नवजात शिशुको मृत्युको मुख्य कारण सङ्क्रमण नै हो भने अरु कारणमा जन्मँदा निसास्सिनु, कम तौल हुनु र शीताङ्ग हुन् ।

उनी भन्छिन्, — ‘‘नवजात शिशु बचाउन धेरै कार्यक्रम आएका छन्, ती सबै कार्यक्रम अस्पताल केन्द्रित मात्र छन् तर हाम्रो देशका धेरै सङ्ख्याका महिला अझै पनि घरैमा स्वास्थ्यकर्मी बिना बच्चा जन्माउँछन्, त्यहाँसम्म पुग्ने लक्षित कार्यक्रम अझै पनि आउन नसकेको अवस्था हो । ’’

बाल स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भीमसेन पन्त स्वास्थ्य संस्थामा प्रसूति तथा नियमित सुत्केरी जाँच गराएमा ११ हजार नवजात शिशुको ज्यान जोगाउन सकिने बताउछन् । तर सबै महिलालाई सुत्केरी हुन अस्पतालसम्म पु¥याउनु नै अहिलेको प्रमुख चुनौती हो ।

डा सुवेदीका अनुसार नवजात शिशुको नाभीमा बढी सङ्कक्रमण हुने गरेको पाइएको छ । त्यसैले सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा आई सुत्केरी गराउनुपर्ने विषयमा प्रचारप्रसार नभएको उनको भनाई छ ।

उनी भन्छिन्,— ‘‘सहरमै पनि बच्चा पाँच, छ दिन भएपछि केही समस्या देखिएमा मात्र अस्पताल आउनेको सङ्ख्या बढी छ, बच्चालाई न्यायो पारी राख्नुपर्छ, घाममा राख्नुपर्छ भन्ने कुराको सहरकै शिक्षित व्यक्तिले लागू नगरेको देखिन्छ ।’ गाउँमा सरसफाइ गर्ने, न्यायो पार्ने लगायत काम कमै हुन्छ, त्यसैले शिशु सङ्क्रमणका सिकार हुने गरेका स्वास्थ्यकर्मीहरु  बताउछन् ।

सरकारले गर्भवतीलाई स्वास्थ्य संस्था तथा अस्पतालमा सुत्केरी हुन आउन प्रेरित गर्न हिमाल, पहाड र तराईमा १५ सय, एक हजार र ५ सय रुपैंया यातायात खर्चस्वरुप दिने गरेको छ ।

आशातीत रुपमा नवजात शिशुको मृत्युदरलाई रोक्न नसकेपछि सरकारले समुदायमा आधारित नवजात शिशु कार्यक्रम र बालरोग एकीकृत व्यवस्थापन दुवै कार्यक्रमलाई जोडेर एक वर्षदेखि कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमले शिशुको मृत्युदर रोक्न प्रमुख रुपमा शिशुमा हुने सङ्क्रमण रोक्न आवश्यक देखिएको छ । डा सुवेदी भन्छन्, —‘‘सङ्क्रमण रोक्न स्वास्थ्य संस्थामा मात्र सुत्केरी गराउने र सफा औजारले नाभी काटी तुरुन्तै नाभी मलम लगाई सफा र सुख्खा राख्ने गर्नुपर्छ ।

तर घरैमा मात्र नभई अस्पतालमा पनि सङ्क्रमणबाट हुने मृत्युदर बढी रहेको डा सुवेदी बताउछन् । अस्पतालमा पनि अझ खतरापूर्ण कीटाणु हुने भएकाले यसलाई रोक्न पनि कार्यक्रम ल्याउनुपर्ने उनको आग्रह छ ।

सरकारले सन् २००९ देखि समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रम सुरु गरी नवजात शिशु मृत्युदर रोक्ने प्रयास गरेको छ । हरेक पाँच वर्षमा गरिने जनसाङ्ख्यिक सर्भेअनुसार नेपालमा  प्रति हजार ३३ रहेको नवजात शिशु मृत्युदरलाई प्रति हजार १६ मा झार्ने लक्ष्य लिइएको भए पनि अहिले २३ मा मात्र झार्न सकिएको छ ।

परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेका अनुसार नवजात शिशु मृत्यु्दर घटाउन नवजात शिशुको उपचार पनि निःशुल्क गर्न कार्यक्रम ल्याइएको छ । कार्यक्रम अन्तर्गत सबै स्वास्थ्य संस्थामा नवजात शिशुको उपचार गर्न आवश्यकतानुसार खर्चको व्यवस्था सबै जिल्लामा गरिएको जानकारी उहाँले दिनुभयो । रासस

प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७२     1:09:06 PM  |