आफ्नो मुलुकको नागरिक र राज्यबीच कानुनी तथा संवैधानिक सम्बन्ध हुन्छ भने त्यस्ता नागरिकले राज्यबाट प्राप्त हुने मौलिक अधिकारको प्राप्ति गर्दछन् । नागरिकताको प्रमाणपत्र प्राप्त गरेपश्चात् हरेक नागरिकले आफूलाई त्यो देशको स्थायी नागरिकको रूपमा ग्रहण गरेका हुन्छन् । नागरिकले स्थायी नागरिकको सुविधा प्राप्त गर्दै कानुनको पालना गर्ने, राज्यलाई कर तिर्ने, विभिन्न सुविधा प्राप्त गर्ने र मुलुकप्रति उत्तरदायी हुने गर्दछन् ।
नरेन्द्र देवकोटा ‘प्रशान्त’
स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, निश्चित भूगोल र जनसङ्ख्या भएको मूलुक नै सामान्यतया राज्य या राष्ट्रको रूपमा बुझिन्छ ।मुलुकभित्र व्यक्ति भएर मात्र पुग्दैन्, त्यस्ता व्यक्तिलाई हरेक मुलुकले संविधानद्वारा व्यवस्थित गर्दै आफ्नो मुलुकको कानुनद्वारा नागरिकको रूपमा मान्यता दिइएको हुनुपर्दछ । कानुनद्वारा आफ्ना नागरिकको रूपमा पहिचान गरिएपश्चात् त्यस्ता नागरिक आफ्ना नागरिकका रूपमा कहलिन्छन् र त्यस्ता नागरिकले राज्यको कानुनको पालनाका साथै मुलुकभित्र पाइने हरेक प्रकारका सेवा सुविधाहरू प्राप्त गर्दछन् । नेपालमा सर्वप्रथम नेपाली जनताले नागरिकता ऐन २०२० जारी भएपछि नेपाली नागरिकले वंशजको नामबाट नागरिकता प्राप्त गरेका थिए । नेपालको संविधान २०७२ तत्कालीन संविधान सभाले बनाएको विद्यमान संविधान हो । नेपाल सरकार वैधानिक कानुन २००४, अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम संविधान २०६३ र अन्तिम तथा नेपालको सातौँ संविधानको रूपमा रहेको यो नेपालको संविधान २०७२ लाई जनताका प्रतिनिधिले पारित गरेको पहिलो र संविधानसभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले पारित गरेको संविधान हो । यस संविधानलाई २०७२ साल भदौ ३० गते दुईतिहाइभन्दा बढी मतले दोश्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले पारित गरेको गरेको थियो । नेपालको तराई क्षेत्रमा यस संविधानविरुद्ध आवाज उठाइए पनि गणकपूरक सङ्ख्या पु¥याई दुईतिहाइको बहुमतको आधारमा नेपालका राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरि लागू गरेका थिए ।
कुनै निश्चित राष्ट्र वा राज्यको कानुनद्वारा मान्यता प्राप्त, राज्यप्रति अधिकार र कर्तव्य भएका स्थायी सदस्य व्यक्तिलाई नागरिक भन्ने बुझिन्छ । हरेक मुलुकका नागरिक राज्यका अभिन्न अङ्ग मानिन्छन् । नागरिकले देशको कानुन पालन गर्दै आफ्नो मुलुकको राजनीतिक क्रियाकलापमा भाग लिई राज्यबाट प्राप्त हुने सबै प्रकारका सेवा–सुविधा प्राप्त गर्ने गर्दछन् । आफ्नो मुलुकको नागरिक र राज्यबीच कानुनी तथा संवैधानिक सम्बन्ध हुन्छ भने त्यस्ता नागरिकले राज्यबाट प्राप्त हुने मौलिक अधिकारको प्राप्ति गर्दछन् । नागरिकताको प्रमाणपत्र प्राप्त गरेपश्चात् हरेक नागरिकले आफूलाई त्यो देशको स्थायी नागरिकको रूपमा ग्रहण गरेका हुन्छन्। नागरिकले स्थायी नागरिकको सुविधा प्राप्त गर्दै कानुनको पालना गर्ने, राज्यलाई कर तिर्ने, विभिन्न सुविधा प्राप्त गर्ने र मुलुकप्रति उत्तरदायी हुने गर्दछन् । देशको कानुनअनुसार अधिकार र कर्तव्यद्वारा बाँधिएको व्यक्ति नै नागरिक हो । हरेक नागरिकको आफ्नो मुलुकको कानुन तथा राजनीतिसँग सम्बन्ध रहेको हुन्छ । जसले व्यक्तिलाई त्यो देशको सदस्यको रूपमा अधिकार र पहिचान प्रदान गर्दछ । नागरिकताको प्रमाणपत्र एक सरकारी दस्तावेज हो, जसको आडमा राज्यभित्र बस्ने व्यक्तिलाई कानुनद्वारा निर्दिष्ट हक, सुविधा सुरक्षा र जिम्मेवारी प्रत्याभूत गरिएको हुन्छ । यही नाताबाट नागरिकता प्राप्त व्यक्तिले राज्यको संरक्षण प्राप्त गरेका हुन्छन् । नेपालमा नागरिकता मुख्यतः वंशज, अंगीकृत, सम्मानार्थ र गैरआवासीयको रूपमा वितरण गर्ने गरिन्छ । नेपालको नागरिक हुन संविधानको भाग–२ नागरिकतासम्बन्धी भागअनुसार निश्चित शर्तहरू अनिवार्य पालन भने गरेकै हुनुपर्छ ।
नेपालमा नागरिकता प्राप्तिसम्बन्धी संवैधानिक व्यवस्था
संविधान प्रारम्भ हुँदाका बखत बाबु वा आमा नेपाली नागरिक भए त्यस्तो व्यक्ति वंशजको आधारको नेपाली नागरिक ठहरिन्छ । आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहित नागरिकता पाउने व्यवस्था संविधानको धारा ११ को उपधारा (१), र उपधारा (६) मा व्यवस्था गरिएको छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था धारा ११ को उपधारा (१) र (६) मा गरिएको छ । संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता पाएका व्यक्तिका सन्तानले बाबु र आमा दुवै नेपाली नागरिक भए वंशजको नागरिकता पाउँछन् । नेपालमा जन्म भई बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था छ । सार्क सदस्य राष्ट्रबाहेक र अन्य देशको नागरिकता प्राप्त गरेको, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको र नेपाली मूलको व्यक्तिले ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्न सक्नेछ । नेपाल सरकारले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ नागरिकता दिन सक्छ । वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यक्तिले आफ्नो आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहित नागरिकता पाउन सक्ने नेपालमा दोहोरो नागरिकताको व्यवस्था छैन । नेपाली नागरिकले अर्को मुलुकको नागरिकता लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था रहेको छ । नेपाली नागरिकताको प्रमाणपत्र संघीय कानुनबमोजिम वितरण गरिने समेत व्यवस्था रहेको छ ।
नेपाली नागरिकता प्राप्तिसम्बन्धी कानुनी व्यवस्था
विगतमा नेपाली नागरिकहरूले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसक्दा अप्ठेरो परिरहेको अवस्थालाई महसुस गरि प्रतिनिधिसभाको घोषणा, २०६३ ले नेपाल राज्यभित्रको नागरिकतासम्बन्धी समस्याको समाधान यथाशीघ्र गर्ने संकल्प लिएअनुरुप २०६३ साल कात्तिक २२ गते भएको राजनीतिक सहमतिको आधारमा नेपालको नागरिकता प्राप्ति, समाप्ति र तत्सम्बन्धी अन्य कुराको व्यवस्था गर्नका लागि प्रचलित कानुनी व्यवस्थालाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनिय भएकोले प्रतिनिधिसभाले यो ऐन बनाएको हो भनी यस नेपाल नागरिकता ऐन, २०६३ को प्रस्तावनामा उल्लेख गरिएको छ । यस ऐनको परिभाषा खण्डमा विषय वा प्रशङ्गले अर्को अर्थ नलागेमा नाबालक भन्नाले सोह्र वर्ष उमेर पूरा नभएको व्यक्ति सम्झनुपर्छ भनिएको छ भने व्यक्ति भन्नाले प्राकृतिक व्यक्ति सम्झनुपर्छ भनिएको छ । प्रस्तुत ऐनमा वंशजको नाताले प्राप्त हुने नागरिकता, जन्मको आधारमा प्राप्त हुने नागरिकता, अङ्गीकृत नागरिकता सम्मानार्थ नागरिकता, क्षेत्र गाभिएको अवस्थामा प्राप्त हुने नेपाली नागरिकता भनी वर्गीकरण गरेको पाइन्छ ।
दफा ३ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्था रहेको छ । यदि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिएबमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिन्छ भन्ने समेत व्यवस्था रहेको छ । सम्वत् २०४६ साल चैत मसान्तसम्म नेपाल शरहदभित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुनेछ भनी दफा ४ मा व्यवस्था गरिएको छ । यस दफाअनुसार जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले संविधानसभाको निर्वाचन हुनुअगावै निवेदन दिने र नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था तोकिएबमोजिम हुनेछ भन्ने समेत व्यवस्था रहेको छ । यस व्यवस्थाबमोजिम यदि संविधानसभाको निर्वाचन हुनुअगावै निवेदन दिई नागरिकता प्राप्त गर्न सकेको रहेनछ भने यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र तोकिएबमोजिम निवेदन दिन सक्नेछ भन्ने व्यवस्था गरिएको छ ।
विदेशी महिलाले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्ने कार्यविधि
ऐनको दफा ५ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ भनिएको छ । यस कानुनी अवस्थालाई हेर्दा विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ भन्ने बाध्यात्मक कानुनी व्यवस्था रहेको देखिन्छ।
देहायका शर्त र अवस्था पूरा गरिसकेका विदेशी नागरिकमध्ये विज्ञान दर्शनशास्त्र कला साहित्य विश्वशान्ति मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पु¥याएको वा पु¥याउन सक्ने भनी मनासिव आधारमा नेपाल सरकारले ठह¥याएको व्यक्तिलाई तोकिएबमोजिम अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सकिनेछ । नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको, नेपालमा कुनै व्यवसाय गरि बसेको, अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको, कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा बसोबास गरेको, नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानुनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको अशल चालचलन भएको र मानसिक रुपले स्वस्थ्य भएको भन्ने कानुनी व्यवस्था रहेको छ ।
शपथग्रहण
यसरी माथि दफा लेखिएबमोजिम अङ्गीकृत नेपाली नागरिकता पाउने व्यक्तिलाई अनुसूचीमा तोकिएबमोजिमको शपथग्रहण गराई तोकिएको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र पाएको मितिदेखि त्यस्तो व्यक्ति नेपालको अङ्गीकृत नागरिक हुनेछ भन्ने शर्तसहितको कानुनी व्यवस्था रहेको देखिन्छ ।
सम्मानार्थ नेपाली नागरिकता
अङ्गीकृत नेपाली नागरिकतासम्बन्धी अन्य जे व्यवस्था गरिएको भए पनि नेपाल सरकारले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सक्नेछ भन्ने समेत कानुनी व्यवस्था रहेको छ ।
वंशजको नाताले नागरिकता पाप्त गर्दाका शर्त
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको हुनु पर्दछ । साथै यस्ता व्यक्तिले तोकिएको अधिकारसमक्ष बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाको सिफारिस अनिवार्य संलग्न राखी निवेदन दिनु पर्नेछ । तर यस्तो शर्त विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाको हकमा यो व्यवस्था लागू हुने छैन् भनी दफा ८ मा व्यवस्था गरिएको छ । जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले तोकिएको अधिकारीसमक्ष निजको जन्म नेपालमा भएको र नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस आवश्यक पर्नेछ । यसबाहेक आफ्नो लागि नेपाली नागरिकताको प्रमाणपत्र लिने व्यक्तिले आफ्नो वा परिवारको नामको जग्गाधनी दर्ता प्रमाणपुर्जा वा मोहियानी हकको प्रमाणपत्र वा घरधुरी प्रमाण वा निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा निजको वा निजको बाबु वा आमाको नाम समावेश भएको प्रमाण पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । माथि उल्लेखित प्रमाणसहित नागरिकताको लागि निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले प्राप्त निवेदन र प्रमाणका आधारमा छानबिन गरि नागरिकताको प्रमाणपत्र माग गर्ने व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरिएको छ ।
माथि उल्लेखित प्रमाण निवेदनसाथ पेश गर्न नसकेको अवस्थामा तोकिएको अधिकारीले स्थलगत सरजमिन र निवेदनलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा तीन जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले सरजमिन स्थलमै गरेको सनाखतको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्नेछ भन्ने समेत व्यवस्था दफा ८(४)मा गरिएको छ । माथि उल्लेखित प्रमाण र स्थलगत सरजमिनसहित निवेदक नेपालमा जन्म भई निरन्तर रूपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रूपमा उल्लेख हुनुपर्ने समेत व्यवस्था गरिएको छ । निर्णय न. ७०१९ (विशेष इजलास) सम्वत् २०५४ सालको रिट नं. २९८०, आदेश मितिः २०५८।४।८।२ उत्प्रेषण समेतको आदेश जारी गरी पाउँ, निवेदकः का.जि.का.म.न.पा. वडा नं. ३२ डिल्लीबजार बस्ने अधिवक्ता बालकृष्ण नेउपाने, विरुद्ध विपक्षीः श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय, सिंहदरवार समेत भएको एक निवेदनमा उक्त इजलासले वंशजको आधारमा प्राप्त हुने र अङ्गीकृत नागरिकताको भेदको परिभाषा र व्याख्या यसरी गर्दै– ‘नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा १० देखि १५ मा नागरिकतासम्बन्धी व्यवस्था भएअनुरुप आमा वा बाबुको नामबाट लैंगिकताको पहिचान गरि वितरण गरिने नागरिकता वंशजको आधारमा प्राप्त हुने नागरिकता हो । नेपाली नागरिकसँग विवाहित विदेशी महिलाले प्राप्त गर्ने नागरिकता अङ्गीकृत नागरिकता हो । बाबुको पहिचान नभएमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने समेत संवैधानिक व्यवस्था रहेको भनी आदेश जारी गरेको छ ।
नेपाली नागरिकता कायम नरहने अवस्था
नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने, नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिएबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यस्तो सूचना दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम नरहने, दफा १४ बमोजिम कुनै विदेशीले झुटो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरि निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिइने, कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्ने छ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता रहने छैन भन्ने समेत कानुनी व्यवस्था रहेको छ ।
पुनः नेपाली नागरिकता कायम हुने अवस्था
कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।
नेपाली नागरिकता रद्द गरिने अवस्था
कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्ने समेत व्यवस्था रहेको छ । यसैगरी कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नहुने समेत व्यवस्था रहेको छ । यदि बसाइँसराइ गरेको अवस्था रहेछ भने त्यस्तो सूचना तोकिएको अधिकारीसमक्ष दिएमा त्यस्तो सूचनाको आधारमा त्यस्तो नागरिकताको प्रमाणपत्र जारी गर्न बाधा नपर्ने समेत व्यवस्था रहेको छ । यसैगरी कुनै विदेशी व्यक्तिले झुटो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेकोमा निजले प्राप्त गरेको त्यस्तो नागरिकताबाट हटाउन आदेश दिने समेत व्यवस्था रहेको छ ।
सजायसम्बन्धी व्यवस्था
कुनै विदेशीले नेपाली नागरिक भएको दावी गरि झुट्टो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र त्यस्तो नागरिकता स्वतः रद्द हुनेछ । कुनै विदेशीलाई झुट्टो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसैले नेपाली नागरिकताको झुट्टो वा कृते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, बीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुसी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । अन्य कसुर गरेमा पन्ध्र हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।
नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानजानी वा बदनियत राखी नागरिकताको प्रमाणपत्र दिएमा वा विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारीउपर प्रचलित कानुनबमोजिम विभागीय कारबाही हुने समेत दफा २१ मा कानुनी रहेको छ ।
समस्या र समाधान
नागरिकता दिने निकायहरूबीच समन्वय, दक्ष जनशक्ति कानुनका छिद्रहरूमा संशोधन, खुला सिमानामा व्यवस्थापन, नागरिकताको सिफारिस गर्ने निकायमा जिम्मेवार भइदिए नागरिकता प्रमाणपत्र दिने कुरामा समस्या समाधान हुने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्