आजको आवश्यकता भनेको घोडाघोडी ताललाई केवल सम्भावनाको रूपमा हेरेर बस्ने होइन, त्यसलाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्ने हो । प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्व र जैविक विविधताको अद्वितीय संगम रहेको यस क्षेत्रलाई व्यवस्थित विकास गर्न सकियो भने यसले पर्यटन, रोजगारी र आर्थिक विकासका नयाँ ढोका खोल्न सक्छ ।
शेरबहादुर धामी
कैलाली जिल्लाको मुटुमा अवस्थित घोडाघोडी ताल प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक महत्वका दृष्टिले अत्यन्त महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने यो तालले पर्यटकलाई आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । तर विडम्बना के छ भने यति ठूलो सम्भावना बोकेको घोडाघोडी तालको संरक्षण, व्यवस्थापन र प्रवद्र्धनमा सरकारको दृष्टि पर्याप्त रूपमा पुग्न सकेको छैन । परिणामस्वरूप यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । घोडाघोडी ताल केवल एउटा प्राकृतिक ताल मात्र होइन, यो नेपालको महत्वपूर्ण सिमसार क्षेत्र हो । सन् २००३ मा यस क्षेत्रलाई अन्तर्राष्ट्रिय सिमसार महासन्धि (रामसार सूची)मा सूचीकृत गरिएको थियो । यसले यसको वातावरणीय तथा पारिस्थितिक महत्वलाई विश्व स्तरमै मान्यता दिएको प्रमाण हो । घोडाघोडी ताल क्षेत्रभित्र १३ भन्दा बढी साना–ठूला ताल, विभिन्न प्रजातिका वनस्पति, दुर्लभ चराचुरुङ्गी, जलचर तथा वन्यजन्तु पाइन्छन् । जैविक विविधताको हिसाबले यो क्षेत्र अत्यन्तै महत्वपूर्ण छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण घोडाघोडी तालले पर्यटकलाई शान्त वातावरण, हरियाली वन, चराचुरुङ्गीको चिरबिराहट र जलाशयको सौन्दर्य प्रदान गर्छ । यहाँ आउने जो–कोही पर्यटकलाई प्रकृतिसँग नजिक भएको अनुभूति हुन्छ । धार्मिक र सांस्कृतिक दृष्टिले पनि यो ताल अत्यन्त महत्वपूर्ण मानिन्छ । विशेष गरी थारू समुदायले यस ताललाई पवित्र स्थलको रूपमा मान्ने गरेका छन् । प्रत्येक वर्ष माघे सङ्क्रान्तिका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ, जसमा हजारौँ श्रद्धालु तथा पर्यटक सहभागी हुन्छन् ।
यति महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व भएको घोडाघोडी ताललाई पर्यटकीय गन्तव्यको रूपमा व्यवस्थित विकास गर्न सके सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ । तर आजसम्म यसको विकासका लागि आवश्यक पूर्वाधार, योजना र दीर्घकालीन रणनीति प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
घोडाघोडी ताल क्षेत्रमा आधारभूत पर्यटकीय पूर्वाधारको अभाव स्पष्ट रूपमा देखिन्छ । पर्यटकका लागि व्यवस्थित बस्ने व्यवस्था, स्तरीय होटल, रेस्टुरेन्ट, सूचना केन्द्र, पदमार्ग, अवलोकन टावर, नौका विहार, पार्किङ क्षेत्र जस्ता संरचनाहरू पर्याप्त छैनन् । सडक पहुँच पनि अपेक्षाकृत राम्रो भए तापनि ताल परिसरभित्रको व्यवस्थापन अझै व्यवस्थित हुन सकेको छैन । यस्तो अवस्थामा पर्यटक केही समय घुमफिर गरेर फर्किने अवस्था देखिन्छ । यदि यहाँ आधुनिक तर पर्यावरणमैत्री पूर्वाधार विकास गर्न सकियो भने पर्यटकलाई लामो समयसम्म बस्न आकर्षित गर्न सकिन्छ । सरकारले पर्यटन प्रवद्र्धनको कुरा धेरै गर्ने भए पनि व्यवहारमा घोडाघोडी तालजस्ता सम्भावनायुक्त क्षेत्रहरूमा ठोस पहल हुन सकेको देखिँदैन । संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूबीच समन्वयको अभावले पनि विकासका कामहरू ढिलाइ भइरहेका छन् । योजना बनाइए पनि कार्यान्वयन कमजोर हुने समस्या देखिन्छ । नीति, कार्यक्रम र बजेटमा प्राथमिकता नदिइएसम्म घोडाघोडी तालजस्ता गन्तव्यहरू कागजी योजनामै सीमित हुने जोखिम रहन्छ । अर्कोतर्फ, संरक्षणको पक्ष पनि चुनौतीपूर्ण बनेको छ । ताल क्षेत्रको प्राकृतिक सन्तुलन जोगाइराख्न विशेष ध्यान दिनु आवश्यक छ । पछिल्ला वर्षहरूमा ताल क्षेत्रमा मानव हस्तक्षेप बढ्दै गएको छ । वन फँडानी, अव्यवस्थित बस्ती विस्तार, प्लास्टिक तथा फोहोर व्यवस्थापनको समस्या जस्ता विषयले तालको वातावरणीय सन्तुलनमा असर पार्न सक्छन् । यदि समयमै संरक्षणका प्रभावकारी कदम चालिएन भने भविष्यमा यसको प्राकृतिक स्वरूप नै संकटमा पर्न सक्छ । पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण सँगसँगै अगाडि बढाउनुपर्छ । यदि केवल पर्यटन विकासको नाममा प्राकृतिक संरचनामाथि अत्यधिक दबाब सिर्जना गरियो भने यसले दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले घोडाघोडी तालको विकास गर्दा दिगो पर्यटन (क्गकतबष्लबदभि त्यगचष्कm)को अवधारणालाई प्राथमिकतामा राख्न आवश्यक छ । दिगो पर्यटनले वातावरणीय संरक्षण, सामाजिक उत्तरदायित्व र आर्थिक लाभलाई सन्तुलित रूपमा अघि बढाउने प्रयास गर्दछ ।
यस क्षेत्रमा स्थानीय समुदायको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । स्थानीय बासिन्दाहरूलाई संरक्षण र पर्यटन व्यवस्थापनमा सहभागी गराउन सके यसको दिगोपन सुनिश्चित गर्न सकिन्छ । स्थानीय स्तरमा होमस्टे, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवद्र्धन जस्ता गतिविधि विकास गर्न सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । विशेष गरी थारू समुदायको संस्कृति, परम्परा, भोजन र जीवनशैलीलाई पर्यटनसँग जोड्न सकियो भने घोडाघोडी ताल क्षेत्र अझ आकर्षक बन्न सक्छ । सरकारले यदि घोडाघोडी ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने हो भने यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्न सक्छ । अहिले पनि आन्तरिक पर्यटकहरू आउने गरे पनि विदेशी पर्यटकको सङ्ख्या अपेक्षाकृत कम छ । उचित प्रचार–प्रसार, पर्यटन प्याकेज, डिजिटल माध्यमको प्रयोग तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गरेर यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ । पर्यटन बोर्ड, प्रदेश सरकार र स्थानीय तहले संयुक्त रूपमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सक्ने सम्भावना प्रशस्त छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको ठूलो सम्भावना छ । खप्तड, शुक्लाफाँटा, बडिमालिका जस्ता गन्तव्यसँगै घोडाघोडी ताललाई जोडेर एकीकृत पर्यटन मार्ग विकास गर्न सकिन्छ । यस्तो रणनीतिले प्रदेशको पर्यटन क्षेत्रलाई समग्र रूपमा अघि बढाउन मद्दत पुग्छ । यदि पर्यटकलाई एउटै यात्रामा धेरै आकर्षक गन्तव्य भ्रमण गर्ने अवसर मिल्यो भने उनीहरूको बसाइँ अवधि र खर्च दुवै बढ्नेछ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनेछ । घोडाघोडी तालको संरक्षण र प्रवद्र्धनका लागि दीर्घकालीन गुरुयोजना (ःबकतभच एबिल) तयार पार्नु अत्यन्त आवश्यक छ । सो योजनाअनुसार ताल क्षेत्रको संरक्षण, पर्यटन पूर्वाधार निर्माण, वातावरणीय अध्ययन तथा स्थानीय सहभागिता सुनिश्चित गर्न सकिन्छ । सरकारका विभिन्न निकायहरूबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गरेर योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । साथै निजी क्षेत्रलाई पनि पर्यटन पूर्वाधार निर्माणमा लगानी गर्न प्रोत्साहन दिनु आवश्यक छ ।
यसका साथै ताल क्षेत्रको वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई पनि प्राथमिकता दिनुपर्छ । तालको जलस्तर, जैविक विविधता, वातावरणीय प्रभाव जस्ता विषयमा नियमित अध्ययन हुनुपर्छ । विश्वविद्यालय, अनुसन्धान संस्था तथा वातावरणविद्हरूलाई यस क्षेत्रमा अध्ययन गर्न प्रोत्साहन गरिनु आवश्यक छ । वैज्ञानिक आधारमा बनाइएका नीति तथा योजनाहरू दीर्घकालीन रूपमा प्रभावकारी हुने सम्भावना बढी हुन्छ ।
घोडाघोडी ताल केवल कैलालीको मात्र सम्पत्ति होइन, यो सम्पूर्ण सुदूरपश्चिम प्रदेश र नेपालकै अमूल्य प्राकृतिक धरोहर हो । यसको संरक्षण र विकास गर्नु सरकारको दायित्व मात्र होइन, सम्पूर्ण नागरिकको पनि साझा जिम्मेवारी हो । प्रकृतिले दिएको यस्तो अमूल्य सम्पदालाई जोगाउँदै त्यसको सदुपयोग गर्न सकियो भने यसले भावी पुस्ताका लागि पनि ठूलो सम्पत्ति छोडेर जानेछ । यदि सरकार, स्थानीय निकाय, पर्यटन व्यवसायी र स्थानीय समुदायले मिलेर समन्वित प्रयास गर्ने हो भने घोडाघोडी ताल सुदूरपश्चिम प्रदेशकै मात्र होइन, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । यसका लागि राजनीतिक इच्छाशक्ति, स्पष्ट योजना, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक छ । आजको आवश्यकता भनेको घोडाघोडी ताललाई केवल सम्भावनाको रूपमा हेरेर बस्ने होइन, त्यसलाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्ने हो । प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्व र जैविक विविधताको अद्वितीय संगम रहेको यस क्षेत्रलाई व्यवस्थित विकास गर्न सकियो भने यसले पर्यटन, रोजगारी र आर्थिक विकासका नयाँ ढोका खोल्न सक्छ । त्यसैले अब सरकार र सरोकारवाला निकायहरूले घोडाघोडी तालको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन र प्रभावकारी कदम चाल्न ढिला गर्नु हुँदैन । यदि आज सही निर्णय र प्रयास गरियो भने भोलिका दिनमा घोडाघोडी ताल नेपालकै गौरवका रूपमा स्थापित हुन सक्छ । तर यदि बेवास्ता जारी रह्यो भने यस्तो अमूल्य प्राकृतिक धरोहरको सम्भावना सधैँका लागि ओझेलमा पर्न सक्ने खतरा पनि उत्तिकै छ ।









प्रतिक्रिया दिनुहोस्