आफैँ स्कुटी चलाएर अस्पताल पुगेकी युवतीको मृत्युपछि विवाद



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित एक निजी अस्पतालमा स्वास्थ्य चेकजाँचका लागि आफैँले स्कुटर चलाएर पुगेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि विवाद उत्पन्न भएको छ । मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले मृत्यु भएको बताउँदै छानबिन गरी दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताएका छन् भने अस्पतालले घटनाबारे छानबिनका गरिदिन निवेदन दिएको छ ।
नेपालगन्जको भुजईगाउँस्थित केयर सिटी हस्पिटलमा उपचारको लागि आफैँले स्कुटर चलाएर पुगेकी नेपालगन्ज– ४ की ३५ वर्षीया शिला श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । शिलाका परिवारजनले शिला पाठेघरको समस्याको उपचाका लागि अस्पताल पुगेकोमा चेकजाँच गर्नेक्रममा चिकित्सकले लापरबाही गर्दा उनको मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालले भने शिला नसाबाट औषधि दिएर हल्का बेहोस बनाई गरिने हिस्टेरोस्कोपी (हिस्टेरोस्कोपी अन्डर आइभिए) गर्नेक्रममा उनको फोक्सो सर्किएको, मुटुको चाल र रक्तचाप एक्कासि कम हुन गएको र बचाउने हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको बताएको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै शिलाको २ महिनाअघि पाठेघर र पेटभित्रका प्रजनन अंगहरूको समस्या पत्ता लगाउन गरिने एक प्रकारको दूरबिन प्रविधिबाट गरिने सर्जरी (डायग्नोस्टिक ल्याप्रोहिस्टेरोस्कोपी) पनि सोही अस्पतालमा गरिएको जानकारी दिएको छ ।
तर बिहीबार शिलाको हिस्टेरोस्कोपी अन्डर आइभिए गर्नेक्रममा बिरामीको मुटुको चाल र रक्तचाप कम भएकोमा सिपिआर गरेको, फोक्सोमा पाइप हालेर सास चलाउने प्रयास गरिएको अस्पतालले जनाएको छ । यसैगरी बेहोस पार्ने औषधिले हुनसक्ने एलर्जिक रियाक्सन र सर्किएको समस्याको पनि सम्भावित उपचार गरेको पनि अस्पतालले जनाएको छ ।
तर बिरामीका आफन्तहरूले उपचारको विषयमा आफूहरूलाई अस्पालले कुनै कुरा नबुझाएको र समस्या आइसकेपछि पनि यथार्थ जानकारी नदिएको आरोप लगाइरहेका छन् । उनीहरूले अस्पतालले दिएको उपचारको विवरणमा पनि असहमति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले छानबिन गरी यथार्थ सार्वजनिक नभएसम्म शव नउठाउने अडान लिएका छन् । शिलाको उपचार डा. राजन महतको नेतृत्वमा भइरहेको थियो ।
विवाद उत्पन्न भएपछि अस्पतालमा बिरामीका आफन्त र अस्पताल प्रशासनबीच छलफलमा चिकित्सक डा. विनोद कर्ण र डा. प्रतिक श्रेष्ठलगायत पनि सहभागी थिए । छलफलमा सहभागी डा. कर्णले बेहोस पार्ने औषधिले कोही कोहीलाई एलर्जिक रिएक्शन गर्नसक्ने र त्यस्तोबेला जटिलता आउनसक्ने बताए । तर, घटनाबारे कुनै पनि निश्कर्ष निकाल्नुअघि विस्तृत छानबिन भने आवश्यक रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार