कैलाली ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा सरकार गठन भइसकेको छ । मुख्यमन्त्री खगराज भट्टले एमालेको सिफारिसमा तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । तर, सरकारको नेतृत्व गरिरहेको नेकपाबाट तीन मन्त्री र बढीमा दुई राज्यमन्त्रीको नियुक्ति बाँकी छ । मन्त्रिपरिषद् विस्तार बाँकी हुँदा नेकपाभित्र समावेशी प्रतिनिधित्वको विषय पेचिलो बन्दै गएको छ ।
पार्टीभित्रै दलित, महिला तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाज उठ्न थालेको छ । सुदूरपश्चिममा दलित समुदायको जनसङ्ख्या करिब १८ प्रतिशत रहेको उल्लेख गर्दै नेकपाभित्रका नेताहरूले सरकार गठन गर्दा जनसङ्ख्याको अनुपात र संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने बताएका छन् ।
प्रदेश स्थापनापछि बनेका विभिन्न सरकारमा दलित समुदायबाट मन्त्री तथा महत्वपूर्ण राजनीतिक नियुक्ति भएका उदाहरण छन् । यसअघि एमालेका हिरा सार्की मन्त्री बनेका थिए । त्यस्तै, तत्कालीन एकीकृत समाजवादी नेतृत्वको सरकारमा नीति आयोगको उपाध्यक्षमा गणेश विकलाई नियुक्त गरिएको थियो । त्रिलोचन भट्ट नेतृत्वको पहिलो प्रदेश सरकारमा भने दलित समुदायबाट क्याबिनेटस्तरको प्रतिनिधित्व र महत्वपूर्ण राजनीतिक नियुक्ति हुन सकेको थिएन ।
त्यसपछि बनेको सरकारमा तत्कालीन माओवादी केन्द्रबाट लक्ष्मी विक पहिलोपटक क्याबिनेट मन्त्री बनेकी थिइन् । अहिले नेकपाको नेतृत्वमा सरकार गठन भएसँगै समावेशी प्रतिनिधित्वको विषय ओझेलमा परेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । समानुपातिक र समावेशी प्रतिनिधित्वलाई आफ्नो राजनीतिक आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको नेकपाले प्रदेश सरकार गठनमा त्यसलाई व्यवहारमै लागू गर्नुपर्ने दबाब छ ।
नेकपाका महिला सांसदहरू पनि आफूहरूलाई फुल मन्त्रीको जिम्मेवारी दिनुपर्ने मागसहित नेतृत्वसँग लबिङमा छन् । सांसद लक्ष्मी बिकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर महिला तथा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने माग राखेकी छिन् । सरकार गठन गर्दा संविधानको समावेशी सिद्धान्तलाई व्यवहारमा लागू नगरी मनपरी ढंगले अघि बढे त्यसले पार्टीभित्रै असन्तुष्टि बढाउने र राजनीतिक दुर्घटना हुनसक्ने चेतावनीसमेत नेकपाभित्र उठेको छ ।
नेकपामा छ जना महिला सांसद छन् । लक्ष्मी विक, टीका थापा, जानकी कुँवर, माया पन्त, इन्दिरा गिरी र गीता माल । पन्त एकीकृत समाजवादी पृष्ठभूमिकी हुन् भन् गिरी र थापा नागरिक उन्मुक्तिबाट विजयी भएर नेकपामा समाहित भएका हुन् । नेकपाका छ महिला सांसदमा अहिलेसम्म मन्त्री बन्ने अवसर नपाउनेमा जानकी कुँवर मात्रै छिन् । पन्त, विक र थापाले क्याबिनेट मन्त्री बन्ने अवसर पाइसकेका छन् । गिरी र माल पूर्वराज्यमन्त्री हुन् ।









प्रतिक्रिया दिनुहोस्