नेपालगन्ज (बाँके) ।
क्रियाशील पत्रकार महिला बाँकेले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले भित्तेपात्रो सार्वजनिक गरे ।
अध्यक्ष चौलागाईंले पत्रकार महिलाको व्यावसायिकता र दक्षता अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा लागिरहेको उल्लेख गरे । उनले पत्रकार महिलाहरूको यस्तो क्रियाशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूको व्यावसायिक सशक्तीकरणका लागि नयाँ योजनाहरू अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
साथै, सरकारी विज्ञापन वितरणमा देखिएको विभेदप्रति राज्य गम्भीर बन्नुपर्ने उनको धारणा थियो । क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्वअध्यक्ष उमा थापा मगरले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै विगतदेखि हालसम्मका चुनौतीहरूबारे चर्चा गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीले ‘हामी बोल्छौँ, हामी लेख्छौँ र हामी बदल्छौँ’ भन्ने नाराले पत्रकार महिलाको सक्रियता झल्काउने बताउँदै आगामी दिनमा थप सशक्त भूमिका खेल्न आग्रह गरे । नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतमले पत्रकार महिलाहरूको क्रियाशीलताका लागि आफूले सधैँ सकेको सहयोग गर्ने बताउँदै पत्रकार महिलाहरूलाई निरन्तर क्रियाशील रहन सुझाव दिए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले क्रियाशील पत्रकार महिलाहरूका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै व्यावसायिक विकास र सहभागितामा निरन्तर सहयोग रहने बताए । कार्यक्रममा कार्यालय व्यवस्थापनका लागि सहयोग गर्ने अर्बन फर्निचर एण्ड फर्निसिङ हब प्रालिका सञ्चालक अफजल खान र भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सुवि एजुकेशन एण्ड भिसा सर्भिसका प्रोप्राइटर बिनोज बास्तोलालाई सम्मान गरिएको थियो ।
साथै, थारु पत्रकार संघ बाँकेका नवनिर्वाचित अध्यक्ष जागेश्वर चौधरीलाई बधाई ज्ञापन गरिएको थियो । अध्यक्ष सावित्री गिरीले भित्तेपात्रो प्रकाशनलाई पहिलो प्रयासको रूपमा लिँदै आगामी दिनमा यसलाई निरन्तरता दिइने बताइन् । उनले स्मारिका प्रकाशनको अनुभवलाई उपयोग गर्दै भित्तेपात्रो प्रकाशन सफल भएको उल्लेख गर्दै पत्रकार महिलाहरूलाई थप व्यावसायिक बनाउने लक्ष्य रहेको बताइन् । साथै, पत्रकार महिलाहरूको पारिश्रमिकका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।









प्रतिक्रिया दिनुहोस्