निर्वाचनमार्फत भेरी शीतभण्डारको नेतृत्व चयन



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर ११ स्थित भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बलराम भट्टराई निर्वाचित भएका छन्। पहिलो कार्यकालमा निर्विरोध चयन भएका भट्टराई दोस्रो कार्यकालका लागि भने निर्वाचनमार्फत निर्वाचित भएका हुन् ।

सहकारीको सञ्चालक समिति र लेखा समिति चयनका लागि शनिबार मतदान सम्पन्न भई रातिदेखि सुरु भएर आइतबार बिहान मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको थियो । निर्वाचन समिति संयोजक होमप्रकाश सुवेदीका अनुसार शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

शनिबार राति ९ बजेदेखि सुरु गरिएको मतगणना आइतबार बिहान ३ बजे सम्पन्न भएको र तत्पश्चात् मतपरिणाम घोषणा गरिएको सुवेदीले जानकारी दिए । जसमा सञ्चालक समिति अध्यक्षमा भट्टराईले ६९६ मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिद्वन्द्वी युवराज पौडेलले ५२९ मत प्राप्त गरेको संयोजक सुवेदीले जानकारी दिए । अघिल्लो कार्यकालमा भट्टराई अध्यक्ष र पौडेल उपाध्यक्ष थिए ।

आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमार्फत भट्टराई पुनःअध्यक्षमा निर्वाचित भएका हुन् । उनका अनुसार उपाध्यक्षमा अम्मरबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ६३९ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी मोहन रिजालले ५३७ मत प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा गौरीकान्त आचार्यले ६७६, सिताराम थारुले ६१९, अर्जुन थारुले ५९१ र भीमबहादुर डाँगीले ५९१ मत प्राप्त गरी विजयी भए ।

यसैगरी लेखा समिति संयोजकमा विष्णुकुमारी चौधरीले ६६९ मत प्राप्त गरि विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी हेमकान्त लामिछानेले ४५० मत प्राप्त गरेको निर्वाचन संयोजक सुवेदीले जानकारी दिए । शीतभण्डारमा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति रहेको छ। ३ सदस्यीय लेखा समितिमा पनि यसअघि नै दुई सदस्य निर्विरोध भइसकेका थिए ।

हाल सञ्चालक समिति अध्यक्ष, उपाध्यक्ष तथा चार जना सदस्य र लेखा समिति संयोजकको निर्वाचन भएको हो । सुवेदीका अनुसार शीतभण्डारमा कूल ३ हजार ७८७ जना सेयर सदस्य रहेकामा १ हजार ३ सय ६९ जनाले मतदान गरेका थिए । जसमध्ये १ हजार २९२ मत सदर र ७७ मत बदर भएको थियो । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सोमबार (आज) दिउँसो सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार