पीएसजीले दोस्रोपटक जित्यो यूईएफए सुपर कपको उपाधि



काठमाडौँ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार साल्जबर्गमा भएको खेलमा पीएसजीका लागि डिजिरे डुएले दोस्रो हाफमा निर्णायक गोल गरे । ६१औँ मिनेटमा ओस्मान डेम्बेलेको पासमा डुएले गोल गरेका थिए । सुरुवातमा अफसाइड दिइएको गोल भिडिओ समीक्षा (भीएआर)पछि मान्यता दिइएको थियो ।

एस्टन भिल्लाका म्याटी क्यासले डुएलाई झिनो अन्तरले अनसाइडमा राखेको ठहर भएको थियो । पीएसजीले २०औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाको शक्तिशाली प्रहारमार्फत अग्रता लिएको थियो । तर भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले भलीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । माड्जोले फिफासँगको दर्तासम्बन्धी विवाद समाधान भएपछि प्रतियोगितामा खेल्ने अनुमति पाएका थिए । उनी यूईएफए सुपर कपको फाइनलमा सुरुवाती टोलीमा परेर गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । यससँगै पीएसजीले लगातार दोस्रोपटक सुपर कप जित्ने रियल मड्रिडपछि पहिलो टोलीको कीर्तिमान बनाएको छ । रियलले सन् २०१६ र २०१७ मा लगातार दुईपटक यो उपाधि जितेको थियो ।

च्याम्पियन्स लिग विजेता पीएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबीच हुने सुपर कपलाई युरोपेली फुटबल सिजनको सुरुवाती प्रमुख खेलका रूपमा लिइन्छ ।पीएसजीका लागि यो सिजन सम्भावित ६ उपाधिमध्ये पहिलो उपाधि हो । खेलमा सोमालियाका रेफ्री ओमार आर्टानले निर्णायकको भूमिका निर्वाह गरे । उनी सुपर कप फाइनल सञ्चालन गर्ने पहिलो गैरयुरोपेली रेफ्री बने । उनले खेलमा तीन पहेँलो कार्ड देखाएका थिए, ती सबै एस्टन भिल्लाका खेलाडीलाई दिइएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार