नन्दराम जैशी । सुुर्खेत ।
पूर्वसहमति भंग भएपछि डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईँ राजनीतिक रूपमा अलग बाटोमा उभिएका छन् । राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ, भने प्रसाईँले पनि छुट्टै राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । राणा नेतृत्वको दल ७९ सदस्यीय केन्द्रीय समिति सूचीसहित शुुक्रबार निर्वाचन आयोगमा दर्ता भएको हो ।
पार्टीका नेता सगुन लावतीका अनुसार राणा सभापति र अन्य सबै ७८ जना केन्द्रीय सदस्य रहने गरी प्रारम्भिक संरचना तय गरिएको छ । दलको प्रस्तावित निर्वाचन चिह्न त्रिभुज राखिएको छ ।पार्टीको विधानमा भने केन्द्रीय समिति ४५१ सदस्यीय हुने व्यवस्था गरिएको उनले बताए । यसले तत्कालका लागि सीमित सङ्ख्याको नेतृत्व संरचना बनाएर संगठन विस्तार गर्दै लैजाने तयारी रहेको उनको भनाइ छ । उनका अनुुसार राणा र प्रसाईँ पक्षबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि केही समयदेखि सहकार्यको प्रयास हुँदै आएको थियो ।
सोही अनुसार दुवै पक्षले जय नेपाल पार्टी गठन गर्ने सहमति पनि गरेका थिए । प्रारम्भिक समझदारीअनुसार राणा सभापति र प्रसाईँलाई पार्टीको सर्वोच्च नेतृत्वमा राख्ने समझदारी बनेको थियो । तर निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाउने क्रममा नेतृत्व, अधिकार र संगठनात्मक संरचनालाई लिएर दुई पक्षबीच मतभेद चुलिएपछि अन्ततः संयुक्त रूपमा दल दर्ता गर्ने सहमति कार्यान्वयन हुन सकेन । राणापक्षका नेताका अनुसार निर्वाचनका बेला उम्मेदवारको मनोनयन तथा पार्टीका आधिकारिक निर्णयमा हस्ताक्षर गर्ने अधिकारसम्बन्धी विषयमा सहमति हुन नसकेको हो ।
तर प्रसाईँ पक्षले भने तत्काल पार्टी दर्ताभन्दा आफूहरूले उठाउँदै आएका नागरिकका मुद्दालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको थियो । विशेषगरी लघुवित्त, बैंक, सहकारी, मिटरब्याज तथा आर्थिक शोषणबाट पीडित नागरिकका मुद्दालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्ने प्रसाईँ पक्षको जोड थियो । संयुक्त दल गठनको प्रयास असफल भएपछि प्रसाईँले अब आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूहरूसँग सहकार्य गर्न आएका नेता तथा अभियन्ताहरूलाई केही समय धैर्य गर्न आग्रह गर्दै पार्टी छिट्टै खुल्ने बताएका छन् । नयाँ पार्टीलाई गरिब, निमुखा, भूमिहीन, सुकुम्बासी, उत्पीडित तथा आर्थिक समस्यामा परेका नागरिकको साझा राजनीतिक शक्ति बनाउने प्रसाईँले दाबी गरेका छन् ।‘लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजको चर्को ब्याजका कारण घरबार गुमाएका नागरिकको समस्या लामो समयदेखि समाधान हुन सकेको छैन’ उनले भने, ‘परम्परागत राजनीतिक दलहरूले यसमा ध्यान दिन सकेनन् ।’
प्रसाईँको प्रस्तावित राजनीतिक धारणा भने राणाको दलभन्दा स्पष्ट रूपमा फरक देखिएको छ । उनले नयाँ पार्टीलाई सबै जातजाति र धर्मको साझा पार्टी बनाउने बताउँदै वैदिक सनातनी हिन्दु अधिराज्यको अवधारणासमेत अघि सारेका छन् । यसले प्रसाईँले आफ्नो राजनीतिक आधारलाई आर्थिक पीडितका मुद्दासँगै राजसंस्था र हिन्दु राज्यको एजेन्डासँग जोडेर विस्तार गर्न खोजेको देखिन्छ ।
एउटै आन्दोलनबाट दुई शक्ति
राणा र प्रसाईँबीचको पछिल्लो विभाजनले नेपालको वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको समूह थप विभाजित हुने सम्भावना देखाएको छ । दुवै पक्षले आफूलाई स्थापित राजनीतिक दलको विकल्पका रूपमा प्रस्तुत गर्दै आएका छन् । उनीहरूको भाषण र राजनीतिक गतिविधिमा भ्रष्टाचार, आर्थिक बेथिति, बैंक तथा वित्तीय संस्थाबाट पीडित नागरिक, बेरोजगारी, गरिबी र राज्यप्रतिको असन्तुष्टि प्रमुख विषय बन्दै आएका छन् ।
तर संयुक्त राजनीतिक शक्ति निर्माणको प्रयास नै असफल भएपछि एउटै असन्तुष्ट मताधारलाई दुई छुट्टाछुट्टै संगठनले आकर्षित गर्ने अवस्था बनेको छ । राणाको जय नेपाल पार्टीले संस्थागत राजनीतिक संरचना निर्माण गरेर निर्वाचन केन्द्रित संगठन विस्तार गर्ने बाटो रोजेको देखिन्छ । प्रसाईँ भने आन्दोलनमुखी र नागरिक असन्तुष्टिमा आधारित राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अघि बढ्न खोजिरहेका छन् ।
तर नयाँ दल गठन गर्नु मात्र दुवै पक्षका लागि पर्याप्त हुने छैन । नेपालको राजनीतिमा नयाँ दलको सङ्ख्या बढ्दै गए पनि संगठन निर्माण, देशव्यापी उपस्थिति, स्पष्ट नीति तथा निर्वाचनमा मतदाताको विश्वास हासिल गर्नु मुख्य चुनौती रहँदै आएको छ । राणाको दलका लागि पहिलो चुनौती जनेपालाई व्यक्तिकेन्द्रित संरचनाबाट बाहिर निकालेर देशव्यापी संगठनमा रूपान्तरण गर्नु हुनेछ ।
त्यस्तै प्रसाईँका लागि आन्दोलनमा जोडिएका समर्थकलाई स्थायी राजनीतिक संगठन र निर्वाचन शक्तिमा रूपान्तरण गर्नु चुनौतीपूर्ण छ । विशेषगरी दुवै पक्षले एउटै राजनीतिक असन्तुष्ट समूहलाई आकर्षित गर्न खोजिरहेको अवस्थामा उनीहरूबीचको प्रतिस्पर्धा आगामी निर्वाचनमा समेत हुुनेछ । यदी सहमति जुटेको भए एउटै राजनीतिक शक्तिका रूपमा अघि बढ्ने राणा–प्रसाईँ जोडी अब दुई फरक राजनीतिक परियोजनामा विभाजित भएको हो ।
राणा निर्वाचन आयोगमा दल दर्ता गरेर संस्थागत राजनीतिमा प्रवेश गरिसकेका छन्, भने प्रसाईँले आन्दोलनको आधारलाई पार्टीमा रूपान्तरण गर्ने तयारी थालेका छन् ।
अब दुुवैमध्ये कसले जनअसन्तुष्टिलाई संगठित राजनीतिक मतमा बदल्न सक्छ ? आगामी दिनमा यसको जवाफ उनीहरूको संगठन विस्तार, राजनीतिक एजेन्डा र निर्वाचन तयारीले दिने राजनीतिक विज्ञहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्