महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम



जनकपुरधाम ।

महिलालाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउने उद्देश्यले फाइबर माला तथा कालोधुप, कपासका बत्ती बनाउनेसम्बन्धी ११ दिने तालिम आयोजना गरिएको छ । जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्थामा आइतबार तालिमको समापन गरिएको हो ।

‘गरिबसँग विषेश्वर’ कार्यक्रमअन्तर्गत वडाको रु तीन लाखको सहयोगमा आयोजना गरिएको तालिममा आर्थिक अवस्था कमजोर भएका ३० जना महिलाको सहभागिता थियो । फाइबर माला तथा कालोधुप, कपास बत्ती तालिम उपभोक्ता समिति जनकपुरधाम–२१ कुर्थाद्वारा सञ्चालित तालिमका सहभागी महिलालाई आइतबार एक समारोहबिच तालिम प्रमाणपत्र वितरण गरिएको थियो ।

जनकपुरधाम–२१ स्थित कुर्थामा सो तालिमको समापनका अवसरमा आयोजित समारोहमा २१ नं वडाका वडाध्यक्ष राजनारायण साहले महिलाले आफ्नो हकअधिकारका लागि घरमा मात्र बसेर नहुने स्वरोजगार बन्नुपर्ने धारणा राखे । त्यसका लागि समयसापेक्ष विभिन्न किसिमका सीपमूलक तालिम लिएर आत्मनिर्भर तथा व्यवसायी बन्नुपर्नेमा जोड दिए ।

सरकारी तथा गैरसरकारी लगायत विभिन्न क्षेत्रबाट महिलालाई दिइने रोजगारमूलक तथा व्यवसायमूलक तालिमलाई व्यवहारमा उर्तान सके मात्र तालिमले स्वरोजगारी उपलब्ध गराउने बताए । जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले समाजको विकासमा महिलाको ठुलो योगदान रहेकाले महिला सशक्तीकरणमा जोड दिनुपर्ने तथा महिलाको हक तथा अधिकारका लागि राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय समाचार समिति ९रासस० जनकपुरका कार्यालय प्रमुख सुरेश झाले तालिमबाट सिकेका सीप व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिम आयोजक समितिका अध्यक्ष मैफुल खातुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गरिबसँग विषेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास, तालिमका मुख्य प्रशिक्षक चन्द्रकला सिंह, सहायक प्रशिक्षक नुतनकुमारी ठाकुरलगायत व्यक्तले तालिमको महत्त्वका विषयमा धारणा राखे । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार