तनहुँ ।
व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो ।
उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए। दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
यस्ता रोगका बिरामीले नियमित औषधोपचार, परीक्षण तथा अस्पताल आवतजावतमा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उनको भनाइ छ ।“दीर्घरोगका बिरामीलाई उपचार खर्च जुटाउन निकै कठिन हुने अवस्था छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले यस्ता वर्गलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने ।
नगरपालिकाले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । दीर्घरोगीलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, निःशुल्क परीक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने प्रयास भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।









प्रतिक्रिया दिनुहोस्