कम्तीमा एक सय जना व्यक्तिहरू युनाइटेडले किस्ता समयमा नबुझाइदिएर र अटो नामसारी नगरिदिएर समस्यामा परेका छन् । उनीहरूमध्ये अधिकांश किसान रहेका र अटोचालक तथा व्यक्तिगत प्रयोजनका लागि गाडी खरिद गर्नेहरू समेत रहेका पीडितहरूले बताएका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ स्थित गोल्डेन स तरकारी तथा च्याउ उद्योगका सञ्चालक सुरेन्द्र खड्काले जानकी गाउँपालिका ६ स्थित युनाइटेड मोटर्स सप्लायर्स प्रालिबाट २०७८ सालमा तरकारी ढुवानीमा प्रयोग हुने बजाजको आरई म्याक्सिमा अटो खरिद गरेका थिए । उक्त अटो त्रिपुरेश्वर काठमाडौँमा केन्द्रीय कार्यालय रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग युनाइटेड र आफ्नो फर्म समेत त्रिपक्षीय ऋण सम्झौता गरी तीन लाख १५ हजार रूपैयाँँ ऋण किस्ताबन्दीमा तिर्ने गरी उक्त अटो खरिद गरिएको खड्काले जानकारी दिए ।
सम्झौताअनुसार मासिक किस्ता युनाइटेड मोटर्स सर्भिसलाई बुझाउने र युनाइटेडले उक्त किस्ता हुलास फिनसर्भलाई भुक्तान गर्ने गरी सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम उनले २०८१ जेठ ६ गते सबै किस्ता पूरा गरी ऋण भुक्तानी गरिसकेका छन् । उक्त रकम भुक्तानी भएको प्रमाणित गर्दै युनाइटेडले खड्कालाई नो अब्जेक्सन सर्टिफिकेट पनि दिइसकेको छ ।
आफँै तरकारी उत्पादन गर्दै र बेच्दै कमाएको पैसाबाट अटोको किस्ता भुक्तानी गर्दै आएका खड्कालाई किस्ता बुझाइसक्दा पनि पटक पटक हुलासबाट किस्ता नतिरिएको म्यासेज आइरह्यो । उनले युनाइटेडलाई त्यसबारेमा पटक पटक जानकारी पनि गराए । युनाइटेडले सबै कुरा मिलाउँदै जाने आश्वासन दिँदै भुलाएको खड्का बताउँछन् । युनाइटेडले अटोको नामसारी पनि गरिदिएन । अहिलेसम्म पनि उनको अटो युनाइटेडकै नाममा रहेको छ ।
यसरी अटो बिक्रेताबाट पीडित भइरहेका खड्का त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब तरकारी खेतीकै लागि भनेर ऋण लिन अर्काे बैंकमा जाँदा उनको नाम बैंकको कालो सूचीमा रहेको भनियो । उनले कसरी र कुन बैंकमा कालो सूचीमा छ भन्ने थाहा पाउन अनेक चक्कर लगाए । अन्तमा थाहा भयो, खड्काले किस्ता युनाइटेडलाई बुझाए पनि उसले हुलास फिनसर्भकहाँ उक्त रकम भुक्तानी गरिदिएको रहेनछ ।
त्यही कारण हुलासले खड्कालाई कालो सूचीमा राखेको रहेछ । अहिले सबै किस्ता बुझाइसकेका खड्काका नाममा हुलासले दुई लाख ८५ हजारभन्दा बढी रकम तिर्न बाँकी रहेको हिसाब देखाइरहेको छ । युनाइटेडले रकम भुक्तानी लिने तर फाइनान्स कम्पनीलाई नबुझाइदिँदा खड्काको सबै बैंकिङ कारोबार ठप्प छ ।
‘म दुःख गरिखाने किसानलाई विश्वास गरिएको कम्पनीले ठगी ग¥यो । उसको गल्तीले मेरो सबै कारोबार रोकिएको छ । ऋण लिन पनि मिलेको छैन । सेटलमेन्ट गराइदेऊ भन्दा पनि कम्पनीले अहिलेसम्म गरिदिएको छैन । युनाइटेडका मालिकले त भेट नै दिँदैनन्,’ खड्काले मिसन टुडेसँग भने । युनाइटेडबाट यसरी ठगीमा परेर बैंकको कालो सूचीमा पर्ने खड्का एक्ला व्यक्ति होइनन् । आफूले पैसा लिएर पनि फाइनान्समा भुक्तानी नगरेर र अटोहरू नामसारी नगरिदिएर समस्यामा परेको भन्दै पाँच जना व्यक्तिहरू मिसन टुडेको सम्पर्कमा आएका छन् ।
उनीहरूका अनुसार कम्तीमा एक सय जना व्यक्तिहरू युनाइटेडले किस्ता समयमा नबुझाइदिएर र अटो नामसारी नगरिदिएर समस्यामा परेका छन् । उनीहरूमध्ये अधिकांश किसान रहेका र अटोचालक तथा व्यक्तिगत प्रयोजनका लागि गाडी खरिद गर्नेहरू समेत रहेका पीडितहरूले बताएका छन् ।
यसरी समस्यामा परेका अर्का व्यक्ति डुडुवा गाउँपालिका ५ कम्दीका सुमन बुढाथोकी पनि हुन् । उनले तिर्नुपर्ने अटोको तीन लाख ३७ हजारको सबै किस्ता २०८१ साल कात्तिक ३० गते पूरा गरिसकेका छन् । तर, उनी पनि अहिले हुलासको कालो सूचीमा छन् । उनको पनि सबै बैंकिङ कारोबार ठप्प रहेको बताए । जानकी गाउँपालिका वडा नम्बर १ साइगाउँकी रञ्जना थापाले पनि अटो खरिद गरेकोमा उक्त अटोको सबै किस्ता २०८१ असार १६ गते नै पूरा गरिसकेकी छन् ।
तर उनको अटो अझै उनको नाममा नामसारी गरिएको छैन भने उनी पनि फाइनान्सको कालो सूचीमा परेकी छन् । नेपालगन्ज वडा नम्बर ८ का तरकारी व्यापारी रियाज अहमद राईले त झन् २०८० साल वैशाख ३ गते नै सबै किस्ता बुझाइसकेको श्रीमती सुविना खातुन राईको नाममा किनेको अटो अहिलेसम्म पनि नामसारी गरिएको छैन ।
अर्काेतिर हुलासको किस्ता भुक्तानी नगरिदिँदा उनी पनि कालो सूचीमा छन् । ‘बैंकको कारोबार ठप्प छ । जसोतसो क्यासबाट कारोबाट चलाइरहेको छु । युनाइटेडले मलगायत धेरैलाई समस्यामा पारिदिएको छ । गुनासो गर्न जाँदा पनि सुनुवाइ हुँदैन । मालिकलाई भेट्नै दिइँदैन,’ राईले भने । हुलासबाट पटक पटक म्यासेज र चिट्ठी आइरहेको बताउँदै उनले पैसा तिरिसक्दा पनि कालो सूचीमा पर्नुपरिरहेको बताए ।
यस सम्बन्धमा केही पीडितहरूले बाँके प्रहरीमा एक वर्षअघि निवेदन दिँदा सञ्चालक हिमांशु यादवलाई बोलाएर छलफल पनि गराइएको बताए। त्यसबेला एक हप्तामा सबै सेटलमेन्ट गर्ने र अटो नामसारी पनि गरिदिने सहमति गरेका यादव यसपछि ग्राहकलाई भेटै नदिने गर्न थालेका उनीहरू बताउँछन् ।
यसबारेका बुझ्न टेलिफोन सम्पर्क गर्दा युनाइटेड मोटर्स सर्भिसका सञ्चालक हिमांशु यावदले फोन उठाएनन् । पीडित अटो क्रेताहरूले पनि हिमांशुले फोन नउठाउने तथा भेट पनि नदिने गरेको मिसन टुडेलाई बताए । हुलास फिनसर्भका एक प्रतिनिधिले ग्राहकले किस्ता डिलरलाई बुझाए पनि डिलरले फाइनान्समा नुबुझाएमा ग्राहकहरूमा कालो सूचीमा पर्नसक्ने बताए । उनले त्यसका लागि ग्राहकहरूले डिलरमार्फत नै समस्या समाधानको पहल गर्नुपर्ने बताए ।
सम्झौताभन्दा तीनगुणा बढी ब्याज असुली
ग्राहकहरूबाट किस्ता असुल गरेर फाइनान्समा नबुझाइ रकम हजम गर्दै आएको युनाइटेड मोटर्स सप्लायर्सले ग्राहकसँग सम्झौताको भन्दा तीन गुणा बढी ब्याज असुली गरेको पाइएको छ । कृषक सुरेन्द्र खड्काको तरकारी फर्मको ऋणका लागि ६ प्रतिशत मात्रै ब्याजदर रहेको हुलासले उनलाई दिएको स्टेटमेन्टमा उल्लेख छ ।
तर, युनाइटेडले खड्कालाई किस्ता बुझाएको प्रमाणस्वरुप दिएको कागजमा ब्याजदर १८ प्रतिशत असुल गरिएको देखिन्छ । खड्काले सम्झौतामा ६ प्रतिशत ब्याज लाग्ने भनिए पनि १८ प्रतिशत ब्याज असुल गरिएको भन्दै आफू दोहोरो ठगीमा परेको बताए । अर्का पीडित सुमन बुढाथोकीबाट पनि १८ प्रतिशत नै ब्याज असुल गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्