कोहलपुर विकासको वहसः संकटमा छोड्ने कि सम्भावना खोज्ने ?



हामीले आफ्नो पहिचान त्यो कोल र तोरीको फाँट त गुमायौँ, अब भोलिको पुस्तालाई एउटा असुरक्षित, साम्प्रदायिक रूपमा संवेदनशील र कङ्क्रिटले भरिएको सहर हस्तान्तरण गर्दैछौँ कि भन्ने डर छ । कोहलपुरको दीर्घकालीन सुरक्षा र वास्तविक विकासका लागि अब बजेट मात्र होइन, एउटा बलियो नागरिक निगरानी र स्पष्ट भिजन आवश्यक छ ।

सागर गैरे

बाँकेको कोहलपुर अहिले एउटा उदाउँदो सहर त हो नै, यो पश्चिम नेपालको एउटा यस्तो जक्सन बनेको छ, जहाँ अनेकन भूगोल, संस्कृति र सपनाहरू मिसिन आइपुगेका छन् । चिया पसलका गफदेखि सामाजिक सञ्जालका भित्तासम्म हिजोआज कोहलपुरको जुन चित्र कोरिन थालेको छ, त्यसले एउटा गम्भीर प्रश्न खडा गरिरहेको छ, के हामीले खोजेको आधुनिकता यही हो ? यो सहरमा व्यापार र यातायात हब बन्ने, शिक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा स्थापित हुने, पर्यटन र व्यावसायिक कृषिमा फस्टाउने ठूलो सम्भावना छ । बाँके राष्ट्रिय निकुञ्जको निकटता, उर्वर तराईको भूमि र रणनीतिक स्थानले कोहलपुरलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ। तर यी सम्भावनाहरू पूर्वाधार निर्माणमा सीमित नरहने व्यवस्था मिलाउनुपर्छ । यदि जनताको सहभागिता, पारदर्शी शासन, पर्यावरण संरक्षण र समावेशी विकासलाई प्राथमिकता दिइएन भने यो चमक छिट्टै हराउन सक्छ । कोहलपुरलाई नयाँ नेपालको प्रतीक बनाउनुपर्छ, जहाँ समृद्धि र समानता सँगसँगै फुल्न सकोस् । यो उदाउँदो सहरलाई सही दिशा दिने समय अहिले नै हो ।

कोहलपुरको बदलिँदो पहिचान

कुनै समय कोहलपुर थारू समुदायको बाक्लो बसोबास भएको उर्वरभूमि थियो । यहाँका खेतहरूमा तोरी निकै फल्थ्यो । मकै, मसुरो र धान पनि निकै फल्थ्यो । कोहलपुरको दक्षिणमा नेपालगन्ज बजार थियो । नेपालगन्ज बजार स्थापना हुनुभन्दा पहिलेदेखि नै उत्तरतिर जंगलको बीचबीचमा रहेका थारू गाउँहरूमध्ये डुडुवाको पश्चिम उच्च भागमा रहेको शिवशंकरपुरमा पहाडबाट झरेका मानिसहरूले काठका कोल बनाएर तोरी पेल्ने गर्थे । तोरी पेलेबापत उनिहरूले थारू किसानहरूसँग तेल वा तोरी लिन्थे । उनिहरू गर्मी सुरु नहुँदै पहाड उक्लिन्थे । तिनै ‘कोल’हरूको बाहुल्यता भएको शिवशंकरपुर विस्तारै ‘कोलपुर’ हुँदै आजको ‘कोहलपुर’ बनेको हो भन्ने कोहलपुरका पुराना मानिसहरूको भनाइ छ । कोहलपुर आज नगरपालिका बनेको छ र कोहलपुर पश्चिम नेपालको उदाउँदो नगर बनेको छ । आज कोहलपुरमा न तोरीको पहेँलपुर फाँट देखिन्छ, न ती ऐतिहासिक कोलहरूको अवशेष नै बाँकी छन् । कोहलपुर पूर्वपश्चिम उत्तरदक्षिण चारैतिर फैलँदो छ । कोहलपुरले आफ्नो काँचुली फेरिसकेको छ । अहिले कोहलपुरमा अन्न फल्दैन, बरु बर्खाको च्याउ झैँ घरहरू उम्रेका छन् । कोहलपुरको जुनसुकै कुनामा घरहरू बढेका छन् । पहाडबाट झरेका, वैदेशिक रोजगारीमा पसिना बगाएका र जागिरे जीवनबाट अवकाश पाएकाहरूले आफ्नो जीवनभरको कमाइ र नपुगे ऋण धन गरेर एउटा सानो ‘प्लट’ कोहलपुरमा किनेका छन् । दशकौँको प्रतीक्षापछि राप्तीको पानी सिक्टा नहर भएर कोहलपुर त आइपुग्यो, तर त्यो पानीले सिञ्चित गर्ने खेतहरू नै बाँकी छैनन् । सिक्टाको नहर वरिपरिका उर्वर फाँटहरू अहिले साना–साना घडेरीमा विभाजित भएका छन् ।

