कञ्चनपुर ।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ ।
त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।यस अवधिमा सबैभन्दा बढी गत चैतमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताए । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ ।
“नेपालकै सबैभन्दा ठुलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्”, वाग्लेले भने ।









प्रतिक्रिया दिनुहोस्