खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकाको पालिका गान सार्वजनिक गरिएको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रममा उक्त गान सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष डम्मर विक तुफानको प्रमुख आतिथ्यता र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिका गान सार्वजनिक गरियो ।
खजुरा प्रज्ञा प्रतिष्ठानले तयार गरेको उक्त गानमा टीका पुन, पूर्णकला बिसी, प्रभात सुवेदी र महेन्द्र सेढाईको स्वर रहेको छ । बोधराज प्याकुरेल, इन्द्र भण्डारी, ईश्वरी रिजाल र प्रभात सुवेदीको संयुक्त शब्द संयोजन रहेको उक्त गीतमा बिबि अनुरागीले संगीत दिएका छन् । प्रिज्म रेकर्डिङ स्कुडियोमा रेकर्ड गरिएको उक्त गीत प्राविधिक तथा कलाका सबै पक्ष विचार गरेर तयार गरिएको प्रतिष्ठानका उपकुलपति डा. भण्डारीले जानकारी दिए ।
गान सार्वजनिक कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले आफूहरु निर्वाचित भइसकेपछि गठन गरिएको प्रतिष्ठानले गाउँपालिकाको गर्व उचो बनाउने गान तयार गरेकोमा खुसी व्यक्त गरे । उनले गानले खजुराबासी नागरिकहरुलाई एकसुत्रमा बाँध्न सहयोग गर्ने पनि बताए ।
गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले पनि गान उत्कृष्ट बनेको र पालिकाका औपचारिक कार्यक्रममा गानले ऊर्जा थप्ने विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष धनराम ओलीले गानले खजुराको समग्र सामथ्र्य र लक्ष्यलाई प्रतिनिधित्व गरेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले गानले भावनात्मक रुपले सबैलाई उर्जा प्रदान गर्ने बताए । प्रतिष्ठानका सचिव मणि अर्यालले सञ्चालन गरेको गान सार्वजनिक कार्यक्रममा गाउँपालिकाका शिक्षक तथा बुद्धिजीवी वर्गको उपस्थिति रहेको थियो ।
यस्तो छ खजुराको पालिका गान
सबै जाति भाषाधर्म खजुरेली रीत,
एकताको माला गाँसी, गाउँछौँ एउटै गीत ।।
उढरापुर, सोनपुर अनि बागेश्वरी,
पौरखी छौँ देशभक्ति हाम्रो नसाभरि ।
रनियापुर, सीतापुर, राधापुरे धरती,
कर्म गरौँ यही माटोमा फल्छ हिरामोती ।
देशको लागि अघि बढ युग यही भन्छ,
पसिनाले भिजाउँ भूमि स्वर्ग यही बन्छ ।
शिक्षा, स्वास्थ्य, खेल, कला, साहित्य हजुर
प्राणभन्दा प्यारो हाम्रो पालिका खजुरा









प्रतिक्रिया दिनुहोस्