कोहलपुर (बाँके) ।
चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधिका लागि आज आयोजक कोहलपुर रेसिङ साहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब उपाधिका लागि भिड्दैछन् । चौथो संस्करणको कोहलपुर गोल्डकपको लागि उपाधि भिडन्त आज दिउँसो ४ बजेदेखि कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सुरु हुनेछ ।
कोहलपुर रेसिङ साहारा क्लबले समूह चरणको खेलमा पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल पराजित गरेको थियो । कोहलपुर रेसिङ साहारा क्लबलाई जिताउन पेपे र फागुराम थारूले गोल गरेका थिए । पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरा, कोहलपुर रेसिङ साहारा क्लबसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
कोहलपुर रेसिङ साहारा क्लबलाई जिताउन पहिलो हाफको १६औँ मिनेटमा जर्सी नम्बर २४ का निराजन खत्री र ३८औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका ओम प्रकाश चौधरीले गोल गरेका थिए । दोस्रो हाफको ६८ औँ मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले सान्त्वना गोल गरेका थिए ।
उता, आयोजक क्लबसँग पहिलो सहभागितामै फाइनल खेल लागेको नेपाल पुलिस क्लबपनि अपराजित टोली हो । यसअघिका दुवै खेलमा नेपाल पुलिस क्लब विजयी भएको थियो । समूह चरणको पहिलो खेलमा साविक विजेता राइजिङ स्टार क्लब सुनवल नवलपरासीलाई २–० गोलले पराजित गरेको थियो ।
पुलिसलाई जिताउन खेलको २६औँ र ९१ औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ७० का आशिष थारूले गोल गरेका थिए । दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको थियो ।
उपाधि भिडन्त अघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्नको लागि खेल्ने दाबी गरेका छन् । दुवै टोलीका कप्तान र प्रमुख प्रशिक्षकले दुवै जित्ने लक्ष्यसहित खेल्ने दाबी गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर रेसिङ साहारा क्लबका कप्तान मुकेश घर्तीले आफ्नो टोली उपाधि जित्ने लक्ष्यसहित मैदान प्रवेश गर्ने बताए । उनका अनुसार नेपाल पुलिस क्लबपनि बलियो छ । तर आफूहरू कडा टक्कर दिन आफूहरू तयार रहेको उनको भनाइ थियो ।
नेपाल पुलिस क्लबका कप्तान रामवाजी लिम्बूले आयोजकसँग परेको घरेलु दर्शकको साथ बलियो हुने भएपनि आफूहरू अन्तिमसँग डटेर खेल्ने बताए । उनका अनुसार नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपमा पहिलो सहभागितामै फाइनल प्रवेश गरेको छ । उपाधि जितेर इतिहास रच्न तयार रहेको उनले बताए । कोहलपुर रेसिङ साहारा क्लबका मुख्य प्रशिक्षक जनक केसीले घरेलु मैदानमा उपाधि जितेर इतिहास रच्ने आफूहरूको प्रमुख लक्ष्य रहेको बताए ।
आफ्नो टिम ट्रफी उचाल्न सक्षम रहेको उनको भनाइ थियो । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक सुमन सुवेदी आफूहरू जित्नको लागि खेल्ने बताए । आयोजक कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले दुवै टोलीलाई जितका लागि बधाइ ज्ञापन गरे । प्रतियोगिताको उपाधि जित्ने टिमले आठ रूपैयाँ, उपाधि शिल्ड र ट्रफी प्राप्त गर्नेछन् । उपविजेतालाई चार लाख रूपैयाँ, शिल्ड र ट्रफी प्र्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्