पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो



पर्वत ।

यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ । अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो। नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेका बेला पर्वतको सबैभन्दा उचाइमा रहेको नयाँ गन्तव्य कोखेडाँडा र हम्पाल क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

मोदी गाउँपालिका(१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको आकर्षक स्थान हो । समुद्री सतहबाट तीन हजार ३०९ मिटरको उचाइमा रहेको यो स्थान निकै मनमोहक र सुन्दर छ । यो जिल्लाकै सबैभन्दा उच्च स्थान पनि हो।छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्रामार्फत पुग्न सकिने कोखेडाँडाबाट यतिबेला रङ्गीबिरङ्गी लालीगुराँस, सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रूपमा देख्न सकिन्छ।

लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेपछि यहाँ पर्यटकको चहलपहल बढ्दै गएको बताए। गुरुङले रु एक करोड २० लाखको लगानीमा आपा कटेज स्थापना गरी सञ्चालन गरिरहेका छन्। कटेजमा एक रातमा नेपाली ४० जनासम्म बास बस्न मिल्ने बताउँदै उनले विदेशी १५ जनासम्म राख्न सकिने जानकारी दिए।

अहिले अग्रिम बुकिङ गरेर आउनेहरूको सङ्ख्या उल्लेख्य रहेको गुरुङले बताउनुभयो । विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका उनको भनाइ छ ।बस्नका लागि स्थान सीमित भए पनि दैनिक सयौँ पर्यटक आएर अवलोकन गरी फर्किने गरेका गुरुङले बताउनुभयो ।

आफ्नो कटेजमा आउने आन्तरिक र बाह्य पर्यटकलाई छुट्टाछुट्टै दररेटको दरभाउ ९प्याकेज० बनाइएको जानकारी दिए।कोखेडाँडामा विभिन्न ३० देशका झन्डासमेत राखिएको छ । बाह्य पर्यटकको आकर्षण बढाउनका लागि भारत, एसियासहित अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अष्ट्रेलिया र अमेरिकन देशका झन्डाहरूले सजाएर आकर्षक बनाइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार