अध्यादेशमा राष्ट्रपतिलाई सुझाव दिन शीतलनिवास पुगे ८ कानुननविद्



काठमाडौँ ।

सरकारले सिफारिस गरेको ६ वटा अध्यादेशमा सुझाव दिन ८ जना कानुनविद् राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएपछि उनीहरू शीतलनिवास पुगेका हुन् ।

शीतलनिवासले कानुनविद्हरू भीमार्जुन आचार्य, विपिन अधिकारी, शेरबहादुर केसी, शम्भु थापा, टीकाराम भट्टराई, महादेव यादव, पूर्णमान शाक्य र ललित बस्नेतलाई बोलाएको थियो ।

सरकारले सिफारिस गरेकामध्ये बिहीबार राष्ट्रपति पाैडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । अरु संवैधानिक परिषद्, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, केही नेपाल ऐनलाई संशोधन भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बीमालगायत कानुनमा देखिएका अवरोध हटाउने सम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश सिफारिस भएको हो ।

त्यस्तै, सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेश पनि सरकारले जारी गर्न सिफारिस गरेको छ । कानुनविद्सँग छलफल गर्नु अघि राष्ट्रपति पाैडेलले महान्याधिवक्ता डा. नारायणदत्त कँडेलसँग छलफल गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार