चालू आवको पहिलो महिनामा राजस्व ८.२५ प्रतिशतले वृद्धि



काठमाडौँ।

चालू आर्थिक वर्ष २०८३–०८४ को पहिलो महिनामा सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ । साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा राजस्व संकलन २७ प्रतिशतले बढाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा १२ खर्ब ४१ अर्ब रूपैयाँ राजस्व उठाएको सरकारले चालू वर्षमा १५ खर्ब ८० अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेको हो ।

साउनमा कूल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रूपैयाँ संकलन भएको छ । गत वर्ष सोही अवधिमा ८० अर्ब ६७ करोड ७ लाख रूपैयाँ कर उठेको थियो। कर राजस्व ४ अर्ब ५१ करोड ९९ लाख रूपैयाँले बढेको हो । गैरकर राजस्वमा भने उल्लेख्य वृद्धि भएको छ । चालू वर्षको पहिलो महिनामा ७ अर्ब ३ करोड ४७ लाख रूपैयाँ गैरकर राजस्व उठेको छ । गत वर्ष साउनमा यस्तो राजस्व ३ अर्ब ७९ करोड ५० लाख रूपैयाँ थियो । राजस्व वृद्धिको लक्ष्य उच्च भए पनि पहिलो महिनाको संकलन लक्ष्य अनुसारको गतिमा भने देखिएको छैन् ।

सरकारले वार्षिक लक्ष्य पूरा गर्न बाँकी ११ महिनामा औसतमा मासिक औसत १ खर्ब ३५ अर्ब रूपैयाँभन्दा बढी राजस्व उठाउनुपर्ने हुन्छ । सरकारको कूल प्राप्ति भने चालू वर्षको पहिलो महिनामा ९३ अर्ब ४३ करोड ६३ लाख रूपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कूल प्राप्ति ८५ अर्ब १९ करोड ६५ लाख रूपैयाँ थियो । राजस्व बढे पनि सरकारी खर्च भने गत वर्षको तुलनामा घटेको छ ।

चालू वर्षको साउनसम्म सरकारी कोषबाट ४१ अर्ब ८८ करोड ५८ लाख रूपैयाँ खर्च भएको छ । गत वर्ष सोही अवधिमा ४६ अर्ब ३० करोड ६१ लाख रूपैयाँ खर्च भएको थियो । चालू वर्षको पहिलो महिनामा चालूतर्फ २१ अर्ब ४० करोड ३८ लाख, पूँजीगततर्फ १३ अर्ब २८ करोड ५० लाख र वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रूपैयाँ खर्च भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार