कोहलपुरमा आजदेखि ‘प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३’ सुरु हुँदैछ । जेठ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ ‘ख’अन्तर्गत कोहलपुर नगरपालिका र राप्ती सोनारी वडा नम्बर ८ र ९ का सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहनेछ ।
शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
समाज विकासमा राजनैतिक, सामाजिक र सांस्कृतिक परिवर्तनले भूमिका खेलेको विगत र वर्तमान साक्षी छ । ती परिवर्तनहरूबाट हुने संरचनात्मक फेरबदल र उतारचढावमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्र अछुतो छैन । नेपालको सन्दर्भमा विभिन्न परिवर्तनमा सबै क्षेत्रमा सरकारात्मक र नकारात्मक दुवै प्रभाव परेका छन् । विश्वका धेरै देश खेलकुदकै कारणले प्रख्यात भएका उदाहरण छन् ।
नेपालमा राज्यस्तरबाट खेलकुद क्षेत्रमा जुन रूपमा लगानी र विकास हुनुपर्ने हो त्यसो भएको देखिँदैन । संघीय संरचनामा संघ, प्रदेश र स्थानीय सरकार छन् । संविधानमै स्थानीय तहलाई जनताका जनसरोकारका असीमित अधिकारका साथै शिक्षा, स्वास्थ्य तथा खेलकुद व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ । सोहीअनुसार स्थानीय सरकारहरूले विशेषतः खेलकुदमा लगानी गर्नुका साथै खेलकुदका गतिविधि समेत सञ्चालन भइरहेका छन् ।
सिंहदरबारमा केन्द्रिकृत अधिकार जनताका घरआँगनमै पुगेपछि खेलकुद क्षेत्रसमेत लाभान्वित भएकोमा दुईमत छैन् । खेलकुद प्रतियोगिताको माध्यमबाट नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूका छात्र, स–साना बालबालिका र तन्नेरीहरूको खेल कौशल प्रदर्शन गराई पहिचान स्थापित गर्ने उद्देश्यसहित आजदेखि सुरु हुँदैछ, ‘प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३’ ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित सुरु भएको प्रतियोगिता जेठ ६ गतेसम्म सञ्चालन हुनेछ । जुन प्रतियोगिता लुम्बिनी प्रदेश, बाँके निर्वाचन क्षेत्र नं. १ ‘ख’अन्तर्गत माध्यमिक तहमा सञ्चालित विद्यालयहरूबीच प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रमा कोहलपुर नगरपालिका र राप्ती सोनारी वडा नम्बर ८ र ९ पर्दछन् ।
प्रतियोगिता सामाजिक विकास डिभिजन कार्यालय बाँकेले आयोजना गरेको हो । प्रतियोगिताको व्यवस्थापन शिक्षक महासंघ कोहलपुर र राप्ती सोनारी गाउँपालिका कमिटीले गर्नेछन् । सामाजिक विकास डिभिजन कार्यालयले बाँके निर्वाचन क्षेत्र नं. १ ‘ख’ प्रदेससभा सदस्य दुर्गाप्रसाद चौधरीको पहलद्वारा लुम्बिनी प्रदेश संसद् कोषबाट बजेट विनियोजन भएको जनाएको छ ।
२०८२ चैत ३० का दिन लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा बसेको सरोकारवालाहरूको बैठकले ‘प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३’ सञ्चालनको लागि मूल समितिलाई जिम्मा दिने निर्णय गरेको थियो ।
आज दिउँसो ३ बजे एक भव्य समारोहका बीच प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३’ को कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको पहिलो दिन उद्घाटनसँगै एउटा खेल हुने सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषिराज शर्माले बताए ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताएका थिए । प्रतियोगितामा ३६ विद्यालयका ५७६ जना खेलाडी सहभागी हुने उनले जानकारी दिए । प्रतियोगितामा भाग लिने खेलाडी २०६७ वैशाख २८ गतेपछि र २०७० वैशाख २८ गते अघि जन्मिएका हुनुपर्ने नियम रहेको कार्यालय प्रमुख शर्माको भनाइ थियो ।
१३ वर्षभन्दा माथि तथा १६ वर्षभन्दा कम उमेरका माध्यमिक तहमा अध्ययनरत २०८२ सालको विद्यालयको आईईएमआईएस दर्ता भएका र २०८२ सालको एसइई परीक्षा दिएका विद्यार्थीहरूले समेत भाग लिन पाउनेछन् । विद्यालयस्तरका स–साना बालबालिका मात्र नभई युवा तन्नेरीहरूलाई फुटबल खेलको माध्यमबाट आफ्नो पहिचान स्थापित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनी बताउँछन् ।
शर्माका अनुसार खेलकुदको माध्यमबाट विद्यालयस्तरमा रहेको फुटबल प्रतिभालाई जिल्ला, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाई स्थानीय तहदेखि नै देश विकासको मूल प्रवाहमा समाहित गराउने लक्ष्य रहेको छ । ‘फुटबललाई माध्यमिक तहबाटै खेलाडी उत्पादन गर्नेतिर लैजानुपर्छ भन्ने सोचेर यो प्रतियोगिता आयोजना गर्दैछौँ । खेलाडी उत्पादन हुने जुन उर्वर उमेर छ त्यो उमेर समूहमै खेल खेलाएनौँ भने खेलाडी उत्पादन हुने सम्भावना कम हुन्छ ।
फुटबल खेलका प्रतियोगिताहरू नभइरहेकोले फुटबलको व्यवस्थित प्रतियोगिता गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले भने । प्रतियोगिताबाट राम्रा र प्रतिभावान खेलाडीहरू उत्पादन भएर राष्ट्रियस्तरमै खेलाडीहरूको अभाव पूर्ति हुने खालका खेलाडीहरू उत्पादन हुन्छन् भन्ने अपेक्षा गरिएको बताए ।
अहिलेको चुनौतीपूर्ण मौसमलाई मध्यनजर गर्दैै विहान र साँझको समयमा मात्रै खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । हरेक दिन बिहान ७ बजे र दिउँसो ४ः३० बजेदेखि खेल सञ्चालन हुनेछन् । समूह चरणका सबै खेल कृष्ण माध्यमिक विद्यालय र गोरखा युनाइटेड पब्लिक स्कुल गरी दुई मैदानमा खेलाइनेछ । हरेक दिन बिहान र दिउँसो गरेर कूल चार खेल हुनेछन् । सेमिफाइनल चरणका र फाइनल खेल भने कृष्ण माध्यमिक विद्यालयमा हुने जनाइएको छ ।
खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरी बताउँछन् । उनका अनुसार खेलकुदका विधामध्ये फुटबल खेलमार्फत स्वास्थ्यसँग सम्बन्धित कुलतविरुद्ध स्वास्थ्यका लागि खेलकुदलाई जोड्न राज्यले लगानी गरेको छ ।
गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक केशरबहादुर आलेमगर राज्यको ठूलो लगानीमा आयोजना हुन लागेको प्रतियोगिताले यस क्षेत्रको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार विद्यालयस्तरमा फुटबल संस्कृति विकास गर्न प्रतियोगिता आयोजना हुन लागेको हो ।
शिक्षक महासंघ कोहलपुर नगरपालिकाका अध्यक्ष निमप्रकाश थापाले प्रतियोगितामार्फत खेलाडीहरूको प्रतिभा प्रस्फुटन हुने बताए । प्रतियोगिताको प्रथम पुरस्कार राशी ५ लाख, द्वितीय पुरस्कार ३ लाख र तृतीय पुरस्कार २ लाख रूपैयाँँ रहेको छ । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ जेठ ६ गतेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्