बाँके, पुस २० गते । बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालगन्जका ब्यवसायीहरु टंकप्रसाद शर्मा सहितको समूहले करिब २० करोडको लागतमा शीत भण्डार निर्माण सुरु गरेको हो । १० हजार टन भण्डारण क्षमताको शीत भण्डार यहि फागुन महिनाबाट संचालनमा ल्याउने गरि निर्माण कार्यलाई तिव्रता दिइएको संचालक शर्माले जानकारी दिए । नेपालगन्जबाट करिब ५ किलोमिटर पश्चिम खजुरा नजिकै २ बिघा जग्गामा नेपालगन्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण कार्य हाल धमाधम भईरहेको छ । जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ देखि भएपनि गत बैशाखदेखि निर्माण कार्य सुरु भएको हो ।
स्टिल बेसको संरचना अन्तिम चरणमा पुगेको छ , संचालक शर्माले भने,– एमुनियम ग्याँस छोडेर नयाँ टेक्नोलोजी भित्राएका छौं । नेपाल जडिबुटी ब्यवसायी सङ्घका केन्द्रीय महासचिव समेत रहेका शर्माले शीत भण्डारमा जडिबुटी भण्डारण मुख्य लक्ष्य भएको बताए । यसैगरी कर्णालीको स्याउ, तरकारी र आलु पनि भण्डारण गर्ने लक्ष्य पनि छ । मध्य र सुदुरपश्चिमका किसानका उत्पादनलाई भण्डारण गर्ने लक्ष्य राखिएको छ । शीतभण्डारको अभावमा यसक्षेत्रको जडिबुटी भण्डारणका लागि भारतको लखनउ लगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको शर्माले बताए । यसैगरी कर्णालीमा उत्पादन हुने स्याउ भण्डारण गर्ने लक्ष्य समेत राखिएको शर्माले बताए । शीत भण्डार निर्माणका लागि सरकारले सहुलियतको निर्णय गरेको भएपनि सहुलियत नपाइएको शीतभण्डार संचालकहरुको गुनासो रहेको छ ।
सहुलियतको निर्णय भएको छ भनिन्छ, शर्माले भने – तर भारतबाट ल्याएको सामान २० दिनसम्म भन्सारमा रोक्नुपर्ने अवस्था छ । बाँकेमा हाल सहकारीले कोहलपुरमा शीत भण्डार संचालन गरिरहेको छ । कोहलपुरमा दुईहजार ५०० टन क्षमताको शीत भण्डार संचालन भईरहदा निजी क्षेत्रबाट १० हजार टन क्षमताको शीत भण्डार निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । lokpery
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्