काठमाडौँ ।
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन् । उनीहरूले पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच विवाह गरेको पिपल म्यागजिनले जनाएको छ । विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन् ।
रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए । रोनाल्डो रियल मड्रिडमा खेलिरहेका बेला जर्जिना मड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन् । पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको जर्जिनाले यसअघि भोगसँगको अन्तर्वार्तामा बताएकी थिइन् । एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन् । सन् २०२२ मा उनीहरूले नवजात छोरालाई गुमाएका थिए ।
रोनाल्डोले गत नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तामा विश्वकपपछि विवाह गर्ने संकेत दिएका थिए । उनले हाँस्दै भनेका थिए, ‘हामी विश्वकपपछि विवाह गर्ने योजना बनाएका छौँ—ट्रफीसहित ।’ यद्यपि, २०२६ को विश्वकपमा पोर्चुगल स्पेनसँग अन्तिम १६ को खेलमा पराजित भएपछि रोनाल्डोको विश्वकप करिअर टुंगिएको अनुमान गरिएको छ । प्रतियोगितामा प्रदर्शन अपेक्षाअनुसार हुन नसके पनि उनले लगातार छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका थिए ।
४१ वर्षीय रोनाल्डो विश्वकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन् । उनी पाँच पटक बालोन डी’ओर विजेता हुन् । इन्स्टाग्राममा उनको ६७ करोड ८० लाखभन्दा बढी फलोअर्स छन्, जसले उनलाई विश्वकै सबैभन्दा बढी फलो गरिएका व्यक्ति बनाएको छ । ३२ वर्षीया जर्जिना भने अहिले मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् ।
रोनाल्डोसँगको सम्बन्धपछि उनको लोकप्रियता निकै बढेको छ । उनी पछिल्ला दुई मेट गाला कार्यक्रममा समेत सहभागी भइसकेकी छन् । जर्जिनाले सन् २०२५ अगस्टमा रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन् । उनले औँलामा लगाएको ठूलो हिराको औँठीको तस्वीर सार्वजनिक गरेकी थिइन् । हिरा करिब ३० देखि ४० क्यारेटको रहेको र यसको मूल्य ५० लाखदेखि १ करोड ५० लाख अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्