धनगढी ।
सुदूरपश्चिम प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । ग्यास नपाउँदा विद्यार्थी तथा एक सिलिण्डर मात्रै राख्न सक्ने उपभोक्ता मर्कामा परेका छन् । धनगढीस्थित समैजी सप्लायर्सका सञ्चालक दिपेन्द्र शाहीका अनुसार सोमबार दिउँसोसम्म २१८ वटा खाली सिलिण्डर जम्मा भइसकेका छन् । तर, ती उपभोक्तालाई वितरण गर्न भरिएका सिलिण्डर छैनन् ।
‘हिजो मात्रै ७० वटा सिलिण्डर दिएका थियौँ, हिजै सकियो,’ शाहीले भने, ‘कम्पनीले बिहीबार मात्रै ग्यास लिन बोलाएको छ । बिहीबारभन्दा अघि दिन नसक्ने भनेको छ ।’
नेपाल आयल निगमका अनुसार पछिल्ला केही दिनयता भारतबाट ग्यास आयातमा अवरोध हुँदा सुदूरपश्चिममा अभाव देखिएको हो । निगमको धनगढी डिपोका सूचना अधिकारी कुम्भराज जोशीले भारतको खिरी जिल्लामा लाग्ने ‘बोलबम’ मेलाका कारण सडकमा जाम भएपछि तीन दिनका लागि बाटो बन्द गरिएको बताए ।
उनका अनुसार सोमबार राति १२ बजेपछि मात्रै ग्यास बोकेका गाडी आवतजावत गर्न पाउनेछन् । भारतबाट ग्यास भरेर धनगढी आइपुग्न थप दुई–तीन दिन लाग्नेछ । भारतले शनिबार, आइतबार र सोमबारका लागि बाटो बन्द गरेको जोशीले बताए । कैलाली भन्सार कार्यालयले भने शनिबार चार बुलेट ग्यास जाँचपास गरी पठाएको जनाएको छ । ‘अरू बेला हामी शनिबार जाँचपास गर्दैनौँ । यसपटक शनिबार पनि चार बुलेट ग्यास जाँचपास गरेर पठाएका छौँ,’ भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले भने ।
उनका अनुसार गत वर्षको तुलनामा साउनमा ग्यासको आयात बढेको छ । निगमका सूचना अधिकारी जोशीका अनुसार साउनमा हालसम्म एक लाख ३९ हजार ८६० सिलिण्डर अर्थात् एक हजार ९९८ टन ग्यास आयात भएको छ । असारमा एक लाख नौ हजार २०० सिलिण्डर अर्थात् एक हजार ६५० टन ग्यास आपूर्ति भएको थियो ।
निगमले असार ३० गतेदेखि भरिएको सिलिण्डर बिक्री गर्न थालेको हो । त्यसअघि आधा सिलिण्डर मात्रै ग्यास बिक्री हुँदै आएको थियो ।
निगमका अनुसार असारमा आयात भएको एक लाख नौ हजार २०० सिलिण्डर ग्यासलाई दुई लाख १८ हजार ४०० सिलिण्डरमा भरेर बिक्री गरिएको थियो ।‘ग्यासको आयात बढे पनि भरिएको सिलिण्डर दिँदा सिलिण्डरको सङ्ख्या कम भयो,’ जोशीले भने, ‘अर्कोतर्फ ग्यास अभावको खबर फैलिएपछि उपभोक्ताले भरिएको सिलिण्डर स्टक राख्न थाले । त्यसले पनि समस्या आएको हो ।’ बजारमा ग्यासको अभाव देखिए पनि सुदूरपश्चिमका प्रशासनिक निकायले भने प्रभावकारी बजार अनुगमन गरेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्