म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती



म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए।

६ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताउनुभएका उहाँले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गर्नुभएको थियो । अहिले घर फर्किएर रु दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए । “अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु”, उनले भने ।

गाजने समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा छ । पौडेलका अनुसार भारतको हिमाञ्चलबाट ‘रेड डेलिसियस’, गाला, ‘जोनाप्रिन्स’, ‘चकलेटी’ जातका स्याउका कलमी बिरुवा ल्याएर गत मङ्सिर मा रोप्नुभएको थियो । कलमी बिरुवा भएकाले केही बोटमा यसपालीनै फल लागेको छ । गाजने र धवलागिरी गाउँपालिकाको गुर्जामा घरायसी उपभोगका लागि स्याउ उत्पादन भएपनि व्यावसायिक रुपमा भने पहिलो पटक सुरु गरिएको हो ।

बगैँचामा झारपात उम्रन नदिनका लागि प्लास्टिकको छापो हालेर ‘मल्चिङ’ गरिएको छ । स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो । करिब तीन रोपनी पाखोबारी बाँझो थियो । चार वर्ष हुलाकमा काम गर्नुभएका ५१ वर्षीय पौडेलले रोजगारीका सिलसिलामा करिब छ वर्ष रुकुममा सहायक लेखापालका रुपमा काम गरेका थिए ।

“तलबभत्ताले आफु मात्रै पालिने अवस्था आएपछि सहायक लेखापालको स्थायी जागिर छाडेर इराक गएँ । त्यहाँ छ वर्ष काम गरे,” उनले भने । केही समय मासु पसल र केही समय शैक्षिक परामर्श सञ्चालन गर्नुभएका उहाँले २०७७ सालमा रु २५ लाख लगानी गरेर बोयर जातको बाख्रा पालन गर्नुभएको थियो । तर अपेक्षाकृत रुपमा सफलता हात नपरेपछि उहाँले केही समय भेडापालन पनि गरे ।

पछिल्लो समय पोखरामा रेष्टुरेष्ट व्यवसाय गरिरहेका छोरा प्रविनको योजना अनुसार आफूले स्याउ खेती सुरु गरेको उनको भनाइ छ । उनले स्याउ खेतीका साथै २५ वटा भेडा, दुई वटा भैसी र एउटा गाई पनि पाल्नुभएको छ भने एक जनालाई नियमित जागिर पनि दिए।

कृषि पर्यटनको अवधारणा

गाजनेमा रहेको धार्मिक र ऐतिहाँसिक स्थल जगन्नाथ मन्दिर दर्शन तथा गुफाको डाँडाबाट दृष्य अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर स्याउ बारीसँगै ‘होमस्टे’ सञ्चालन गर्ने योजना रहेको उनले बताए। मन्दिर दर्शनका लागि आएका भक्तजन र गुफाडाँडा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी कृषि पर्यटनको अवधारणामा आगामी दसैँदेखि होमस्टे सञ्चालनको लक्ष्य रहेको उनको भनाइ छ ।

यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी हिमाल, म्याग्दी, पर्वत र बागलुङका बस्तीह देख्न सकिन्छ । तत्कालीन बाइसे चौबिसेअन्र्तगत पर्वत राजको ग्रिमकालीन दरबार रहेको ढोलथान पनि गाजनेको नजिकै पर्छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार