काठमाण्डौ ।
फ्लाई दुबईले पोखरा–दुबई नियमित व्यावसायिक उडान शुरु गरेसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । हिजोदेखि शुरु भएको नियमित उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्नुका साथै पर्यटन, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा छ ।
दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा चहलपहल देखियो । जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा सर्वसाधारण विमानस्थल पुगेका थिए । दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट झण्डै साढे चार घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ जहाज हिजो बेलुकी ६ बजेर १९ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।
१ सय १३ जना यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो । पोखराबाट बेलुकी ७ बजेर ५५ मिनेटमा १५२ जना यात्रु लिएर जहाज दुबई फर्किएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित उडानले पोखरासहित सिङ्गो गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटक तथा यात्रुको आवागमन सहज हुनेछ ।
दुबई हुँदै युरोप, अमेरिका तथा अन्य अन्तरराष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई पनि यात्राअवधि र खर्च घटाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा–दुबई सिधा उडान पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न देशबाट पोखरा आउन सहज हुने बताउनुभयो । यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्ने उहाँको भनाइ छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयवासीले लामो समयदेखि गरेको संघर्ष स्मरण गर्दै नियमित अन्तरराष्ट्रिय उडान शुरु हुनु गौरवको विषय भएको बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पहिलो उडानबाट आएका यात्रुलाई नेपाल पर्यटन बोर्डको सहयोगमा विशेष उपहार प्रदान गरेको जानकारी दिनुभयो । नाट्टामा आबद्ध व्यवसायी, होटल तथा रेष्टुराँ व्यवसायीले पनि यात्रुलाई उपहार तथा प्रवद्र्धनात्मक सामग्री प्रदान गरेका थिए । पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि फ्लाई दुबईको उडानलाई लक्षित गरी छुट योजना ल्याएका छन् ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशतसम्म छुटको व्यवस्था छ । हालसम्म झण्डै ५० होटल छुट योजनामा सहभागी भएका छन् । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ । पहिलो उडानबाट आएका यात्रुका लागि पोखराका व्यवसायीले एक रातको बास तथा भोलिपल्ट बिहानको खाजा निःशुल्कसमेत गरेका थिए ।
फ्लाई दुबईले पोखरा–दुबई–पोखरा दैनिक उडान गर्ने तालिका रहेको छ । दुबईलाई प्रमुख अन्तरराष्ट्रिय हवाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्दै पोखराबाट अष्ट्रेलिया, युरोप, अमेरिका तथा अन्य गन्तव्यमा जाने यात्रुले सहज रूपमा यात्रा गर्न सक्ने बताइएको छ । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तरराष्ट्रिय चार्टर उडान भए पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।
सरकारले २०८५ साल भदौ मसान्तसम्म विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । फ्लाई दुबईको नियमित उडानसँगै पोखरालाई अन्तरराष्ट्रिय पर्यटन बजारसँग जोड्ने र पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने पर्यटन व्यवसायीको अपेक्षा छ ।









प्रतिक्रिया दिनुहोस्