यो अव्यवस्थित जग्गा प्लटिङले कोहलपुरलाई भविष्यमा एउटा कङ्क्रिटको जङ्गल बनाउनेछ, तर त्यहाँ न उत्पादन हुनेछ, न खुला सास फेर्ने ठाउँ नै बाँकी रहनेछ । धार्मिक रूपमा पनि कोहलपुरको स्वरूप बदलिँदो छ । यो कुनै समय थारूहरूको मात्र बसोबास भएको क्षेत्र थियो । थारूहरू प्रकृतिपुजक थिए । चालिसको दशकसम्म थारू गाउँहरूमा थारूका भुईहार मन्दिर मात्रै हुन्थे । पहाडी समुदायको आगमनसँगै विद्युत् रोडमा चन्डिका मन्दिर बन्यो । विसं २०४९ तिर कोहलपुर बालबिद्या स्कुल नजिकै क्रिस्चियन धर्मावलम्बीहरूले कोहलपुरमा पहिलो चर्च बनाए । कोहलपुरको पहिलो आनन्द चर्चदेखि आजको अवस्थासम्म आइपुग्दा कोहलपुर आसपासमा ५० भन्दा बढी चर्चहरू क्रियाशील छन् । पछिल्लो समय अस्तित्वमा आएका विलिभर्स र जीवनज्योति जस्ता संस्थाहरूले समाजमा आफ्नो प्रभाव शक्तिशाली रूपमा विस्तार गरिसकेका छन् । कोहलपुरमा एकातिर इस्कोनको बिहानी प्रार्थना सुनिन्छ भने अर्कोतिर ॐ शान्तिको भवनभित्र बिहानी मुरलीका प्रार्थना सुनिन्छन् । कोहलपुरमा मुस्लिम समुदायको उपस्थिति झन्डहवा र बेडेनपुरमा छ । मुस्लिम धर्मावलम्बीको बढ्दो सङ्ख्याले निकट भविष्यमै कोहलपुरको टाउन प्लानिङको कुनै कुनोबाट माइकमा उनीहरूका अजान सुनिन पाइयो भने आश्चर्य नमान्दा हुन्छ । कोहलपुरको हिजोको एकल धार्मिक चरित्र सहरको बहुधार्मिक चरित्र बन्दै गैइरहेको छ । प्रश्न यो होइन कि कसले कुन धर्म मान्छ, प्रश्न त यो हो कि समाजसेवाको आवरणमा कतिपय संस्थाहरूले राखेका अर्कै उद्देश्यबारे हुने अदृश्य गतिविधिहरूले भोलि कोहलपुरको सामाजिक सद्भावमाथि आँच आउने हो कि भनेर हामी आजैदेखि सचेत भएनौँ भने भोलिको कोहलपुरमा धार्मिक र साम्प्रदायिक भिडन्तको खतरा बढ्न सक्छ । अहिले उठिरहेको प्रश्न हो ।

युवा पलायन र आधुनिक अफिम

२०४० को दशकमा केही निजी जमिन केही जंगलात जमिन समेटेर राजा वीरेन्द्रले कोहलपुरमा टाउन प्लानिङको घोषणा गरे । टाउन प्लानिङ पूर्वपश्चिम र उत्तरदक्षिणको मिलनबिन्दुको दक्षिण दिशामा छानियो । टाउन प्लानिङको घोषणापछि कोहलपुर धेरैको रोजाइमा पर्न सुरु भयो ।
हिजो पूर्वबाट आएका मानिसहरूले यसलाई कमाउने थलो बनाएर फर्के, आज मध्यपहाडबाट आएका युवाहरू यसलाई विदेश जाने ट्रान्जिट बनाइरहेका छन् । कोहलपुरका चोक–चोकमा अहिले जापानी र कोरियन भाषाका बोर्डहरू छ्यापछ्याप्ती देख्न सकिन्छ । हाम्रा युवाहरू भाषा पढेर कि कोरिया–जापान पुग्छन्, कि खाडीको ५० डिग्री तातोमा श्रमिकको रूपमा होमिन्छन् । युवाहरूको यो पलायनको अवस्था भयानक छ। गाउँघरमा युवा छैनन्, सहरमा पनि युवाहरूको सङ्ख्या पातलिँदै गएको छ । छन् त केवल ती सपनाका विज्ञापनहरू । यो पलायनको चक्रले हाम्रो उत्पादनशील शक्तिलाई बाहिर पठाउँदैछ र यहाँको श्रम बजारमा छिमेकी देशका मजदुरहरूको सङ्ख्या बढ्दो छ । युवाहरू वैदेशिक रोजगारीमा पलायन भएपछि आज कोहलपुरको समाज र अर्थतन्त्र महिलाहरूको काँधमा अडिएको छ । घरव्यवहार सम्हाल्नेदेखि बच्चाहरूको शिक्षादीक्षासम्म महिलाहरूको सबैक्षेत्रमा शक्तिशाली उपस्थिति देखिन्छ । तर, यो शक्तिको अर्को पाटोमा एक्लोपन र असुरक्षाको छायाँ पनि छ । यति ठूलो शक्तिलाई श्रमसँग जोड्न नसक्नु कोहलपुरको लागि ठूलो क्षति मान्न सकिन्छ ।

यसभन्दा पनि अर्को डरलाग्दो पक्ष छ, त्यो भनेको कोहलपुरमा लागूऔषधको अकल्पनीय विस्तार हो । जसरी अंग्रेजले चीनलाई अफिमको नसामा डुबाएर एउटा पुस्ता सिध्याएका थिए, कोहलपुरका युवाहरूलाई पनि भारतीय व्यापारीहरूले सिमावर्ती क्षेत्रको फाइदा उठाउँदै आधुनिक अफिम अर्थात् लागूऔषधको चपेटामा पारिरहेका छन् । सीमावर्ती बजारबाट भित्रिने यो विषले अनगन्ती घरपरिवार तहसनहस बनाएको छ । ती परिवारले सामाजिक बेवास्ता र अविश्वास भोगेका छन् । एकातिर धनको अपव्यय भैइरहेको छ । अर्कोतिर समाजमा अपराधको दर बढिरहेको छ । कतिपयले लागूऔषधलाई आम्दानीको स्रोत पनि बनाएका छन् । राज्य संयन्त्र जरोसम्म पुग्नुको सट्टा प्रयोगकर्ता छोपेर उपभोग कम गर्न खोज्नु मात्रै उनीहरू पनि कतै कमाउधन्दा मै अल्झिएको भान हुन्छ । कोहलपुरमा आत्महत्या र हिंसाका घटनाहरू जुन रूपमा बढिरहेका छन् त्यो तथ्यांक डरलाग्दो छ । यो सबका पछाडी युवा बेरोजगारी र लागूऔषध दुव्र्यसन कहीँ न कहीँ जोडिएको छ ।

निजीकरणको चेपुवामा मध्यम वर्ग

कोहलपुर सहरका चोकचोकमा वित्तीय संस्थाहरू खुलेका छन् । सहरमा कफी कल्चर र नयाँ रेस्टुरेन्टहरू थपिएका थपियै छन् । नयाँ नयाँ व्यवसायिक सोच बोकेका उद्यमी कोहलपुर बजारमा छिरेका छन्, जुन कोहलपुर आधुनिकतातिर लम्किएको सङ्केत हो । कोहलपुरमा निजी स्कुल र क्लिनिकहरूको वर्चस्वले शिक्षा र स्वास्थ्यलाई व्यापार बनाइदिएको छ । आफ्नो सन्तानलाई राम्रो शिक्षा दिने सोच कुन अभिभावकसँग हुँदैन र ? सरकारी लगानीका शैक्षिक संरचनाहरू कमजोर हुँदा मध्यम वर्ग आफ्नो कमाइको ठूलो हिस्सा निजी संस्थामा बुझाउन बाध्य भएका छन् । सडकहरू बनेका छन् तर तिनिहरूको बिजोग स्थिति छ । जथाभावी चल्ने अजंगका सवारीसाधनले एकातिर सडक बिग्रिएर खतम भएका छन् भने गुणस्तरहीन निर्माणका कारण ती सडक मात्रै होइन अन्य संरचना पनि एकाध वर्षमै भत्किन्छन् । निजीकरणले तल्लो वर्गमाथि क्रूर प्रहार गरेको छ । शिक्षा क्षेत्रमा महँगा निजी स्कुलहरूले धनीका बच्चालाई गुणस्तरीय शिक्षा दिए पनि गरिब, दलित, थारू बालबालिका सरकारी स्कुलको कमजोर पूर्वाधारमा थन्किएका छन्, जसले पुस्तौँ विभेद कायम राख्छ । स्वास्थ्यमा निजी अस्पतालहरू पैसावालाका लागि मात्र बनेका छन्, जबकि सरकारी केन्द्रमा औषधि अभाव र लामो लाइनले गरिबको मृत्यु सस्तो बनाएको छ । भूमि तथा आवासमा जग्गा कारोबार र प्लटिङले सुकुम्वासीहरूलाई विस्थापित गर्दै सडक किनारमा झुपडीमा धकेलेको छ । रोजगारीमा ठेक्का प्रथा र न्यून ज्यालाले मजदुरहरूको पसिना शोषण भइरहेको छ, सामाजिक सुरक्षा शून्य छ ।

निष्कर्ष

कोहलपुरले विकासको बाटो त समात्यो, तर यसको गति र दिशा कता हो भन्नेमा हामी अहिलेसम्म अलमलमै छौँ । कोहलपुर एउटा सुन्दर मेल्टिङ पट बन्न सक्छ, जहाँ सबैको सद्भाव रहन सक्छ । तर, यदि समयमै लागूऔषधको तस्कर, वैदेशिक रोजगारीको अन्धदौड र सम्भावित साम्प्रदायिक दंगाको दूरगामी जोखिमलाई रोक्ने प्रयास गरिएन भने यो सहर कुनै पनि बेला ज्वालामुखी जस्तै फुट्न सक्छ ।
हामीले आफ्नो पहिचान त्यो कोल र तोरीको फाँट त गुमायौँ, अब भोलिको पुस्तालाई एउटा असुरक्षित, साम्प्रदायिक रूपमा संवेदनशील र कङ्क्रिटले भरिएको सहर हस्तान्तरण गर्दैछौँ कि भन्ने डर छ । कोहलपुरको दीर्घकालीन सुरक्षा र वास्तविक विकासका लागि अब बजेट मात्र होइन, एउटा बलियो नागरिक निगरानी र स्पष्ट भिजन आवश्यक छ । हामीले आजै नसोच्ने हो भने कुनै दिन कोहलपुर एउटा यस्तो जक्सन मात्र हुनेछ, जहाँ मानिसहरू आउनेछन् तर कसैको पनि आफ्नोपन रहने छैन । हामीले आजै सोच्ने कि हाम्रा छोराछोरीलाई कस्तो कोहलपुर उपहार दिँदैछौँ ?

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार