नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशलाई लामो समयदेखि सम्भावनाको प्रदेश भनिँदै आएको छ । जलस्रोत, जडीबुटी, पर्यटन, खनिज तथा कृषिमा प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रदेशमा ठूला उद्योग भने छैनन् । औद्योगिक पूर्वाधारको अभाव, कमजोर सडक सञ्जाल, लगानीमैत्री वातावरणको अभाव र दुर्गम भौगोलिक अवस्थाका कारण कर्णालीमा ठूला उद्योग स्थापना हुन नसकेका हुुन् । तर, यही अवस्थाबीच पश्चिम सुर्खेतमा भने कर्णालीको औद्योगिक भविष्य बदल्ने अपेक्षा गरिएको ठूलो परियोजना निर्माणको चरणमा प्रवेश गरेको छ ।
चौकुने गाउँपालिका–९, सुनाकाँडामा सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्ने काम अहिले तीव्र गतिमा अघि बढिरहेको छ । करिब १४ अर्ब २७ करोड ५० लाख रूपैयाँँ लगानीमा निर्माण हुन लागेको यो परियोजना कर्णालीमा स्थापना हुन लागेको ठूलो औद्योगिक परियोजनामध्ये एक हो । यो उद्योग सञ्चालनमा आए कर्णालीमै पहिलोपटक ठूलो स्तरको सिमेन्ट उत्पादन सुरु हुनेछ । उद्योग स्थापना तथा सञ्चालनका लागि सूर्यताराले सुनाकाँडामा मात्रै करिब ४२ विघा जमिन प्रयोगमा ल्याएको छ ।
निर्माणस्थलमा अहिले ठूला मेसिन, निर्माण सामग्री र दुई सयभन्दा बढी मजदुर परिचालित छन् । प्लान्टका आधारभूत संरचना, माटो परीक्षण, कामदारका लागि आवास तथा अन्य पूर्वाधार निर्माणको काम चलिरहेको छ । तर, उद्योग निर्माणको यात्रा सहज भने छैन् । लगानी स्वीकृति, जग्गा खरिद, खानी क्षेत्रका नागरिकको मुआब्जा, वनसम्बन्धी प्रक्रिया र सबैभन्दा ठूलो चुनौतीका रूपमा सडक पूर्वाधारले परियोजनाको गति प्रभावित गरेको थियो ।
सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि २०७८ चैत १८ गते बसेको लगानी बोर्डको ५०औँ बोर्ड बैठकले १४ अर्ब २७ करोड ५० लाख रूपैयाँँ लगानी स्वीकृत गरेको हो । तर, उद्योगको तयारी भने त्यसअघि नै सुरु भए पनि जग्गा व्यवस्थापनदेखि खानी क्षेत्रका स्थानीयसँगको प्रक्रिया पूरा गर्न समय लागेको थियो । उद्योग निर्माणस्थलसम्म पुग्ने सडकको अवस्था कमजोर हुँदा निर्माण कार्य सुरु गर्नसमेत थप समय खर्चिनुपरेको परियोजनाले जनाएको छ ।
सूर्यतारा सिमेन्टका प्रोजेक्ट हेड सञ्जय मिश्रका अनुसार अहिले निर्माणको औपचारिक काम सुरु भएको करिब एक महिना भएको छ । हालसम्म आयोजनाको करिब दुईदेखि तीन प्रतिशत काम सम्पन्न भएको छ । तर, कम्पनीले अबको १८ महिनाभित्र उद्योग निर्माण सम्पन्न गरी सिमेन्ट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । ‘हाम्रो लक्ष्य अबको १८ महिनामा उद्योग स्थापना गरी सिमेन्ट उत्पादन सुरु गर्ने हो’ मिश्रले भने, ‘उद्योग निर्माणस्थलसम्म पहुँच सडक निर्माणमै करिब दुई महिना खर्च भयो ।वर्षायाममा सडकको अवस्था झन् दयनीय हुने भएकाले ठूला निर्माण सामग्री ढुवानी गर्न समस्या भइरहेको छ ।’
उनका अनुसार त्यहाँको माटो अलिकति पानी पर्नेबित्तिकै कुनै पनि गाडी चल्न मिल्दैन । सुरुमा साइटसम्म पुग्न एप्रोच रोड बनाउनै दुई महिना लागेको थियो । त्यसपछि मात्र उद्योगको काम अगाडि बढेको हो । तर, ठूलो औद्योगिक परियोजना निर्माण भइरहेको स्थानसम्म पुग्ने सडकको अवस्थाले कर्णालीको औद्योगिक पूर्वाधारको वास्तविकता पनि उजागर गरेको छ ।
निर्माणका लागि आवश्यक डण्डी, सिमेन्ट तथा अन्य सामग्री चिसापानीबाट सुनाकाँडा पु¥याउँदा अहिले पनि एक्स्काभेटरको सहयोग लिनुपर्ने अवस्था छ । मिश्रका अनुसार पहिलोपटक करिब ३० टन डण्डी बोकेको ट्रक निर्माणस्थलतर्फ ल्याउँदा सडकको ग्रेडिङका कारण एउटा उकालो पार गर्नै सकेन । पछाडिबाट एक्स्काभेटरले धकेल्दासमेत ट्रक उकालो चढ्न नसकेपछि डण्डी त्यहीँ अनलोड गरेर दुई चरणमा ओसार्नुपरेको उनले बताए ।
खानी लखरपाटामा, उत्पादन सुनाकाँडामा
