कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–११ स्थित नगर विकास समितिको जग्गामा बसोबास गर्दै आएका सुकुम्वासी सडकमा उत्रिएका छन् । वडा नम्बर ११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरू आफ्ना स्कुले बालबालिकासहित सडकमा उत्रिएका हुन् । वैशाख १६ गते कोहलपुर नगरपालिका क्रिकेट मैदान क्षेत्रसहित कोहलपुर नगरपालिका क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेकाहरूलाई जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएको थियो ।
नगरपालिकाले जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएपछि वर्षौँदेखि नगर विकास समितिको जग्गामा संरचना निर्माण गरेर बसोबास गर्दै आइरहेका त्रसित छन् । मंगलबार बिहान सडकमा उत्रिनुपूर्व अव्यवस्थित भूमिहीन तथा सुकुम्वासी संयुक्त संघर्ष समिति बाँकेले पत्रकार सम्मेलन आयोजना गर्दै राज्यले कुनै वैकल्पिक व्यवस्थापनबिना आफूहरूलाई हटाउन लागेको भन्दै नगरपालिकाको कदम फिर्ता लिन माग गरेका थिए ।
दिउँसो सुकुम्वासीहरूले स्कुले बालबालिकासहित कोहलपुरमा विरोध प्रदर्शन गरे । कोहलपुर नगरपालिकाको सूचनापछि आक्रोशित उनीहरूले वैकल्पिक बासको व्यवस्था नगरी बस्तीमा डोजर चलाउन नहुने माग गर्दै कोहलपुरमा ¥याली निकालेका हुन् । उनीहरूले ‘भूमि कस्को जोत्ने को, हाम्रो माग सुनिश्चित गर, बस्तीमा डोजर लगाउन पाइँदैन’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले पठनपाठनको सुनिश्चितता, सुरक्षित आवासको व्यवस्था र शिक्षा पाउने अधिकारको रक्षा गर्नुपर्ने माग राख्दै ‘डोजर आतंक बन्द गर’ भन्दै राज्यसँग माग गरेका थिए । प्रदर्शनकारीहरूले हाल विद्यार्थीहरूको परीक्षा चलिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काल बस्ती हटाउने कार्य स्थगित गर्नुपर्ने बताएका छन् ।
उनीहरूले आफूहरू वास्तविक सुकुम्वासी भएको दाबी गर्दै उचित व्यवस्थापनबिना हटाउन खोजिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । कोहलपुर–११ स्थित सुकुम्वासी बस्ती शान्तिनगर हुँदै कोहलपुर बजार परिक्रमा गरेको ¥याली नगरपालिकाको मूल गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संघर्ष समितिका संयोजक जीवन थापाले नगरपालिकाले बस्ती खाली गर्न जारी गरेको सूचनाप्रति खेद प्रकट गरेका छन् । उनले भने, ‘हामीलाई जबरजस्ती बल प्रयोग गरी विकल्पबिना उठाई सडकमा पु¥याइ आन्दोलनमा उत्रिन बाध्य पार्नु हुनेछैन भन्ने विश्वास गर्दछौँ । देशैभरी भइरहेको सुकुम्वासी आन्दोलनप्रति हाम्रो एकेबद्धता छ ।’
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई स्थायी बसोबासको व्यवस्था गर्न संघर्ष समितिले माग गरेको छ । समितिले आफ्नो माग पूरा गराउनका लागि शान्तिपूर्ण ¥याली, जुलुस र कोणसभा, सम्बन्धित निकायसँग वार्ता संवाद, स्थानीयस्तरमा रहेका राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।
आफूहरूका माग सरकारले सुनुवाइ नगरेमा कडाभन्दा कडा संघर्षमा उत्रिने जानकारी गराइएको छ । नगरपालिका अगाडिको कोणसभामा पनि संयोजक थापाले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गरेका थिए । नगरपालिकाले अल्टिमेटमसहित सूचना जारी गरेपछि नेपाली कम्युनिस्ट पार्टी र रास्वपाको नगर कमिटी कोहलपुरले स्थानीय सरकारले तयारीबिना हटाउन लागेको भन्दै विरोध जनाएका थिए ।
कोहलपुर नगरपालिकाले आगामी वैशाख २६ गते अतिक्रमित जग्गा खाली गराउने उद्देश्यले डोजर प्रयोग गर्ने तयारीसहित सूचना जारी गरेको छ । क्रिकेट मैदान क्षेत्रमा हाल करिब ७५१ घरटहरा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्