नेपालगन्जस्थित अम्बे फर्निसिङ गार्डेनका सञ्चालक पंकज कुमार श्रेष्ठले आमा स्वर्गीय अन्जु श्रेष्ठको सम्झनामा धनगढी विमानस्थल, सुर्खेत विमानस्थल, नेपालगन्ज विमानस्थल, राप्ती गाउँपालिका दाङ र बर्दिया अस्पतालमा स्तनपान कक्ष सञ्चालमा ल्याएका हुन् ।
नेपालगन्ज ।
बाँके नेपालगन्जका एक उद्योगीले मातातीर्थ औंसीको अवसरमा आमाको सम्झनामा पाँच स्थानमा स्तनपान कक्ष निर्माण गरेका छन् ।नेपालगन्जस्थित अम्बे फर्निसिङ गार्डेनका सञ्चालक पंकज कुमार श्रेष्ठले आमा स्वर्गीय अन्जु श्रेष्ठको सम्झनामा धनगढी विमानस्थल, सुर्खेत विमानस्थल, नेपालगन्ज विमानस्थल, राप्ती गाउँपालिका दाङ र बर्दिया अस्पतालमा स्तनपान कक्ष सञ्चालमा ल्याएका हुन् ।
व्यवसायी श्रेष्ठका अनुसार थप ३ वटा स्तनपान कक्ष निर्माणको क्रममा रहेका छन् भने यस वर्षको असार मसान्तसम्ममा देशका विभिन्न स्थानका १० वटा स्थानमा स्तरपान कक्ष निर्माण गर्ने लक्ष्य लिइएको छ । आमाको सम्मान, शिशुको स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै स्तनपान कक्ष स्थापना गरेको व्यवसायी श्रेष्ठले जानकारी दिए ।
स्तनपान कक्षमा बस्नका लागि सोफा, कुर्सी, टेबल, पार्टेशन तथा कार्पेटिङको काम अम्बे फर्निसिङले गरेको श्रेष्ठले बताए । स्तनपान कक्षका लागि स्थल सम्बन्धित कार्यालयले उपलब्ध गराएको र बाँकी व्यवस्थापनको काम आफूहरूले गरेको उनले जानकारी दिए । व्यवसायी श्रेष्ठका अनुसार करिब १० वर्षअघि दिवंगत आमाको सम्झनामा स्तनपान कक्ष बनाउने सोच अनुरुप करिब एक वर्षअघि नेपालगन्ज विमानस्थलमा स्तनपान कक्ष बनाइएको हो ।
त्यसपश्चात अरु विमानस्थलमा पनि स्तनपान कक्षको आवश्यकता रहेकोमा आफूले कक्षका लागि फर्निसिङको काम गरिदिने प्रस्ताव राखेको उनले बताए । आफूले आमाका नाममा विभिन्न किसिमको सहयोगहरू गर्दै आएकोमा पछिल्लो समय धेरैलाई प्रभाव पार्ने काम गर्ने लक्ष्यसहित स्तनपान कक्ष निर्माण गर्ने सोच आएको बताए ।
‘सानो सानो सहयोगहरू गर्नुभन्दा आमाको सम्झनामा धेरैलाई काम लाग्ने काममा खर्च किन नगर्ने भन्ने सोचअनुरुप स्तनपान कक्ष बनाउने योजना अघि सारेको हुँ,’ व्यवसायी श्रेष्ठले मिसन टुडेसँग भने । उनका अनुसार अब विराटनगर विमानस्थल, शारदा नगरपालिका सल्यान, इलाका प्रशासन कार्यालय लमही दाङमा पनि स्तनपान कक्ष निर्माण गर्ने तयारीमा रहेको छ ।
‘कतिपय ठाउँमा म आफैँले प्रस्ताव राखेँ भने कतिपय ठाउँमा सम्बन्धित कार्यालयबाट अनुरोध आएपछि निर्माण गरेका हौँ । हामी यस कामलाई आगामी दिनमा आवश्यकताका आधारमा निरन्तरता दिँदै जानेछौँ,’ श्रेष्ठले भने । श्रेष्ठले अब निर्माण गरिने स्तनपान कक्षमा थप व्यवस्थित र सुविधायुक्त सोफा तथा कुर्सीहरूको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए । अम्बे फर्निसिङ गार्डेन नेपालगन्जको एक स्थापित फर्निचर उद्योग हो । उद्योगले उच्च गुणस्तरका फर्निचरहरू उत्पादन तथा बजारीकरण गर्दै आएको जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्