सूर्यतारा सिमेन्टको अर्को महत्वपूर्ण पक्ष भनेको यसको कच्चा पदार्थको स्रोत हो । उद्योग निर्माण भइरहेको सुनाकाँडाबाट करिब २४ किलोमिटर पूर्व–उत्तर दिशामा बराहताल गाउँपालिका–७ को लखरपाटा क्षेत्रमा चुनढुङ्गाको खानी छ । त्यहीँबाट चुनढुङ्गा उत्खनन गरेर सुनाकाँडा ल्याई सिमेन्ट उत्पादन गर्ने योजना कम्पनीको छ ।
परियोजनाका अनुसार लखरपाटा क्षेत्रमा ठूलो परिमाणमा चुनढुङ्गाको भण्डार रहेको छ ।
करिब ९५ हजार हेक्टर क्षेत्रफलबाट चुनढुङ्गा उत्खनन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । लखरपाटासम्म पहुँच पु¥याउन अहिले प्रदेश सरकारले सडक निर्माण गरिरहेको छ । गुटुदेखि खम्बागाडेसम्म मदन भण्डारी राजमार्ग जोडिएको छ । खम्बागाडेदेखि लखरपाटासम्मको करिब १० किलोमिटर सडक निर्माण भइरहेको छ ।
करिब ५ करोड १० लाख रूपैयाँँ लागतमा निर्माण भइरहेको उक्त सडकको काम २०८१ माघबाट सुरु भएको हो । हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।
यो सडक निर्माण सम्पन्न भएपछि उद्योगका लागि आवश्यक मुख्य कच्चा पदार्थ चुनढुङ्गा खानीबाट प्लान्टसम्म ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ । तर खानीसम्म पुग्ने सडकमा पर्ने दुई वटा खोलामा पुल निर्माण नहुँदासम्म वर्षायाममा ढुवानी चुनौतीपूर्ण रहने परियोजनाको भनाइ छ । चौकुने गाउँपालिकाले सूर्यतारा सिमेन्टलाई एउटा उद्योगका रूपमा मात्र हेरेको छैन । गाउँपालिकाका लागि यो रोजगारी, पूर्वाधार र स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण आधार हो ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘विवश’का अनुसार स्थानीय तहबाट गर्नुपर्ने आवश्यक सहयोग भइरहेको छ । ‘कर्णाली प्रदेशकै लागि यो गौरवको आयोजना हो । यसको विकासका लागि चौकुने गाउँपालिकाको तर्फबाट सम्पूर्ण सहयोग गरिरहेका छौं’ उनले भने, ‘तर उद्योगसम्म पुग्ने ठूला सडक तथा पुल निर्माण भने स्थानीय तहको क्षमताभन्दा बाहिर रहेको छ । ठूला पुल र सडकका लागि प्रदेश र केन्द्रसँग समन्वय भइरहेको छ ।’
यसले उद्योग निर्माण र सञ्चालनमा निजी लगानी मात्र पर्याप्त नहुने, राज्यले पनि औद्योगिक पूर्वाधार निर्माणमा समानान्तर लगानी गर्नुपर्ने आवश्यकता देखाएको हो । सूर्यतारा सिमेन्ट सञ्चालनमा आएपछि दैनिक ५० हजारदेखि ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाल कर्णालीमा खपत हुने सिमेन्ट बाह्य प्रदेशबाट आउने गर्छ । ठूलो उद्योग सञ्चालनमा आएपछि बाहिरबाट सिमेन्ट ल्याउनुपर्ने निर्भरता घट्ने र कर्णालीबाट अन्य प्रदेशमा सिमेन्ट पठाउने सम्भावना बढ्नेछ ।
रोजगारी सिर्जना हुने अपेक्षा
सूर्यतारा सिमेन्ट परियोजना सम्पन्न भएपछि एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने आयोजनाको दाबी छ । यसको प्रभाव प्रत्यक्ष रोजगारीमा मात्र सीमित नहुने अपेक्षा गरिएको छ । ढुवानी, होटल, खाद्यान्न, निर्माण सामग्री, मेकानिकल सेवा, साना व्यापार तथा अन्य सहायक व्यवसायमा समेत रोजगारी र आम्दानीका अवसर सिर्जना हुनेछन् । विशेषगरी उद्योग र खानी क्षेत्र आसपासका बासिन्दाले रोजगारी तथा व्यवसायिक अवसर पाउने स्थानीय तहको अपेक्षा छ ।
चौकुने अध्यक्ष विकका अनुसार उद्योग सञ्चालनमा आएपछि चौकुने र आसपासका नागरिकको आर्थिक गतिविधि विस्तार हुनेछ । लखरपाटा क्षेत्रमा लामो समयसम्म पुग्ने चुनढुङ्गाको भण्डार रहेको अनुमानले उद्योगलाई दीर्घकालीन आधारसमेत प्रदान गरेको छ । कर्णालीमा उद्योग नआउनुको प्रमुख कारणका रूपमा सडक, विद्युत्, बजार, दक्ष जनशक्ति र लगानी सुरक्षालाई औँल्याउने गरिन्छ । सूर्यतारा परियोजनाले पनि हमाल निर्माणकै क्रममा यस्ता चुनौती भोगिरहेको छ । तर, तोकिएकै मितिमा उद्योग स्थापनाको काम सम्पन्न हुने स्थानीयवासीले अपेक्षा गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्