नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन तथा साधारणसभा पूर्व निर्धारित मितिमै हुने भएको छ । संघको ३४औँ र ३५औँ संयुक्त वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया साउन ३० गते हुनेगरी मिति तोेकिएकोमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा परेको रिटमा अदालतले सुनुवाई गर्दै साउन २७ गते अर्काे आदेश नभएसम्मका लागि अधिवेशनको प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशका सम्बन्धमा शुक्रबार भएको सुनुवाईमा न्यायाधीशद्वय मदन पोख्रेल र दलबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेशलाई आदेशलाई सुविधा सन्तुलनको दृष्टिले निरन्तरता दिइरहनु नपर्नेे निर्णय गरेको छ । अदालतको यस आदेशसँगै संघको तोकिएकै मितिमा अघि बढ्ने निश्चित भएको हो । अदालतले संघको निर्वाचनसम्बन्धी उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र रिट निवेदन दायर भएको र निवेदकले दाबी गरेको आर्थिक अनियमितताको विषय जिल्ला प्रशासन कार्यालय, बाँकेमा विचारणाधीन रहेको उल्लेख गरेको छ ।
रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत कानुन बमोजिम हुने नै भएकाले हाललाई अन्तरिम आदेश निरन्तर गर्नु नपर्ने अदालतको आदेशमा स्पष्ट पारिएको छ ।
अदालतको आदेशलगत्तै संघले आफ्ना पूर्व निर्धारित कार्यक्रमहरू यथावत सञ्चालन गर्ने सूचना जारी गरेको छ । संघका महासचिव भिमबहादुर रानाभाटद्वारा जारी सूचना अनुसार आज साउन ३० गते शनिबार बिहान ८ बजेदेखि सुर्खेतरोडस्थित सिद्धार्थ कटेज एण्ड रेष्टुरेण्टमा साधारणसभा सुरु हुनेछ ।
साधारणसभामा कार्यसमितिको वार्षिक प्रतिवेदन, आय–व्ययको विवरण, बजेट पारित गर्ने तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाउने तय भएको छ । आदेशपछि व्यवसायीहरूमाझ चुनावी सरगर्मी पुनः बढेको छ । नयाँ नेतृत्वका अध्यक्षमा चिरन्जिवी ओली र ध्रुव दाहालले उम्मेदवारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्