नौ वर्षदेखि धुलो हिलो सहिरहेका खजुरावासीको सास्ती अझै लम्बिने



निर्माण ढिलाइले नौ वर्षदेखि धुवाँ धुलो र उबडखाबड सडकको सास्ती खेप्दै आएका खजुरवासीको दुःख अझै लम्बिने देखिएको छ। किनकी अहिले निर्माणको जिम्मा लिएको कम्पनीले पनि समयमै निर्माण गरिसक्ने अवस्था देखिएको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजारका व्यापारी रोहन गुप्ताले पहिले कपडाको व्यापार गर्दै आएका थिए । तर, सडक निर्माणमा भएको ढिलाइले धुलो उडेर कपडाहरू बिगार्दा उनको कपडाको व्यापार नै बर्बाद भयो । त्यसपछि उनले कपडाको व्यापार छोडेर पसलमा भगवानका फोटोहरू राखे । ती फोटोहरू पनि अहिले धुलोले बिग्रिएका छन् ।

‘जति सफा गरे पनि धुलोबाट जोगाउन सकिएन । धुलोकै कारण पहिले कपडाको पसल चौपट भयो । फोटोहरू बेच्न राखेँ । ती पनि धुलो जमेर बिग्रिएपछि व्यापार भएन । अहिले तरकारीको व्यापार गरिरहेको छु । तरकारी पनि धुलोले गर्दा पूरै बिग्रिन्छ । ग्राहकहरू किन्न मन गर्दैनन्,’ रोहनले भने । खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माण सुरु भएको नौ वर्ष भइसक्यो । तर अझै निर्माण पूरा भएको छैन ।

निर्माणको ठेक्का पाएको कम्पनीले काम अधुरै अलपत्र पार्ने र गुणस्तरहीन काम गरेपछि ठेक्का रद्द गरेर अर्काे ठेक्का सम्झौता गरिएको छ । निर्माण ढिलाइले नौ वर्षदेखि धुवाँ धुलो र उबडखाबड सडकको सास्ती खेप्दै आएका खजुरवासीको दुःख अझै लम्बिने देखिएको छ । किनकी अहिले निर्माणको जिम्मा लिएको कम्पनीले पनि समयमै निर्माण गरिसक्ने अवस्था देखिएको छैन ।

उक्त सडकखण्डको निर्माणको जिम्मा पाएको मैटवा एनएसटी स्ट्रेटलाइन जेभीका प्रतिनिधि तारा ओलीले अहिलेसम्म नालातर्फको निर्माणकार्य लगभग पूरा भएको र सडकमा अस्फाल्ट ओभरले गर्ने काम बिटुमिन अभावले रोकिएको बताए । उनले भने, ‘बिटुमिन पाइएको छैन । सबै निर्माण सामग्रीको मूल्य बढेको छ । अरु त ठिकै थियो । बिटुमिन नपाइँदा काम प्रभावित भएको छ ।’

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर टोपेन्द्र खड्काका अनुसार उक्त सडक खण्डको काम अहिलेसम्म २५ देखि ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । खड्काले पनि बिटुमिन अभाव तथा इन्धनको मूल्यवृद्धिले ठेकेदारले कामको गति घटाएको बताए ।

‘हामीले पत्र लेखेर घचघच्याइ चाहीँ रहेका छौँ । तर बिटुमिन नपाइएको र डिजेलको मूल्य बढेकोले ढिलाइ भइरहेको कुरा ठेकेदारबाट आएको छ । सरकारले राहतका कार्यक्रम चाँडो ल्याइदिएको भए चाँडो हुनुसक्थ्यो । तर ढिलो भएमा यस आर्थिक वर्षमा निर्माणकार्य नसकिन सक्छ,’ खड्काले भने । निर्माण ढिलाइले नौ वर्षदेखि सास्ती खेप्दै आएका खजुरेली र हुलाकी सडक हुँदै यात्रा गर्ने बर्दिया लगायतका जिल्लाका नागरिकहरू अहिले धुलो र वर्षामा हिलोको सास्ती भोग्नुपर्ने चिन्तामा छन् ।

सोही सडकखण्डमा पर्ने पेडारी नालाको पुल पनि निर्माण भइसकेको छ । तर पुलको दुईतर्फ ५०–५० मिटर सडक पनि निर्माणकार्य पनि सामग्री अभाव र मूल्यवृद्धिले रोकिएको छ । मैटवा एनएसटी स्ट्रेटलाइन जेभीका प्रतिनिधि ओली भन्छन्, ‘पुलको ठेक्का अर्कै कम्पनीको हो । तर, दुईतर्फ सडक ग्राभेलसम्म गर्ने जिम्मा सोही कम्पनीको हो । तर त्यहाँ पनि ग्राभेलको काम भएको छैन । त्यो काम भएपछि हामीले अस्फाल्ट हाल्ने हो ।’

ओलीले जेठ १५ बाट अस्फाल्ट ओभरलेको काम सुरु गर्ने तयारी गरिए पनि अहिलेसम्म बिटुमिन पाइने नपाइने यकिन नरहेको बताए । उक्त सडकखण्ड निर्माणका लागि ७ करोड रूपैयाँँमा असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको इन्जिनियर खड्काले जानकारी दिए । तर, बाँकी रहेका करिब दुई महिनामा सडकको ७० प्रतिशत काम हुन कठिन देखिन्छ । यसको अर्थ सडक निर्माण पूरा भएन भने खजुरावासीले आउने वर्षामा हिलोको सास्ती खेप्नुपर्नेछ ।

खजुरास्थित दीपक इंगलिश स्कुलका संस्था प्रधानाध्यापक राजेन्द्र आचार्य अहिले धुलोले गर्दा विद्यार्थीहरूलाई विद्यालय आउनजान निकै सास्ती रहेको बताए । उनले मुस्किलले दुई किलोमिटर सडक पनि नौ वर्षदेखि निर्माण पूरा नहुँदा र अहिले पनि गति सुस्त हुँदा आफूहरू निकै मर्कामा परेको बताए । ‘जाबो दुई किलोमिटर सडक पनि यतिका समयसम्म निर्माण पूरा गर्न नसक्नु राज्यको लाचारी हो । जनताले धेरै सास्ती खेपिसकेकोले अब तोकिएको समयमै निर्माण सम्पन्न हुनुपर्छ,’ आचार्यले भने ।

खजुरा बजारस्थित एक मार्टका सञ्चालक विश्वास कक्षपतिले सडकको धुुलोले मार्टका सामनहरू समेत बिग्रिरहेका बताए । ‘ढोकामा काँच लगाइएको छ । यसमा पनि सडकबाट उछिट्टिएर आएका ढुंगा लागेर दुई तीनपटक फुटिसक्यो,’ कक्षपतिले भने । पेडारी नालामा निर्माणाधीन पुल छेउमै खाजा नास्ता पसल सञ्चालन गर्दै आएकी वर्षा मल्लले सडकबाट उड्ने धुलोका कारण आफ्नो व्यापार नै चौपट भएको बताइन् ।

‘ग्राहकहरू नास्ता खान आउँदा टेबुलदेखि भान्सासम्ममा धुलो जमेको देखेपछि नखाएरै फर्किन्छन् । सडक आज बन्ला भोलि बन्ला भन्दाभन्दै नौ वर्ष बितिसक्यो । ढिलाइले हामीलाई भएको क्षति र मर्का कसले बुझिदिने ?’ मल्लले भनिन् । खजुरा बजारमै ब्युटी पार्लर सञ्चालन गर्दै आएकी गिता गिरीले धुलोका कारण पटक पटक बिरामी भइरहेको बताइन् ।

‘साँझको समयमा यहाँ धुलोले सासै फेर्न सकिन्न । एक दुई दिनको कुरा भए पो, नौ वर्षदेखि यस्तै सास्ती खाइरहेका छौँ । राज्यले यस्तो किन गरेको हो बुझ्नै सकिएको छैन,’ गिरीले भनिन् । हुलाकी राजमार्ग अन्तर्गतकै गुलरिया खण्डको निर्माणकार्य पनि अझै पूरा भएको छैन । जिभिटी, एसएनएस, डिसीपिएल जेभीले असार १५ गतेसम्म निर्माण सक्ने गरी ७ करोड ४६ लाखमा सम्झौता गरेको उक्त सडकको पनि २५ देखि ३० प्रतिशत मात्रै काम भएको खड्काले बताए ।

पेडारी पुल पनि समयमा निर्माण पूरा नहुने 

नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरामै पर्ने पेडारी नालामाथिको करिब ६ दशक पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माणाधीन छ । पुलको मुख्य भाग निर्माण सकिए पनि समयमै पुल निर्माणको सबै काम पूरा नहुने भएको छ । २०८२ जेठ १९ गते सम्झौता भएकोमा २०८३ वैशाख १९ गतेभित्र पुल निर्माण गरिसक्ने लक्ष्य थियो ।

तर, अहिले पुलको मुख्य संरचना बने पनि बाँकी निर्माणकार्य पूरा भएको छैन । उक्त पुलको निर्माणको ठेक्का नारायणम निर्माण सेवा प्रालिले आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रूपैयाँमा पाएको थियो । हुलाकी सडक निर्माण गर्दा र खजुरा बजारको सडक विस्तार गर्दा पनि योजनामा छुटाइएको उक्त पुललाई विस्थापित गरेर नयाँ २२ मिटर चौडा पुल निर्माण गरिएको हो ।

पुलको मुख्य संरचना बनिसकेको छ भने पुलको दायाँ बायाँ खोलाको बहाव छेक्ने तटबन्ध निर्माणकार्य चलिरहेको छ । यसैगरी, पुलको दुईतर्फ ५०–५० मिटर सडक पनि निर्माणाधीन छ । तर सडक निर्माणको कामको गति सुस्त छ । त्यसो हुनुको कारण पनि सामग्री अभाव र मूल्यवृद्धि नै रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर टोपेन्द्र खड्का बताउँछन् । ३४ दशमलव चार मिटर लम्बाइ रहेको पुलमा ११–११ मिटरका दुईवटा पुल गाँसेर तयार गरिएको छ । पुलको बीचभागमा दुई मिटरको डिभाइडर राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार