सम्पादकीयः बाँके प्रहरीको सकारात्मक कार्य



बाँके प्रहरीले शनिबार नेपालगन्जका विभिन्न स्थानहरूबाट यात्रुहरूलाई दुःख दिँदै आएका विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूलाई नियन्त्रण लिएको छ । प्रहरीले उनीहरूलाई सडकमा पैदल तथा रिक्सामा हिँड्ने यात्रुहरूलाई जबर्जस्ती तानातान गर्ने, दुःख दिने तथा हैरानी बनाउँदै आएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । विगत लामो समयदेखि नेपालगन्जका विभिन्न स्थानहरूमा बसेर पैदल तथा रिक्सामा यात्रा गर्ने यात्रुहरूलाई उनीहरूले जबर्जस्ती तानेर हैरानी बनाएका थिए । जबर्जस्ती तानातान गर्दा यात्रुहरूका सामानहरू हराउने, चोटपटक लागेर घाइते हुने तथा सँगै आएका साथीहरू एकआपसमा छुट्टिने जस्ता घटनाहरू हुँदै आएका थिए । बाँके प्रहरीको यो कार्यलाई स्थानीयहरूले सराहनीय र सकारात्मक कदमका रूपमा लिएका छन् । यसरी बिहानैदेखि साँझसम्म सडकका बीच बीचमा बसेर जबर्जस्ती यात्रुलाई तानेर हैरानी पार्ने कार्यका विरुद्धमा यहाँका सञ्चारमाध्यमहरूले कैयौँपटक यो घटना बाहिर समेत ल्याएका थिए । बाँके प्रहरीले शनिबार नेपालगन्जको बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्क लगायतका स्थानहरूबाट यात्रुहरूलाई तानातान गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न १८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

विगत लामो समयदेखि नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक, वाटरपार्क क्षेत्र, बसपार्क क्षेत्र लगायतका स्थानहरूबाट सडकमार्ग भएर पैदल तथा रिक्सामा यात्रा गर्ने यात्रुहरूलाई जबर्जस्ती तान्ने, दुःख दिने र हैरानी गराउने गर्दै आएका थिए । ति स्थानहरूबाट लामो तथा छोटो दूरीका सवारीसाधनहरूमा यात्रुहरूलाई चढाउनका लागि सडकमै रिक्साको पछाडि झुण्डिने, सडक यात्रुलाई जबरर्जस्ती तान्ने लगायतका कार्यहरू हुँदै आएको थियो । यात्रु तान्ने व्यक्तिहरू विपी चोकदेखि नै वाटरपार्क क्षेत्रसम्मको सडकका बीचबीचसम्म बसेर रिक्साको पछाडि दोड्ने, झुण्डिने कार्य गर्दा दुर्घटनाको जोखिम पनि बढेको थियो । सडकमा बसेर यात्रु तानेर हैरानी दिने व्यक्तिहरूले यात्रुलाई समातेर आफ्नो गाडी भएको स्थानसम्म लैजाने गर्दै आएका थिए भने कैयौँ पटक आपसमै भिडेर झैझगडा समेत गर्दै आएका थिए । धम्बोझी चोकमा त झनै प्रहरीकै अगाडि सडकमा हिँड्ने तथा रिक्सामा यात्रा गर्ने यात्रुहरूलाई जबर्जस्ती तानेर हैरानी पार्ने कार्य गरिरहँदा स्थानीयहरूले प्रहरीले केही गर्न नसकेर टुलुटुलु हेरेको प्रतिक्रिया समेत दिने गरेका थिए ।

धम्बोझी चोकदेखि करिब पाँच सय मिटर टाढा खजुरा रोड जाने सडकमा बर्दिया जाने यातायातका साधनहरूसम्म यात्रुलाई पु¥याउन ति व्यक्तिहरू नेपालगन्जको विपी चोकसम्म पुग्ने गर्दै आएका थिए । सडक तथा रिक्सामा झोला बोक्ने हरेक व्यक्तिहरूलाई जबर्जस्ती तान्ने, दुःख दिने लगायतका कार्यबाट यात्रुहरू अत्यन्तै हैरानी बनेका थिए । उक्त कार्यले नेपालगन्ज पहिलो पटक घुम्न आउने बाह्य पर्यटकहरू समेत अलमलमा पर्ने गरेका थिए । यो क्रियाकलापले नेपालगन्जको बारेमा नकारात्मक छाप पनि पर्ने गरेको थियो । प्रायः गरेर नेपालगन्ज नाका भएर भारतबाट नेपाल आउने विभिन्न पहाडी जिल्लाका नेपाली नागरिकहरू हैरानीमा पर्दै आएका थिए । रोजगारीका लागि भारत पुगेका र छुट्टीमा घर फर्कने क्रममा नेपाली नागरिकहरू प्रायः समूहमा आउने गर्दछन् । यात्रु तान्ने व्यक्तिहरूको पहिलो नजरमा ति नागरिकहरू नै पर्दै आएका थिए । समूहमा रिक्सामा आउने नागरिकहरूलाई तानातान गर्दा उनीहरबीच साथीहरू छुट्टिने, सामान हराउने, घाइते हुने तथा अनावश्यक तनाव र दुःख व्यहोर्दै आएका थिए । ढिला भए पनि प्रहरीले उठाएको यो कदमप्रति स्थानीय खुसी भएका छन् । यो कार्यलाई आगामी दिनहरूमा पनि हुन नदिनका लागि प्रहरीले थप निरन्तरता दिन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार