
नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा आकासे पुल निर्माणकार्य सुरु गरिएको छ । प्रमुख व्यापारिक तथा आवागमन केन्द्र मंगलगढी चोकमा सवारी चाप बढ्दै जाँदा पैदल यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकासे पुल निर्माण गर्न लागिएको हो ।वीरेन्द्रनगर नगरपालिकाका अनुसार चोक क्षेत्रमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च रहेको छ ।
त्यसलाई न्यूनीकरण गर्न आकासे पुल निर्माणलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । पुल निर्माणपछि पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा पनि सुधार आउने अपेक्षा गरिएको छ । यात्रुको सहज यातायात र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आकासे पुलको अवधारणा ल्याइएको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।
‘मंगलगढी वीरेन्द्रनगरको सबैभन्दा व्यस्त चोक हो,’ उनले भनिन्, ‘पछिल्लो समय सवारीसाधनहरूको संख्या अत्यधिक बढेसँगै पैदल यात्रुहरूलाई ओहोर—दोहोर गर्न समस्या छ ।’ उनका अनुसार पैदल यात्रुहरूले सडक पार गर्दा सवारीसाधनहरूले ठक्कर दिने र दुर्घटना बढ्ने जोखिम बढेकाले नगरपालिकाले यो योजना अघि सारेको हो ।
प्रदेश सरकारले पनि अघिल्लो पटक आफ्नो नीति तथा कार्यक्रममा यो योजना राखेको थियो । तर वीरेन्द्रनगर नगरपालिका आफैँले एक करोड ५९ लाख ८६ हजार खर्च गरेर आकासे पुल निर्माण गर्न लागेको हो । पुल निर्माणको जिम्मा अजोड कन्सट्रक्सन कम्पनी काठमाडौँले पाएको छ । पुस महिनादेखि काम सुरु गरेको उक्त कम्पनीले जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
नगरपालिकाका इन्जिनियर इश्वरी ढकालले हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनका अनुसार काम आधा सकिएको छ । जसमा ग्राउन्ड लेवलको स्टक्चरको काम सकिएको हो । ‘मंगलगढीमा फोरलेन सडक छ । रत्न राजमार्गअन्तर्गत धुलियाबिट, सुब्बाकुना, बाङ्गेसिमल जोड्ने मूल सडक हुँदा निकै व्यस्त हुन्छ,’ उनले भने, ‘पुल बनेसँगै आवत–जावतमा सहजता आउनेछ । विशेषगरी पैदल यात्रुले भोग्दै आएको सास्ती हट्नेछ ।’
वीरेन्द्रनगरले यसलाई आफ्नो नगर गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । आकासे पुलको हाइट सडकदेखि ६ मिटर अग्लो रहनेछ भने १७ मिटर चौडाइ रहनेछ । आकासे पुल चढ्नको लागि दुई लेन राखिनेछ । नगरपालिकाको आगामी योजनामा बसपार्क जाने बाटोमा पनि आकासे पुल बनाइने उल्लेख छ । स्थानीय बासिन्दाले पनि आकासे पुल निर्माणलाई सकारात्मक रूपमा लिएका छन् । यसले दुर्घटना घटाउनुका साथै सहरको सौन्दर्यमा समेत वृद्धि गर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्