शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश सरकारको नेतृत्व गर्दै आएका नेपाली काँग्रेसका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलसहित प्रदेशसभाका सदस्यहरू तथा नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए ।
उनको दाबीलाई आधार मान्दै प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरे । शपथपछि भट्टले मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले शुक्रबार नेकपा एमालेका प्रदेशसभा सदस्यहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारीसहित मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ सरकारमा नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सहभागी भएका छन् ।
एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । त्यस्तै, एमालेका प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका छन् । जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । एमालेले यसअघि संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन् ।
‘भूमिगत जीवनदेखि मुख्यमन्त्रीसम्म’
सुदूरपश्चिमको राजनीतिमा लामो समयदेखि सक्रिय र प्रभावशाली नाम हो– खगराज भट्ट । किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका भट्टको राजनीतिक यात्रा विद्यार्थी आन्दोलन, भूमिगत जीवन, जेल, जनयुद्धकालीन संगठन निर्माण, शान्ति प्रक्रिया, खुला राजनीति, संसदीय अभ्यास हुँदै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीसम्म आइपुगेको छ । झन्डै चार दशक लामो राजनीतिक यात्रामा उनले संगठन निर्माणदेखि पार्टी नेतृत्व र निर्वाचन प्रतिस्पर्धासम्मका विभिन्न भूमिका निर्वाह गरेका छन् ।
संघर्षपूर्ण राजनीतिक पृष्ठभूमिबाट अघि बढेका भट्टका लागि मुख्यमन्त्रीको जिम्मेवारी उनको राजनीतिक जीवनकै महत्वपूर्ण मोड बनेको छ । लामो समय आन्दोलन र संगठनमा बिताएका उनले अब सरकार सञ्चालन, नीति निर्माण, विकास व्यवस्थापन र जनअपेक्षा पूरा गर्ने जिम्मेवारी पाएका छन् । त्यसैले उनको मुख्यमन्त्री यात्रा राजनीतिक संघर्षभन्दा पनि शासन सञ्चालनको परीक्षाका रूपमा हेरिएको छ ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा वि.सं. २०३१ पुस २ गते पिता स्वर्गीय रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला सुपुत्रका रूपमा जन्मिएका भट्टले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन् । सामान्य पारिवारिक परिवेशबाट राजनीतिक चेतनासहित अघि बढेका उनले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका गतिविधिसँग आफूलाई जोड्न थालेका थिए ।
वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएसँगै उनले औपचारिक रूपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरे । त्यसपछि उनको राजनीतिक सक्रियता क्रमशः बढ्दै गयो । वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिमा लागेका भट्ट सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बने । विद्यार्थी राजनीतिबाट संगठनात्मक जीवन सुरु गरेका उनले अखिल क्रान्तिकारीमार्फत सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन विस्तार र राजनीतिक परिचालनमा भूमिका खेले ।
डडेल्धुरा, बैतडी र दार्चुलालगायतका जिल्लामा पार्टी संगठन निर्माण, कार्यकर्ता परिचालन तथा राजनीतिक गतिविधिमा सक्रिय हुँदै उनी जिल्ला तहबाट क्षेत्रीय र केन्द्रीय जिम्मेवारीतर्फ अघि बढे । सुदूरपश्चिमका पहाडी जिल्लामा संगठन निर्माणको क्रममा काम गर्दा उनले यस क्षेत्रको भौगोलिक कठिनाइ, सामाजिक संरचना, आर्थिक अवस्था र राजनीतिक मनोविज्ञानलाई नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभव उनको पछिल्लो राजनीतिक यात्रामा महत्वपूर्ण आधार बन्यो ।
भट्टको राजनीतिक जीवनको महत्वपूर्ण अध्याय भूमिगत गतिविधि र जेलसँग पनि जोडिएको छ । माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र बनेको समयमा वि.सं. २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहे । जेल जीवनले उनको राजनीतिक सक्रियतालाई रोक्न सकेन । जेलमुक्त भएपछि उनी पुनः संगठन निर्माण, राजनीतिक सम्पर्क र कार्यकर्ता परिचालनमा सक्रिय भए ।
कठिन राजनीतिक परिस्थितिमा पनि संगठन विस्तारलाई निरन्तरता दिँदै उनले सुदूरपश्चिममा आफ्नो राजनीतिक आधार बलियो बनाउँदै लगे । माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले । भूमिगत अवस्थामा पार्टी गतिविधि सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण थियो । राजनीतिक दमन, राज्यको सुरक्षा निगरानी र कठिन भौगोलिक अवस्थाबीच संगठनलाई सक्रिय राख्नु उनको जिम्मेवारी थियो । यही क्रममा उनी क्रमशः क्षेत्रीय नेतृत्वमा स्थापित भए ।
वि.सं. २०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि उनको राजनीतिक जिम्मेवारी थप विस्तार भयो । केन्द्रीय तथा क्षेत्रीय तहमा रहेर उनले पार्टी संगठन, राजनीतिक गतिविधि र कार्यकर्ता परिचालनमा सक्रिय भूमिका निर्वाह गरे । खगराज भट्टको राजनीतिक यात्रा उनको व्यक्तिगत संघर्षमा मात्र सीमित छैन । उनको परिवार पनि राजनीतिक आन्दोलनसँग जोडिएको परिवारका रूपमा चिनिन्छ । उनका दाजु जयराज भट्ट राजनीतिक आन्दोलनमा सक्रिय रहँदै जनयुद्धकालमै सहिद भएका थिए । भाइ उमेश भट्ट पनि भूमिगत राजनीतिमा सक्रिय रहे ।
परिवारका अन्य सदस्यहरू समेत विभिन्न चरणमा भूमिगत तथा पूर्णकालीन राजनीतिक गतिविधिमा संलग्न भएका थिए । यसले भट्टको राजनीतिक जीवनमा पारिवारिक राजनीतिक वातावरणको प्रभाव रहेको देखाउँछ । आन्दोलनका कठिन चरणमा परिवारका सदस्यहरूले समेत राजनीतिक गतिविधिमा संलग्न रहनुले उनको राजनीतिक यात्रालाई थप संघर्षपूर्ण बनाएको थियो । नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिबाट खुला राजनीतिक अभ्यासमा आए ।
माओवादी आन्दोलन शान्ति प्रक्रियामा प्रवेश गरेपछि उनको राजनीतिक भूमिकाको स्वरूप पनि परिवर्तन भयो । संगठन निर्माणसँगै उनले निर्वाचन, संसद्, संविधान निर्माण र लोकतान्त्रिक राजनीतिक अभ्यासमा सक्रिय सहभागिता जनाए । संविधानसभा तथा त्यसपछिका निर्वाचनमा उनी डडेल्धुराबाट उम्मेदवार बने । विशेषगरी डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भएको निर्वाचन प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित गरायो ।
खुला राजनीतिमा आएपछि भट्टले पार्टी संगठनलाई प्राथमिकतामा राख्दै संसद्, संविधान निर्माण तथा विकासका मुद्दामा आफ्नो राजनीतिक भूमिका विस्तार गरे । सुदूरपश्चिमका समस्या र सम्भावनालाई राष्ट्रिय राजनीतिसँग जोड्ने प्रयासमा पनि उनी सक्रिय रहे । संघीय गणतान्त्रिक व्यवस्था स्थापना भएपछि भट्टको राजनीतिक केन्द्र सुदूरपश्चिम प्रदेशमा थप बलियो हुँदै गयो । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे ।
प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै संगठन निर्माण, राजनीतिक समन्वय र सुदूरपश्चिमका विकासका सवालमा सक्रिय रहँदै उनी प्रदेश राजनीतिका प्रभावशाली नेताका रूपमा स्थापित भए । पार्टी संगठनभित्रको जिम्मेवारीसँगै प्रदेशका राजनीतिक घटनाक्रममा उनको भूमिका पनि बढ्दै गयो । वि.सं. २०७९ को निर्वाचनमा डडेल्धुराको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भएपछि भट्ट औपचारिक रूपमा प्रदेशसभामा प्रवेश गरे । प्रदेशसभामा उनले सुदूरपश्चिमको विकास, सुशासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलस्रोत तथा पूर्वाधारका विषय उठाउँदै आएका छन् ।
निर्वाचित भएपछि उनी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतासमेत बने । यससँगै उनको राजनीतिक प्रभाव पार्टी संगठनबाट प्रदेशसभाको संसदीय राजनीतिसम्म विस्तार भयो । पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । उक्त दलको संसदीय नेतृत्व भट्टले गर्दै आएका छन् ।
प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय नेताको हैसियत र बदलिएको सत्ता समीकरणले उनलाई मुख्यमन्त्री बन्ने बाटो खोल्यो । सत्ता समीकरण परिवर्तनसँगै निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री पद नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको थियो । त्यसैअनुसार एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरे । प्रदेशसभामा प्राप्त समर्थनका आधारमा प्रदेश प्रमुख नजिर मियाँले उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरे ।
यससँगै विद्यार्थी राजनीतिबाट सुरु भएको भट्टको यात्रा प्रदेश सरकारको कार्यकारी नेतृत्वसम्म पुगेको छ । जेल, भूमिगत संगठन, जनयुद्धकालीन जिम्मेवारी, शान्ति प्रक्रिया, खुला राजनीति, निर्वाचन प्रतिस्पर्धा र संसदीय नेतृत्वका विभिन्न चरण पार गर्दै उनी प्रदेश सरकारको नेतृत्व गर्ने स्थानमा पुगेका हुन् । मुख्यमन्त्री बनेसँगै भट्टका सामु राजनीतिक जिम्मेवारीको स्वरूप पनि बदलिएको छ । यसअघि उनले संगठन निर्माण, पार्टी नेतृत्व र राजनीतिक आन्दोलनमा भूमिका निर्वाह गरे । अब भने उनले प्रदेश सरकारको नीति, योजना, बजेट र प्रशासन सञ्चालन गर्नुपर्नेछ ।
सुदूरपश्चिम प्रदेशले रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलस्रोत र औद्योगिक विकासका क्षेत्रमा थुप्रै चुनौती सामना गरिरहेको छ। प्रदेशका दुर्गम तथा पहाडी क्षेत्रमा आधारभूत पूर्वाधारको पहुँच विस्तार गर्नु, युवाको रोजगारीका अवसर सिर्जना गर्नु र कृषि तथा पर्यटनलाई आर्थिक गतिविधिको आधार बनाउनु सरकारका प्रमुख चुनौतीमध्ये हुन् । त्यसैगरी, सीमित स्रोतसाधनको प्रभावकारी उपयोग, बजेट कार्यान्वयनमा सुधार, सुशासन कायम गर्ने तथा प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय स्थापित गर्ने जिम्मेवारी पनि नयाँ सरकारमाथि छ ।
राजनीतिक रूपमा फरक पृष्ठभूमिका दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नु पनि भट्टका लागि महत्वपूर्ण चुनौती हुनेछ । लामो राजनीतिक अनुभव र सुदूरपश्चिमको भूगोल तथा सामाजिक–राजनीतिक अवस्थाबारेको उनको बुझाइ सरकार सञ्चालनमा कति प्रभावकारी रूपमा प्रयोग हुन्छ भन्ने विषय अब महत्वपूर्ण बनेको छ । राजनीतिक संघर्षका क्रममा बनाएको संगठनात्मक क्षमता र नेतृत्व अनुभवलाई उनले विकास तथा शासनको परिणाममा रूपान्तरण गर्नुपर्नेछ ।
खगराज भट्टको राजनीतिक यात्रा अब नयाँ चरणमा प्रवेश गरेको छ ।
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा जेल, भूमिगत जीवन, जनयुद्ध, शान्ति प्रक्रिया, खुला राजनीति र संसदीय नेतृत्व हुँदै प्रदेशको कार्यकारी नेतृत्वसम्म आइपुगेको छ । यो यात्राले उनलाई राजनीतिक संघर्षका अनेक मोडमा स्थापित ग¥यो । तर मुख्यमन्त्रीको जिम्मेवारीले उनको राजनीतिक क्षमताको अर्को र अझ कठिन परीक्षा सुरु गरेको छ ।
‘जनताले अनुभूति गर्ने गरी काम गर्छु’
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले प्रदेशको नेतृत्व गर्ने अवसरसँगै आफूले ठूलो जिम्मेवारी र चुनौतीको अनुभूति गरेको बताएका छन् । उनले आफूबाट ‘चमत्कार’ अपेक्षा गर्न नसकिने भए पनि प्रदेश र जनताको हितमा राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नियुक्तिपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भट्टले सुदूरपश्चिमका करिब २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे ।
मुख्यमन्त्री भट्टले आफू खुसी भए पनि जिम्मेवारीको भार र चुनौतीका कारण त्यसभन्दा बढी गम्भीर बनेको बताए । ‘म खुसी नै छु । खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु,’ उनले भने । उनले मुख्यमन्त्रीको जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि प्रदेशवासीको अपेक्षा पूरा गर्ने अवसरका रूपमा लिएको बताए । लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा सक्रिय रहँदै आएका भट्टले अब प्रदेशका जनतालाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
उनका अनुसार प्रदेश सरकारका सीमित स्रोतसाधन र विद्यमान चुनौतीका बीच ठूलो परिवर्तन तत्काल सम्भव नहुन सक्छ । तर उपलब्ध स्रोत र अवसरको अधिकतम उपयोग गर्दै जनताले अनुभूति गर्ने गरी काम गर्ने उनको भनाइ छ । ‘धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु । र मान्छेलाई राम्रो ग¥यो भन्ने अनुभूति दिलाउन प्रयास गर्नेछु,’ भट्टले भने ।









प्रतिक्रिया दिनुहोस्