प्रकृति सम्झाउने ‘गुरही पर्व’



वीरेन्द्र जैसी । नेपालगन्ज ।

श्रावण शुक्ल पन्चमी अर्थात् नाग पन्चमीकै दिन थारू समुदायले भने गुरही पर्व मनाउने गर्दछन् । कपडाको गुरहा गुरही (गाइने किरा)को प्रतिक बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ । जसलाई थारू भाषामा गुरही अस्रैना भनिन्छ । गुरही सेलाउँदा बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) भुईँमा फाल्ने गर्दछन् । त्यसरी फालिएको गुरहीलाई लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने पिट्ने गर्दछन् ।

गुरही पर्व मनाउँदा बालबालिकालाई आँखा पाक्ने, ज्वरो आउने जस्ता रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहीआएको छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ । गुरही पर्व बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । गुरही पर्वलार्य थारू समुदायले सबैभन्दा सुरुवाती पर्व मान्ने गर्दछन् ।

यस पर्वले भाइ बहिनीको माया प्रेमलाई प्रगाढ बनाउने विश्वास गरिन्छ । कतिपयले गुरहीको प्रतिक गुडिया बनाइने हुँदा कतिपयले थारू समुदायले मनाउने यस पर्वलाई गुरिया भनेर पनि भन्ने गर्दछन् । तर, थारू संस्कृतिका जानकार छवीलाल कोपिला थारू समुदायको पर्व गुरही नै भएको बताउँछन् । उनले थारू भाषामा गुरियाले गुडिया नभै मालाको अर्थ दिने भएकोले उक्त नामले पर्वसँग सम्बन्ध नराख्ने बताए ।

‘गुरिया गैरथारू भाषीहरूले आफू अनुकुलको भाषा प्रयोग गर्दा त्यसको प्रभाव थारू समुदायको परेर गुरहीलाई गुरिया भन्ने बुझिएको हो र यसकै प्रभावमा अथवा अरुले बोलेको सुनेर अभ्यासमा आएको हुनसक्छ । त्यसकारण यो पर्व गुरिया नभएर गुरही हो,’ कोपिलाको भनाइ छ । गुरही पर्वको उद्गमथलो दाङको देउखुरी मानिएको र पछि देउखुरीबाट छारा बसाइसराइ गरेर बुह्रान गएकाहरूले पनि गुरही पर्व आफू बसेको ठाउँमा मनाइरहेको कोपिलले उल्लेख गरे । अहिले देउखुरी लगायत बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौँ र विदेशमा समेत मनाउन थालिएको उनको भनाइ छ ।

यो पर्व नागपन्चमी कै दिन पर्ने भएकोले ‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाई रहेपनि यी दुवै पर्वहरू आफैमा अलग पर्व भएको कोपिलाले बताए । ‘थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपन्चमीको आफ्नै छ । नागपञ्चमीमा सर्प र विषालु किराहरूको पूजा गरिन्छ तर गुरहीमा न सर्पको पूजा हुन्छ न विषालु बिच्छी, गोजरको । यस पर्वको मूल्य मान्यता र लोक बुझाईहरू पनि अलग–अलग भएकोले यो भिन्न भिन्नै पर्व हो भन्ने कुरा बुझ्न जरुरी छ,’ कोपिलाले भने ।

उनले थारू समुदायमा रहेको एक लोककथाबाट प्रेरित भएर गुरही पर्व चलनमा आएको बताएका छन् । एकपटक पृथ्वीमा रोगव्याधी बढेपछि देउताहरूले दुतका रूपमा पठाइएकी बालिकाको कथासँग यो पर्वको सम्बन्ध रहेको उनको भनाइ छ । उक्त कथामा ती बालिकाले जन्म भएको घरमा भाउजुले उनलाई दुःख दिएको, दुःख दिएपछि उनी आमाले बनाइदिएको कपडाको गुरहीसँग खेल्ने गरेको कथाको प्रसँग उनले वर्णन गरेका छन् । एकदिन ती बालिकाको रूपमा जन्मिएकी दुतले आफ्नो खेलौनाजस्तै उड्ने किराको सृष्टि गरेको र उक्त किरा उत्पन्न भएपछि उसले भुसुना र मच्छर खाइदिएपछि रोगब्याधी कम भएको प्रसँग रहेको छ ।

जब ती दुत बालिका स्वर्गलोकतिर जान लाग्छिन् त्यतिबेला गाउँका सबै बालबालिकाहरूले उपहार स्वरूप गुरही र बाटोमा भोक लागे खानको लागि चना लगायतका खाने कुरा दिएर बाजा सहित बिदाई गर्न आउँछन् । यता उनकी भाउजूलाई यो कुरा मन परेको थिएन । उनी रिसले चूर भइन् । आफ्नो छोरालाई गुरही (कपडाका खेलौना) खोस्न, पठाइन्, गुरहीलाई बाटोमा खाजाको लागि बोकेर ल्याएको घुघरी छिटार्न पठाइन र नदिए पिट्न समेत अह्राएर पठाइन् ।

भाउजूको छोराले पनि आमाको कुरा मानेर कपडाका टुक्राले बनेका गुरही, खाजाको नुइयाँ, भुजा खोस्ने जस्ता हर्कत गर्न थाल्छ । खोसेर माटो फालिदिन्छ । नदिए सोंटा (कोर्रा) पिट्न थाल्छ । तर गुरहीलाई पठाउन गएका बालिकाहरूले उसलाई रोक्छन्, चना दिएर खुशी बनाएर फकाउँछन् र गुरहीलाई गाउँसम्म ससम्मान बिदाई गरेर सबै बालबालिकाहरू फर्किन्छन् । उनी बाटो लाग्छिन् । यही कथाबाट प्रभावित भएर र गुरही किराको महत्वलाई बचाइराख्न यो पर्व चलाइएको हुनसक्ने कोपिलाको भनाइ छ ।

गुरही अर्थात् गाइने किराको महत्व 

गुरही अर्थात् गाइने किरा मानिसको मित्रजीव मानिन्छ । यसले कृषिदेखि पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यो किरम प्राकृतिक शिकारी किरा हो । यसले लामखुट्टे, झिँगा र बालीनाली नष्ट गर्ने साना किराहरू खाने गर्दछ । एउटा गुरहीले दिनमा ३० देखि एक सय वटासम्म लामखुट्टे खान सक्छ, जसले डेंगु र मलेरिया जस्ता रोग नियन्त्रणमा सहयोग पु¥याउँछ ।

यो किरा पानीको शुद्धताको सूचक पनि हो । यस किराका लार्भाहरू सफा र स्वच्छ पानीमा मात्र हुर्कन्छन् । कुनै सिमसार वा पोखरी क्षेत्रमा गाइने किरा प्रशस्त छन् भने त्यहाँको पानी र वातावरण स्वच्छ छ भन्ने बुझिन्छ । यस किराले प्रकृतिको खाद्य श्रृंखलामा पनि महत्वपूर्ण योगदान दिएको हुन्छ । यो किरा चरा, भ्यागुता, माछा र माकुरा जस्ता जीवहरूको मुख्य भोजन पनि हो ।

जसले खाद्य सन्तुलन बनाएर राख्ने गर्छ । गाइने किराले हेलिकप्टर र ड्रोनको डिजाइन विकासमा पनि सहायता दिएको विभिन्न लेखहरूमा उल्लेख छ । यस किराको उड्ने क्षमता र पखेटाको बनावट अध्ययनले वैज्ञानिकहरूलाई हेलिकप्टर र ड्रोनको डिजाइन विकास गर्न सहयोग गरेका प्रसँगहरू छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार