काठमाडौँ।
नेपालको सीमावर्ती क्षेत्रहरूमा हालै १०० रूपैयाँँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिइरहेको घटनाप्रति नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र नभई वर्तमान आर्थिक संकटकाबीच जनताको ढाड सेक्ने अर्को बोझ भएको बताए । विज्ञप्तिमा लेखिएको छ, ‘खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन् ।
विशेषगरी मधेश प्रदेशका लाखौँ सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।’ यता डिजेलको मूल्य २३७ रूपैयाँँ प्रतिलिटरजस्तो उच्च स्तरमा पुगेको अवस्थामा २–३ सय रूपैयाँँको सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु भनेको जनताको क्रयशक्ति कमजोर पार्नु मात्र नभई गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम भएको विज्ञप्तिमा उल्लेख छ ।
यस निर्णयले केही गम्भीर प्रश्नहरू समेत उठाएको कांग्रेले बताएको छ । ‘राजस्व संकलन राज्यको दायित्व हो, तर जनताको जीवन र जीवनस्तरको संरक्षण त्यो भन्दा ठूलो प्राथमिकता हो । जनताको दैनिक जीवनमा थप बोझ पार्ने कुनै पनि नीति स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । संवेदनशीलता, न्याय र व्यवहारिकताका आधारमा उक्त निर्णयमा तत्काल पुनर्विचार गगर्न काँग्रेसले आग्रह समेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्